काठमाडौँ — लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रेखाकुमारी शर्माले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले छानबिन तथा अनुसन्धान सुरु गरेको छ ।
बालश्रमिक राखेको मुद्दामा सरकारी वकिलले मुद्दा नचलाउने तयारी गरिरहेको भन्दै सञ्चारमाध्यममा समाचार आएलगत्तै आयोगले अनुसन्धान सुरु गरेको हो ।
आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यलयमा पेस गरिएको रायसहितको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउनसमेत पत्राचार गरेको छ ।
गत जेठ १४ मा काठमाडौं महानगरपालिकाले १४ वर्षीया किशोरीको उद्धार गरेको थियो । उनलाई उद्धार गर्नुअघि महानगरका इन्टर्न विद्यार्थीले उनी पढ्ने विद्यालयमा आमाबाबु र नातागोताबाहेकको व्यक्तिको घरमा बस्ने बालबालिकाको अवस्था तथा तथ्यांक विश्लेषण गर्न फारम भराएका थिए ।
फारम भर्ने क्रममा कक्षा ७ मा अध्ययनरत ती किशोरीले आफूलाई सांसद शर्माले घरेलु कामदारका रूपमा राखेको, शर्माको घरमा खाना पकाउने, कपडा धुने, फूलबारी गोडमेल गर्ने, झाडु/पोछा लगाउने काम गराएको र शर्माले आफूलाई हात र पाइपले कुट्ने गरेको पनि खुलाएकी थिइन् ।