पहाडलाई पहाडकै भर

25 Apr, 2023

राजेश मिश्र

सिमला, हिमाचल — नेपालको पहाडी क्षेत्रकै जस्तो मौसम र भौगोलिक बनोट छ– भारतको उत्तर–पश्चिमको हिमाचल प्रदेशको । प्राकृतिक सुन्दरतामा जस्तो समानता छ, भौगोलिक विकटता पनि उस्तै छ ।

तर, रोजगारी तथा अवसर सिर्जना गर्ने मामिलामा नेपालको पहाडभन्दा हिमाचल धेरै अगाडि छ । यहाँका केही प्रमुख स्थानहरू सिमला, मनाली, कुलु, किनोर, रामपुर, रुरु, कनाघाट र सोलनले लाखौं नेपालीलाई रोजगारी दिएका छन् । कृषि, होटल, निर्माण आदि सबै पेसा व्यवसायमा नेपालीको संलग्नता छ । यस प्रदेशबाट दिनको एक करोड भारतीय रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपालका पहाडी जिल्लाहरूमा पुग्छ ।

हिमाचल प्रदेशको राजधानी हो, सिमला । ‘पहाडको रानी’ भनेर चिनिने यो ठाउँ भारतमा अंग्रेजहरूको शासनका समयमा ग्रीष्मकालीन राजधानी पनि थियो । प्रदेशको राजधानी भने पनि सानो पहाडी सहर हो । यहाँबाट मात्रै दिनकै ५० देखि ६० लाख भारु रेमिट्यान्स नेपाल जान्छ । सिमलाको सब्जीमण्डीमा रहेको प्रभु मनी ट्रान्सफरबाट मात्रै प्रतिदिन सरदर १० लाख हाराहारीमा रेमिट्यान्स जान्छ । आफूजस्तै आधा दर्जन मनी ट्रान्सफरका एजेन्ट सिमलामा रहेको प्रभु मनी ट्रान्सफरका प्रतिनिधि युवक चलाउने बताउँछन् । ‘ती सबैको जोड्दा दिनमै आधा करोडभन्दा बढी भारतीय रुपैयाँ नेपाल जान्छ,’ उनले भने, ‘स्याउ टिप्ने सिजन र नेपालमा चाडबाड पर्दा यस्तो रकम बढ्छ ।’

हिमाचल प्रदेशबाट सबैभन्दा बढी पैसा नेपाल पठाउनेमा आईएमई रेमिट्यान्स कम्पनी मानिन्छ । उक्त कम्पनीबाट मात्रै वार्षिक २ अर्ब भारु रेमिट्यान्स नेपाल जाने रहेछ । हिमाचलका विभिन्न स्थानबाट ‘पिक सिजन’ मा महिनाको १५ देखि १७ हजार र सामान्य समयमा ७ देखि ८ हजार नेपाली नागरिकले आफ्नो कम्पनीका माध्यमबाट नेपालमा पैसा पठाउने गरेको कम्पनीका भारत सेल्स प्रमुख हिमांशु लेखक बताउँछन् । प्रतिमहिना १५ देखि २० करोड भारु आफ्नो कम्पनीका माध्यमबाट रेमिट्यान्स नेपाल पठाउने गरेको उनले जनाए । यात्रा गर्दा २५ हजार रुपैयाँभन्दा बढी भारु नगद बोकेर हिड्न पाइदैन । धेरैपटक घर जाँदा सीमामा पैसा बढी बोकेकाले सुरक्षाकर्मीको केरकारमा परेकाहरूले अहिले नगद बोक्दैनन्, मनी ट्रान्सफरहरूबाट घरमा पठाउँछन् । नगद धेरै बोक्दा चोरी हुने र लुटिने डर पनि उत्तिकै हुन्छ । त्यसैले काम गरेकै ठाउँबाट पठाउन पाउँदा नेपाली कामदारलाई पनि सजिलो भएको छ ।

आईएमईपछि प्रभु मनी ट्रान्सफरले मासिक १० देखि १५ करोड भारु रेमिट्यान्स पठाउने गरेको छ । हिमाचलबाट मार्चमा साढे १३ करोड र फेब्रुअरीमा १० करोड भारु रेमिट्यान्स गएको प्रभु मनी ट्रान्सफरका भारत प्रमुख सुनील मिश्रले बताए । प्रभुमार्फत औसतमा वार्षिक डेढ अर्ब हाराहारी भारु नेपाल जाने गरेको उनको भनाइ छ ।

