पर्यटक भड्काउने, श्रमिक रुवाउने भाडादर

11 Nov, 2024

नेपालमा बाह्रै महिना बाह्य पर्यटकहरूको आगमन हुने भए पनि मुख्य सिजन भने सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मानिन्छ । त्यसमध्ये अधिकांशले हवाई सेवा प्रयोग गर्छन् । उनीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब–करिब निर्बिकल्प जस्तै छ । त्यस्तै नेपालबाट वैदेशिक रोजगारी, अध्ययन तथा अन्य सन्दर्भमा बिदेसिनेहरूले पनि सोही विमानस्थल प्रयोग गर्छन् । त्यहाँबाट हुने आन्तरिक उडानको चाप पनि बढी नै छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल बिहान ६ बजे खुला भई राति ३ बजेसम्म सञ्चालन हुँदा दैनिक आउने/जाने गरेर तीन सय आन्तरिक र एक सय अन्तर्राष्ट्रिय उडान हुन्छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यतिबेलै विमानस्थलको सञ्चालन अवधि कटौती गरेको छ । यसले कोभिडपछि बौरिँदै गएको पर्यटन उद्योगलाई ठूलो क्षति पुग्नेछ नै, उडान कटौतीका कारण यात्रुहरूले हैरानी र भाडादरमा महँगी बेहोर्नुपर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कात्तिक २३ देखि चैत १८ गतेसम्म राति १० देखि बिहान ८ बजेसम्म व्यावसायिक उडान कटौती गरेको हो । यस समयमा धावनमार्गबाट ७५ मिटरसम्मको संवेदनशील क्षेत्रमा निर्माणका काम गर्ने प्राधिकरणको योजना रहेको छ । जसअनुसार विमानस्थलभित्र नेपाल सरकार र एसियाली विकास बैंकको ऋण सहायतामा करिब १५ अर्ब रुपैयाँका तीनवटा फरक–फरक ठेक्काका काम हुनेछन् ।

एसियाली विकास बैंकको सवा चार अर्ब ऋण सहायतामा पहिलो धावनमार्गको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सीवे निर्माण भइरहेको छ । दोस्रो, करिब चार अर्ब ऋणमा धावनमार्गको पूर्वतर्फ ह्यांगर एप्रोन तथा एक्जिट ट्याक्सीवे निर्माण गर्ने कार्य भइरहेको छ । तेस्रो, नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब ७ अर्ब लगानीमा धावनमार्गको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सीवे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गर्ने कार्य भइरहेको छ ।

अहिले वार्षिक ५० लाख यात्रुलाई सेवा दिने क्षमता रहेको यस विमानस्थलले ८० लाखलाई सेवा दिइरहेको छ । पूर्वाधार विस्तार र स्तरोन्नतिपछि एक करोड २० लाख हाराहारीलाई सेवा दिने प्रक्षेपण प्राधिकरणको छ । विमानस्थलभित्रको निर्माण कार्य नियमित प्रक्रिया हो भन्नेमा दुई मत हुन सक्दैन । यात्रुलाई प्रभावकारी सेवा दिन पनि पूर्वाधार विस्तार र स्तरोन्नतिको काम आवश्यक भइसकेको छ । तर त्यसका लागि विमानस्थलले जुन समय छनोट गर्‍यो, त्यो भने अस्वाभाविक छ ।

