‘पहिले हाम्रो खिसिटिउरी गर्नेहरू आजकाल प्रशंसा गर्छन्’

15 Feb, 2023

सविता बुढा

गाउँमा खेती गर्न छाडेको बाँझो जग्गा थियो। गाउँका गाईभैंसी चर्थे। जग्गाधनीले यसै छाडेका थिए। जमिन हो धनगढी–उपमहानगरपालिका–१४ को एउटा ग्रामीण बस्तीको। बस्तीका ३६ वर्षीय टेकराज जोशी र ४२ वर्षीय मेघराज ओझाले तीन वर्षअघि त्यसमध्ये दुई बिघा जग्गा भाडामा लिएर संयुक्त रूपमा तरकारी खेती सुरू गरे।

अर्को वर्ष त्यहीँको तीन बिघा जग्गा थपे। हाल पाँच बिघामा तरकारी लगाउँदै छन्। सबै जमिन भाडाकै हो। प्रतिबिघा वार्षिक ६० हजार रूपैयाँ तिर्छन्।

‘तीन वर्षमा तरकारीमा लगानी ३५ लाख रूपैयाँ पुगेको छ। गत वर्ष ४० लाख रूपैयाँको तरकारी बेच्यौं। सबै खर्च कटाएर झन्डै २० लाख रूपैयाँ कमाइ भयो,’ टेकराजले भने।

टेकराज स्नातक तहको पढाइ पूरा गरेर शिक्षण पेसामा थिए। सामुदायिक र निजी विद्यालयहरूमा पढाउँथे। मेघराज रोजगारीका सिलसिलामा साउदी अरबमा थिए।

फरक पेसा–व्यवसायका यी दुई व्यक्ति कसरी आए त संयुक्त रूपमा तरकारी खतीमा? थोरै पछाडि फर्केर हेरौं।

मेघराज ओझा (बायाँ) र टेकराज जोशी

टेकराजका बुबाले आफ्नो जीवनको तीन दशकभन्दा बढी समय तरकारी खेती गरे। त्यसैबाट पाँच छोराछोरीको पालनपोषण गरे, पढाइ खर्च जुटाए। टेकराज सानैदेखि बुबालाई तरकारी खेतीमा काम सघाउँथे। बारी खन्ने, बिरूवा रोप्ने, गोडमेल र सिँचाइ गर्ने लगायतको काम उनको भागमा पनि पर्थ्यो।

बुबा साइकलमा तरकारी बोकेर धनगढी बजार जान्थे, बेचेर पैसा जम्मा गर्थे। तरकारी खेतीबाटै गुजारा गरे पनि खेतीको तरिका परम्परागत थियो। खेतीको विशेष ज्ञान पनि थिएन।

‘बुबाले आफ्नै तरिकाले तरकारी खेती गर्नुभयो। बृहत रूपमा व्यावसायिक पनि बन्नुभएन, खेती छोड्नु पनि भएन। आफ्नै बारीमा खेती गर्नुभयो। त्यही बेचेर परिवार पाल्नुभयो,’ टेकराजले भने।

उनले बुबाको तरकारी खेतीलाई परिमार्जन गरेर व्यावसायिक बनाउने उपाय सोचे। परम्परागत रूपमा बुबाले गरेको खेतीबाट भएको आम्दानी चानचुने थिएन। आखिर टेकराजले शिक्षण पेसा त्यागेर आधुनिक तरिकाले तरकारी खेती गर्ने अठोट गरे।

उनका काका नाता पर्ने मेघराज रोजगारीका लागि विदेशमा थिए। टेकराजले उनीसँग आफ्नो अठोटबारे कुरा गरे। संयुक्त रूपमा तरकारी खेती गर्न प्रस्ताव गरे।

खेतीको तरिका, उत्पादन र बजारबारे छलफल भयो। मेघराज सहमत भए। काम सुरू भयो। मेघराज विदेशबाट फर्किँदासम्म टेकराज दुई बिघा जमिनमा तरकारी रोप्न थालेका थिए।

उनीहरूले ‘फूलबारी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरे। दुवै जना मिलेर पाँच लाख रूपैयाँ जम्मा गरे अनि र व्यावसायिक रूपमा काममा अघि बढे। उनीहरूले उच्च मनोबल र जाँगरका साथ अधिकतम मेहनत गरे।

खेती सुरू गरेपछि कृषि विकास बैंकबाट पाँच लाख रूपैयाँ ऋण लिए। लगत्तै तीन बिघा जमिन थपे। अहिले ऋण चुक्ता गर्ने अन्तिम चरणमा छन्।

टेकराज शिक्षण पेसा छाडेर अनि मेघराज वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेकामा ठीक गरिएछ भन्ने निष्कर्षमा पुगेका छन्। दुवै जना निकै सन्तुष्ट देखिन्छन्।

