पर्वतका मजदुर बागलुङमा अलपत्र

15 Apr, 2020

अगन्धर तिवारी 

पर्वत — लकडाउनका कारण कामविहिन बनेका मजदुर पैदलै घर फर्किने क्रममा बागलुङमा अलपत्र परेका छन् । २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनामा कार्यरत दैलेख घर भएका १३ जना मजदुर बागलुङको छिस्तीमा अलपत्र परेका हुन् । 

दैलेख घर भइ विगत केही समयदेखि फेवा कन्स्ट्रक्सन मार्फत तल्लो मोदी जलविद्युत् आयोजनामा कार्यरत मजदुर लकडाउन खुल्ने सम्भावना नभएपछि हिँडेरै घर जाने तयारी गरेका थिए। कुश्मा नगरपालिका–८ चुवाबाट पैदल यात्राको सिफारिस बनाएर मंगलबार बिहान हिँडेका मजदुर जैमिनी नगरपालिका–८ मा पुगेपछि अलपत्र परेका हुन्।

‘पैदल हिँड्न पाइन्छ भनेर वडाबाट सिफारिस बनाएर आयौं,’ जिरज ओलीले भने, ‘यहाँ आएपछि अघि बढ्नै पाइएन। हिजो यहीँको एउटा विद्यालयको कोठामा भोकै सुत्यौं।’ मंगलबार बिहानदेखि आफूहरु भोकभोकै भएको उनले बताए। ‘विद्यालयको चीसो भुइँमा भोकै रात काटियो। अहिले घर जाने कि पर्वत फर्किने दोधारमा छौं।’ काम गरेकै ठाउँमा फर्किन पनि प्रहरीले नदिएपछि बिचल्लीमा परेको उनीहरुले बताए।

लकडाउन कडाइ गर्न पर्वतको विपत् व्यवस्थापन समितिले एक पालिकाबाट अर्कोका र एक वडाबाट अर्कोमा आउजाउ गर्न समेत रोकेको थियो। कडाइका बीच वडाको सिफारिसका आधारमा मजदुरको त्यत्रो समूह कसरी जिल्ला बाहिरियो भन्ने विषयमा बुधबार बिहान जिल्ला विपत् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ। ‘त्यत्रो सुरक्षा घेरा तोडेर उनीहरु कसरी बाहिरिए त्यो चासोको विषय हो,’ बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले भने, ‘यही विषयमा सुरक्षा र विपत् समितिको बैठकमा छौं। उनीहरुलाई तुरुन्तै पुरानै ठाउँमा ल्याएर खानपानको व्यवस्था गर्छौं।’

सडक तथा विद्युत् आयोजनामा काम गरिरहेको फेवा कन्स्ट्रक्सनमा पर्वतमा मात्रै करिब एक हजार जना मजदुर कार्यरत छन्। तीमध्ये करिब नौ सयलाई चैत १८ गतेअघि नै घर पठाइसकिएको फेवाका प्रतिनिधि राजेन्द्र पहारीले बताए। सम्भव हुनेलाई पहिल्यै सुरक्षित रुपमा घर पठाइसकेका थियौं,’ उनले भने, ‘बाँकी केहीलाई पास बनाउने भन्दाभन्दै पर्वत प्रशासनले दिएन।’ घर जान नपाएका सबै मजदुरलाई खाने–बस्ने व्यवस्था गरेको उनको दाबी छ। तर, केही मजदुर जानकारी बिना नै बसेको ठाउँ छोडेर आफूखुसी गएको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024