पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजार ८२९ जनाले गराए राहदानी नवीकरण

14 Aug, 2024

काठमाडौँ, साउन २० गते । राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरेको छ । घुम्ती सेवाबाट तीन हजार ८२९ जना नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिएको दूतावासले विज्ञप्तिमा जानकारी दिएको हो ।

यसमा १२१ जना नाबालक, तीन हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट चार लाख ९१ हजार ५८० युरो अर्थात् सात करोड २० लाख ११ हजार ५५४ नेपाली रुपियाँ बराबरको राजस्व सङ्कलन भएको दूतावासले जनाएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारीको सहभागिता थियाे । घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेका थिए ।

शिविरमा आएर आवेदन दिएका तथा हालसम्म विभिन्न शिविर तथा प्रत्यक्ष रूपमा पेरिसमै आई आवेदन गरी तयार भएका तर बुझिलिन बाँकी रहेका राहदानीहरू वितरण गर्ने तथा नवीकरणका लागि छुट भएका नेपालीहरूको राहदानी नवीकरण गर्न छिट्टै अर्को शिविर सञ्चालन गरिने पनि दूतावासले जानकारी दिएको छ ।

पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् । तत्कालमा समस्याको रुपमा देखिएको कागज प्रमाणीकरणसम्बन्धी समस्या समाधान गर्न नेपाली राजदूतावास गम्भीर रहेको जनाइएको छ । यस्ता समस्या समाधान गर्न राजदूतावास प्रयत्नशील रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024