वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका– १० का सुजन आचार्य पक्राउ परेका छन्।
इन्टरपोल र कम्बोडिया प्रहरीको समन्वयमा पक्राउ गरी उनलाई शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट पाँच करोड दुई लाख ९४ हजार रुपैयाँ ठगी उनी फरार थिए।
प्रेमिका बिनु शाक्यसँग मिलेर उनले ठगी गरेको प्रहरीले जनाएको छ। गत १९ माघ ०८० मा नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो।
सुजनविरुद्ध ०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोबारसम्बन्धी कसुर र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगन्जमा ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।
असोज १ मै उनीहरू कम्बोडियामा पक्राउ परेका थिए। आचार्यलाई नेपाल ल्याइएको र शाक्यलाई पनि ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि ठगी, लुटपाटलगायत मुद्दामा पक्राउ परी आचार्य छुटेका थिए।