प्रदेशबाटै श्रम स्वीकृतिको तयारी कमजोर

23 Dec, 2018

ईश्वरचन्द्र झा

 

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको हकमा १५ पुसदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने निर्णय गरे पनि तयारी भने शून्य छ।

 

मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सात वटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयबमोजिम १५ पुसदेखि सेवा शुरु हुनुपर्ने हो। तर, प्रदेश–२ को श्रम कार्यालयमा कुनै तयारी देखिँदैन।

 

श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने समयमै सेवा शुरु गर्न आन्तरिक तयारीहरू भइरहेको दाबी गरे। श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत् हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताए।

 

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन्। सेवा शुरु गर्न उपसचिवसहित कम्तिमा १४ कर्मचारी आवश्यक छ। श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा ३ कर्मचारी कार्यरत छन्।

 

नायब सुब्बा रमेशकुमार दासले दुई जना शाखा अधिकृतहरू आउने तरखरमा रहेको जनाए। मन्त्रालयका प्रवक्ता रेग्मीले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको बताए। “१५ पुसदेखि सेवा शुरु गर्न सकिने हेरेर नै टाइमलाइन तोकिएको हो र सोहीबमोजिम तयारी भइरहेको छ,” रेग्मीले भने।

 

मन्त्रालयको २०७०-०७१ को प्रतिवेदनबमोजिम प्रदेश-२ बाट मात्रै वैदेशिक रोजगारमा गएका श्रमिकको संख्या ५ लाख ८२ हजार २८१ छ। त्यसमध्ये धनुषाबाट मात्रै सबैभन्दा बढी १ लाख ३९ हजार ७१७ जना विदेशिएका छन्।

 

Published: 23 December 2018 | Himalkhabar

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024