२०२३ मा नेपाल भित्रिएका करिब १० लाख १५ हजार पर्यटकमध्ये नोभेम्बरमा एक लाख ८ हजारभन्दा बढी भित्रिएका थिए । त्यस्तै, डिसेम्बरमा ९६ हजारभन्दा बढी भित्रिएका थिए । पर्यटक आगमनको दृष्टिले अबका केही हप्ता सुनौलो समय हो भन्ने अघिल्लो वर्षको तथ्यांकले नै देखाउँछ । यतिबेला पर्यटकले जति बढी सहजता अनुभव गर्छन्, आगामी दिनमा पर्यटकको चाप बढाउन उति नै सहयोगी हुन्छ । तर यही समयमा उडान कटौती हुँदा पर्यटकले हैरानी बेहोर्नुपर्ने भएको छ । अर्कोतिर, विदेशी मुद्रा आम्दानीमार्फत नेपाली अर्थतन्त्रलाई बलियो योगदान दिने पर्यटन उद्योगमा समेत प्रतिकूल असर पर्ने भएको छ । लगानीकर्तादेखि रोजगार पाएकाहरूको मनोबलमा पनि असर पुग्ने नै छ । त्यसैले पर्यटक आगमनको मुख्य सिजन चलिरहेको र त्यस्तो समयावधि अरू एक महिना जति रहेकाले निर्माण कार्यलाई केही समय पछि धकेल्न सकिन्थ्यो ।

विमानस्थलको सञ्चालन अवधि कटौती हुँदा ३० देखि ३५ प्रतिशतसम्म उडान कटौती भएका छन् । परिणामतः हवाई भाडामा दोब्बरभन्दा बढी वृद्धि भएको छ । यसअघि १०–१५ हजारमा यात्रा गर्न सकिने दिल्लीको यात्रा ६० हजार रुपैयाँसम्म पुगेको छ । ३०–३५ हजारको दुबई यात्रा ८० हजार, ४०–४५ हजारको साउदी यात्रा ८० हजार, ३५ हजारको मलेसिया यात्रा ६५ हजार, ४५ हजारको कुवेत यात्रा १ लाख, ३५–४० हजारको कतार यात्रा ८० हजारसम्म पुगेको छ ।

भाडामा भएको यस किसिमको वृद्धिले मुख्यतः नेपाली श्रमिक मर्कामा पर्ने निश्चित छ । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाईमार्ग हुँदै बिदेसिन्छन् । वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुपर्ने बाध्यकारी व्यवस्था छ । त्यसैले यो विमानस्थल प्रयोग गर्नेहरूको लागत बढ्नेछ । हवाई भाडामा कमी आउने वा वृद्धि हुने आफ्नै पद्धति छन् । तर अलि बढी रणनीतिक हुन सकिएको भए यस्तो अवस्था नआउन सक्थ्यो । अहिले पनि भाडादरलाई न्यायोचित र स्वाभाविक बनाउनका लागि सम्भव भएसम्मका मध्यमार्गी उपायहरू खोज्न भने जरुरी छ ।

नेपालमा त्रिभुवन विमानस्थलका अतिरिक्त भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि छन् । तर यिनीहरूको सदुपयोग हुन सकेको छैन । भैरहवा विमानस्थलमा केही महिना उडान गरेर स्थगित गरेको जजिरा एयरसहित थाई एयर एसिया, फ्लाई दुबई र नेपाल एयरलाइन्सले उडान गर्न थालेका छन् । तर यात्रुको संख्या निकै कम रहेकाले उनीहरूको निरन्तर उडानबारे अन्योल कायमै छ । जस्तो कि, शुक्रबार सात यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको थियो ।

भैरहवाबाट यात्रुको चाप बढाउन सहयोग पुग्ने गरी सरकारले खोल्नुपर्ने कैयौं शाखा कार्यालय खोल्नेतर्फ ध्यान दिएको छैन । जसले गर्दा यात्रुहरूले काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । पोखरा विमानस्थलबाट त व्यावसायिक उडान हुनै सकेको छैन । यी विमानस्थल सहजै प्रयोग हुन सक्ने परिस्थिति निर्माण भएपछि मात्रै त्रिभुवन विमानस्थलको सेवा प्रभावित गरिएको भए यात्रुले अहिलेको हैरानी बेहोर्नुपर्ने थिएन । नजिकैका अन्य अन्तर्राष्ट्रिय विमानस्थल खाली रहने तर त्रिभुवन विमानस्थलको सञ्चालन अवधि कटौती हुँदा जताततै असर भोग्नुपर्ने अवस्थाले सरकारको असंवेदनशीलता प्रकट भइरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024