प्रवासी नेपालीले राजदूत शर्मालाई सुनाए समस्या

25 Jul, 2022

नयाँ दिल्ली — दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले भारतमा रहेका प्रवासी नेपालीका राजनीतिक संगठनहरुसँग अन्तरक्रिया गरेका छन् ।

दूतावासमा बिहीबार गरिएको कार्यक्रममा भारतमा सक्रिय विभिन्न चार राजनीतिक संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । संगठनका प्रतिनिधिहरुले प्रवासी नेपालले भोग्दै आएका समस्याहरुबारे राजदूत शर्माको ध्यानाकर्षण गराएका थिए । अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव आरबी खड्काका अनुसार भारतमा ठूलो संख्यामा नेपाली श्रमिक रहेकाले उनीहरुले भोगेका विभिन्न खाले समस्याबारे राजदूत र दूतवासका अधिकारीहरुसँग छलफल भएको बताए ।

भारतमा रहेका नेपालीले सिमकार्ड नपाउने देखि, बैंक खाता समेत खोल्न नपाएको विषयमा संगठनका प्रतिनिधिहरुले दूतावासका अधिकारीलाई जानकारी गराएका थिए । भारतमा आउने श्रमिकहरुको कतै न कतै सरकारी निकायमा रेकर्ड व्यवस्थित गरिनुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् । ‘आफ्ना नागरिक भारतमा कहाँ छन्, के गर्छन, त्यसको जानकारी राज्यले राख्ने प्रयास गर्नुपर्ने हाम्रो सुझाव थियो,’ खड्काले सुनाए । माओवादी सशस्त्र युद्धकै समयदेखि भारतमा एकता समाजमाथि लगाइएको प्रतिबन्धत कानुन अहिलेसम्म राखिएकाले त्यसको खारेजी गराउन दूतावासले पहल लिनुपर्ने खड्काले अनुरोध गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक साता अगाडि दिल्ली आएका बेला पनि उक्त आग्रह गरिएको उनले बताए । संगठनहरुले भारतमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाको मागपनि दूतावास मार्फत बढाइनुपर्नेमा जोड दिएका थिए ।

राजदूत शर्माले प्रवासी समाजले उठाएका विषयलाई मिलैर समाधानको प्रयासको गर्ने बताएका थिए ।

अन्तरक्र्रियामा कांग्रेस निकट नेपाली जनसम्पर्क मञ्चका अध्यक्ष बालकृष्ण पाण्डे, एमाले निकटको संगठन प्रवासी नेपाली संघ भारत अध्यक्ष लोकनाथ भण्डारी, माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चका उप महासचिव आरबी खड्का, जनमोर्चा निकट मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल सहितका प्रतिनिधिहरु उपस्थित थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024