मेघराजका अनुसार उनीहरूले तरकारी खेतीमा क्रान्तिको उद्देश्य राखेका छन्।

‘अहिलेको नयाँ कृषि क्रान्तिअनुसार हामी अघि बढेका छौं। यसैमा रमाएका छौं,’ उनी भन्छन्, ‘तरकारी खेती गर्न एकै पटक धेरै लगानी चाहिँदैन। थोरैबाट काम सुरू गर्न सकिन्छ। त्यहीँबाट कमाउँदै खेती बढाउन सकिन्छ।’

फूलबारी बहुउद्देश्यीय कृषि फर्मले काँक्रा, लौका, फर्सी, बोडी, भिन्डी, भन्टा, काउली, बन्दा, टमाटर, प्याज, पालक, करेला आदि फलाउँछ। उत्पादन धनगढी र अत्तरिया लगायतका बजारमा बिक्री हुन्छ। बर्खे तरकारी सुदूरपश्चिमका पहाडी जिल्लामा पनि पुग्छ।

फर्मबाट टेकराज र मेघराजलाई मात्रै लाभ भएको छैन। फर्मले गाउँबाट गोबर किन्छ। पशुपालक कृषकहरू गोबर बिक्रेता भएका छन्। गाउँकै मानिसले काम पाएका छन्। फर्ममा नियमित कामदार पाँच जना छन्।

गाउँमा गाईभैंसीको चरन बनेको जमिन भाडामा लिएर तरकारी खेती सुरू गर्दा टेकराज र मेघराजलाई ‘यी दुई भाइ बहुलाएछन्’ भन्ने मान्छेहरू थिए।

जागिर खाएर, विदेशमा बसेर कमाएको पैसाले घरजग्गा जोड्न छाडेर अर्काको बारी खन्न थालेको भनेर खिसीटिउरी गर्नेहरू पनि थिए।

यी उत्साही कृषक कानमा तेल हालेर आफ्नो काममा अघि बढे। उनीहरूले गरेको उन्नति अहिले वरिपरिका सबैका लागि सराहनाको विषय भएको छ।

मेघराज भन्छन्, ‘अहिले सबै गाउँलेहरू हाम्रो प्रशंसा गर्छन्। तिमीहरूले राम्रो काम गर्‍यौ भन्छन्। हामी पनि गर्छौं, काम सिकाइदिनुहोस् भन्नेहरू पनि आउँछन्।’

उनका विचारमा युवाहरू मेहनतका साथ कृषि कर्ममा लाग्ने हो भने खाडी मुलुकको रोजगारीमा जानु पर्दैन।

‘सचेत र शिक्षित युवा कृषिमा लाग्ने हो भने सबै युवाहरूलाई प्रेरणा हुन्छ। कृषिबाटै उन्नति हुन्छ,’ उनी भन्छन्।

तरकारी खेतीमा आम्दानी राम्रै छ तर जोखिममुक्त छैन। खास गरी प्राकृतिक प्रकोप मुख्य जोखिम हो। डुबान, असिना र यस्तै अन्य कारणले कहिलेकाहीँ ठूलो क्षति हुन्छ।

क्षति न्यूनीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने टेकराज बताउँछन्।

‘सरकारले बीमाबाट क्षति न्यूनीकरणको प्रबन्ध मिलाउनु पर्छ। कृषि बीमामा समस्या छ। नगरपालिका जाँदा राष्ट्रिय बीमा कम्पनी देखाउँछ। उता जाँदा यता देखाउँछ,’ उनले भने।

रोगकीरा लाग्दा उपचारमा सघाउने कृषि प्राविधिक नपाउनु ठूलो समस्या छ। आधुनिक खेती प्रणालीमा सरकारी सहयोग नगन्य छ। अनुदानमा पनि समस्या छ।

‘किसानलाई सरकारको सुहलियत कार्यक्रममा जोड्न कार्डको व्यवस्था गर्नुपर्छ। यहाँ त खेती नगरी किसान हुँ भन्दै अनुदान माग्ने र लिनेहरू पनि छन्,’ उनले भने।

समयमा रासायनिक मल नपाउने अर्को समस्या छ। प्रांगारिक मलका साथ रासायनिक मल पनि प्रयोग गर्नुपर्छ। किसानका समस्या समाधानमा सरकार सहयोगी हुनुपर्ने मेघराजको पनि भनाइ छ। यसो हुँदा मात्रै कृषकहरू उत्साहित हुने उनले बताए।

सरकारले कृषि प्रवर्द्धनका कार्यक्रम वास्तविक किसानसम्म पुर्‍याएर मद्दत गर्न सके कृषि पेसामा युवाको आकर्षण बढ्ने र कृषिबाटै देशको उन्नति हुने टेकराज र मेघराजको विश्वास छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024