परराष्ट्र मन्त्रालयको पहलमा बंगलादेशबाट आज ४२० नेपाली विद्यार्थी फर्किए

22 Jul, 2024

काठमाडौं : बंगलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरूमध्ये आज चार सय २० जना स्वदेश फर्किएका छन्।

आज मात्र हवाईमार्गबाट एक सय १५ र बाँकी तीन सय पाँच जना काँकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएका अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले जानकारी दिए।

आजै बिहान ११:३० मा ५७ जना नेपाली विद्यार्थी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनीहरूलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए।

परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ। मन्त्रालयले बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न लगाउनुका साथै ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिएकी छन्।

परराष्ट्रमन्त्री डा राणा आफैंले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरूलाई सहजताका लागि समन्वय गर्न र स्वदेश आउन चाहनेहरूका लागि आवश्यक वातावरण मिलाउन पनि उनले निर्देशन दिएकी छन्।

परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो। मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ। रासस

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024