आईएमई र प्रभुबाहेक पञ्जाव नेसनल बैंक, एसबीआई, ग्लोबल बैंकलगायत अन्य बैंकिङ च्यानलबाट पनि रेमिट्यान्सको पैसा नेपाल जान्छ । आईएमई र प्रभु दुईबाट वार्षिक साढे ३ अर्ब र बाँकी सबैबाट कम्तीमा डेढ अर्ब मान्दा पनि वार्षिक रूपमा ५ अर्ब भारु हिमाचलबाट नेपाल जाने गरेको आईएमईका लेखक बताउँछन् । घर फर्किंदा साथमै लिएर, साथीभाइमार्फत तथा अन्य उपायबाट पनि यही अनुपातमा रेमिट्यान्स नेपाल जाने गरेको पनि जनाइएको छ । सिमलामा सल्यानबाट आएका नेपाली धेरै छन् । त्यसपछि दैलेख, रुकुम, रोल्पा र दाङबाट आइपुगेकालाई पनि यहाँ भेटिन्छन् । सिमलामा स्याउ खेती हुन्छ । टिप्ने बेलामा बगानहरूमा धेरै कामदारको माग हुन्छ । त्यसैले मौसमी रोजगारीका लागि कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट पुग्नेको लर्को लाग्छ । उनीहरूले काम गर्दा पाउने पैसा पनि सोहीअनुसार घर पठाउने गरेका छन् । मनी ट्रान्सफरहरूका अनुसार सबैभन्दा बढी पैसा सल्यान जिल्लामा जाने गरेको छ । त्यसपछि सुदूरपश्चिमका जिल्लामा पैसा पठाउनेहरू छन् । हिमाचलका विभिन्न स्थानमा पुगेका नेपालीमध्ये अधिकांश मौसमी रोजगारीमा हुन्छन् ।

सिमलाको बजार क्षेत्रदेखि डाँडाकाँडा नेपाली भेटिन्छन् । खेतीपाती, सामान ढुवानी, निर्माण क्षेत्र, रेस्टुराँ आदि क्षेत्रमा नेपाली भेटिने गरेका छन् । हिमाचलकै मनालीपछि सबैभन्दा बढी नेपाली यहाँ छन् । यहाँको पर्यटन र कृषि क्षेत्र, सडक, कुलो, भवन निर्माण, होटल र बजार क्षेत्रमा श्रम गर्ने नेपाली छन् । स्थानीयका स्याउ बगान वा तरकारी फार्म सबैतिर नेपाली भेटिने गरेका छन् ।

नियमित यतै बस्ने र सिजनमा आउजाउ गर्नेलाई समेत जोड्दा हिमाचलमा कम्तीमा ५ लाख नेपालीले रोजगारी पाएको अखिल भारत नेपाली एकता मञ्चका हिमाचल इन्चार्ज तीर्थ भण्डारीको भनाइ छ । परिवारको आर्थिक स्थितिका कारण बीचमै पढाइ छाडेर मजदुरीका लागि आएकाहरू पनि यहाँ धेरै छन् । किशोरहरू परिवारका ठुला मान्छेको साथ लागेर आइपुग्ने गरेका छन् । एकपटक आएर राम्रो काम पाएकाहरूले गाउँका अरुलाई पनि समूह बनाएर ल्याउने गरेका छन् ।

श्रमिकहरूबाहेक पेसा व्यवसाय र स्वरोजगारबाट जमेका नेपाली पनि यहाँ प्रशस्त भेटिन्छन् । सिमलाको बसपार्कमै डोल्पाको मुड्केचुलाका गणेश बुढाको मोबाइल पसल छ । उनी मोबाइल र यससँग सम्बद्ध सामग्री बेच्ने र मर्मतको काम गर्छन् । दाङ तुलसीपुरका गोपाल पोखरेलले चाइनिज फास्ट फुड पसल खोलेका छन् ।

निर्माण क्षेत्रमा काम गर्नेहरू पनि यहाँ छन् । ‘पेटी कन्ट्र्याक्टर’ मा पनि प्रशस्तै नेपाली जमेका छन् । सल्यानको बागचौर–७ का जोखीराम केसी राम्रै ठेकेदारका रूपमा चिनिन्छन् । सन् २००० तिर यहाँ आएका उनले सुरुमा कुल्ली र मजदुरीको काम गरेका थिए । स्कुलको अनुभव छैन उनलाई । तर, यति बेला चार करोड भारुको निर्माण ठेक्का उनले पाएका छन् । उनले निर्माण गरिरहेको सडक योजनामा ४० भन्दा बढी नेपाली मजदुरले काम पाएका छन् । ‘सिमलामा मैले धेरै संघर्ष गरेको छु, गिट्टी, बालुवा बोक्नेदेखि सब्जीमण्डीमा कुल्लीको कामसमेत गरेको छु,’ केसीले भने, ‘त्यही संघर्षबाट सिक्दै बढ्दै आएको हुँ ।’ सन् २००८ बाट ठेक्कापट्टामा लागेका उनले सिमलाबाट तुलसीपुर र दिल्लीबाट तुलसीपुर चल्ने यात्रु बसमा समेत लगानी गरेका छन् ।

सल्यानकै शारदा–७ का भोला केसीको परिचय पनि ठेकेदारकै बनेको छ । उनी पनि लेबर र मिस्त्रीको काम गर्दागर्दै आफैंले कामको जिम्मा लिएर अघि बढेका हुन् । र, यसबाट आफ्नो आर्थिक हैसियत सुधार्न सफल भएका छन् ।

परदेसमा आइपुगेका नेपालीबीच यहाँ एकता र परस्पर सहयोग देखिन्छ । धेरैले श्रमिक चाहिएको ठाउँ थाहा पाउँदा आफूजसरी नै काम खोजीरहेकाहरूलाई खबर गर्छन् । काम गरेर भएको कमाइको बचत घर पठाउन सिकाउँछन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024