गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न सरकारसँग माग गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँचबुँदे ध्यानाकर्षणपत्र दिँदै एनआरएनए मकाउले यस्तो माग गरेको हो ।
नेपालदेखि मकाउसम्म सीधा हवाई सेवा नरहेको र हङकङमा ट्रान्जिट भिसा लिनुपर्ने अवस्था रहेको कारण नेपाली कामदार समस्यामा परेको एनआरएनए मकाउको भनाइ छ ।
एनआरएनए मकाउले सम्भव भए नेपालदेखि मकाउसम्मको सीधा हवाई सम्पर्कको व्यवस्था गर्न माग गरेको छ । त्यस्तो भएमा नेपालदेखि मकाउमा जान र मकाउका पर्यटक नेपाल आउन पनि सहज हुने एनआरएनए मकाउको भनाइ छ ।
यस्तै, एनआरएनए मकाउले नेपालमा विप्रेषण पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । पैसा पठाउने वैधानिक नहुँदा मकाउमा रहेका नेपालीहरू ‘हुण्डी’को प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ । एनआरएनए मकाउले सरकारकै पहलमा रेमिट्यान्स कम्पनी खोलिदिन आग्रह गरेको छ ।
यस्तो छ प्रधानमन्त्रीसँग एनआरएनए मकाउको पाँचबुँदे माग
१. नेपाल र मकाउबीच सीधा हवाई सम्पर्क छैन । यसै सम्बन्धमा नेपालीहरू यहाँसम्म पुग्न विभिन्न देशको बाटो हुँदै धेरै समय र पैसाको लगानी गरी जाने गरेका छन् । हामी सरकारसँग यो आग्रह गर्दछौँ कि कम्तीमा हप्तामा एउटा फ्लाइटको व्यवस्था गरेमा विश्वकै प्रसिद्व पर्यटकीय स्थल मकाउबाट नेपालमा थप पर्यटक पनि आकर्षित गर्न सकिन्छ ।
२. यदि सीधा हवाई सम्पर्क सम्भव नभएको अवस्थामा हङकङबाट बस अथवा फेरी प्रयोग गरी छोटो समयमै मकाउ पुग्न सकिन्छ । हङकङ सरकारले नेपालीहरूका लागि ट्रान्जिट भिसाको व्यवस्था त गरेको छ, तर जुन निकै झन्झटिलो र धेरै समय लाग्ने हुँदा यो व्यवस्था हटाउन प्रधानमन्त्रीले विशेष पहल गरेमा यहाँका नेपाली लाभान्वित हुने थिए । पहिला पनि अनौपचारिक रूपमा पहल भएको, तर ठोस निष्कर्षमा पुग्न नसकेकाले यसपटक हङकङ र नेपाल दुवैतिर नयाँ कार्यपालिका भएकाले ठोस नतिजाको अपेक्षा राख्दछौँ ।
३. चिनियाँ व्यापारीहरू विशेषगरी होटेल तथा पर्यटन र क्यासिनो क्षेत्रमा लगानी गर्न आकर्षित रहेका छन् । तर, लगानी सुरक्षीत सुनिश्चिततामा शंका व्यक्त गरेको सन्दर्भमा बिप्पा सम्झौतालगायतको पूर्ण कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको कुरा चीनस्थित नेपाली राजदूतावास र हङकङस्थित महावाणिज्यदूतमार्फत पहल गर्न निर्देशन गरेमा त्यसले निकै सकारात्मक अवस्था ल्याउनेछ ।
४. सामान्यतया संसारका धेरै देशमा मानिस अनअराइभल भिसामा विनारोकतोक हङकङ घुम्न सक्छन् । तर, यति धेरै नेपाली रहेका र नजिक भएर पनि नेपालीले भिसा नै नपाउने अवस्था रहेको छ । यो अवस्थालाई अन्त्य गर्न सरकारबाट चिनियाँ राजदूतमार्फत सहज आवागमनको व्यवस्थाको लागि पहल गरिदिनुहुन अनुरोध गर्दछौँ ।
५. विगत लामो समयदेखि नेपालीहरू उच्च तलबमा काम गरिरहेका छन्, तर कमाएको रकम नेपाल पठाउन एउटा पनि स्वदेशी रेमिट्यान्स कम्पनी नभएको सन्दर्भमा अधिकांशले बाध्यतावश हुन्डीको प्रयोग गर्दै छन् । जुन सरकारका लागि करोडौँ डलरको घाटा र गैरकानुनी पनि छ । त्यसैले सरकारी तवरबाट केही रेमिट्यान्स कम्पनी स्थापना गर्न सके यस आर्थिक संकटको वेलामा निकै फाइदा पुग्ने अपेक्षा राखेका छौँ ।