परराष्ट्र प्रसंगमा उठेको तरंग

12 Mar, 2025

डीबी क्षेत्री

पहिलो कुरा त गठबन्धनको दबाबका बाबजुद परराष्ट्र मन्त्री विवादरहित राख्ने प्रयास सराहनीय छ। यसका लागि पहल गरिएको देखिन्छ। यसको आभास मैले मस्कटको दूतावासमा भएको छलफलमा पनि गरेको थिएँ। आज तपाईंले गर्न सक्ने पहल यही थियो। थोरै गठबन्धनको धर्म पनि निभाउन खोज्नु भएको छ, यो स्वाभाविक छ। राजनीतिक विचार फरक होलान्, तर यस विषयमा सुझबुझपूर्ण पहल गर्नु भएको देखिन्छ। धन्यवाद।

विशेषगरी उपस्थितमध्येका केहीसँग कुरा गर्दा, महाधिवेशन त मे महिनामा उच्चस्तरीय समितिकै मितिमा हुनुपर्छ भन्ने धारणा व्यक्त भयो। तर, केही सदस्यहरूको फरक विचार आएपछि, परराष्ट्र मन्त्रीज्यूले बद्री केसीले दाबी गरेको अरूले नमानेको (बद्री केसी लिड टिम) टिमलाई केही समयपछि हस्तान्तरण गर्ने मध्यमार्गी बाटो तय गर्दा सबै एक ठाउँमा आउन सक्छन् भन्ने देखियो। सबै मिलेर पुनर्विचार गर्दा राम्रो हुन्छ भन्ने सुझाव आएको अरे। तर केही मिडिया र केही व्यक्तिका स्टाटस हेर्दा विनाशकाले विपरीत बुद्धि भने जस्तो देखिन्छ। किन हामीमा चेत आउँदैन ? अब चेतौं। यो मौका हो।
अब के यो सम्भव छ ? छ, तर यसका लागि केसीको टिम र उनी स्वयंले वातावरण बनाउनुपर्छ।
त्यसका लागि —

पक्षविपक्षमा रहेका सबैसँग छलफल चलाउने।
उच्चस्तरीय समितिसँग संवाद गर्दै मे महिनामा हुने महाधिवेशनलाई सघाएर जाने (सर्वोच्च अदालतको परमादेश मानेर अघि बढ्ने)।
सुधार गर्न मिल्ने कुरा अझ सुन्दर बनाउन सकिन्छ भने सच्याउन मिल्ने प्रस्ताव लैजाने।
सबै पक्षले अदालतमा विचाराधीन मुद्दा फिर्ता ल्याउने।
उच्चस्तरीय समितिले काम गर्दै जान्छ, अरूले सबै स्टेकहोल्डरलाई राखेर हामी मिलेको सन्देश दिँदै पनि जाने सुधारका उपायहरू सुझाव पनि लिँदै जाने।
यदि सहमति भए, अर्के शर्मा, विनोद कुँवर, रवीना थापा, कुल आचार्यलाई कानुनी व्याख्याले होइन, व्यावहारिक समझदारीका आधारमा सबैलाई यो संस्थाले सम्मानजनक मान्यता दिने (दस्तावेजीकरण गर्ने)।
नवनिर्वाचित टिमलाई सघाउन अहिले नै विधान समिति निर्माण गरेर जानुपर्छ। यसका लागि विज्ञहरूको टिम विवादरहित बनाउनु पर्छ।
सोही टिम र कार्यसमितिले नेपाल सरकार, राजनीतिक पात्रहरू, कानुनविद् अनि एनआरएनएका सरोकारवालाहरूबाट राय लिएर विधान निर्माण गरेर एक वर्षभित्र अनुमोदन गर्ने।
आजसम्मको गौरवपूर्ण इतिहासलाई दस्तावेजीकरण गरेर राख्ने पहलकर्ता र अभियानकर्ता हरूलाई धन्यवाद दिँदै र नयाँ युग सुहाउँदो एनआरएनए बनाउने।

बढ्दो नेपाली समुदाय र एनआरएनएको महत्व : यो विवादले नेपाल सरकार, पार्टीहरू, एनआरएनए सबैलाई छोएको छ, पोलेको छ। अब यसलाई उच्चस्तरीय खालको अप्रवासीहरूको संस्था बनाउन पहल गरौं। यसले सबैभन्दा धेर असर वैदेशिक रोजगारमा गएकाहरूलाई परेको छ। म आफू पनि यी विषयहरूको पहलकर्ता हुँ। श्रमिक कल्याणकारी कोष, वैदेशिक रोजगार, सामाजिक सुरक्षा र धेरै नीतिहरूका लागि मैले यही संस्थामार्फत् पहल गरेर केही हदसम्म अन्तिम रूप यही संस्थामा रहेर गरेकै हो तर आज यो सबै अलमलमा परेको देख्दा मन कुडिन्छ। श्रमिक कल्याणकारी कोष कुन अवस्थामा छ ?

एनआरएनएको विवादले नेपाल सरकार, पार्टीहरू लगायत सबैलाई छोएको छ, पोलेको छ। अब यसलाई उच्चस्तरीय खालको अप्रवासीहरूको संस्था बनाउन पहल गरौं।

सामाजिक सुरक्षा १२ वर्षसम्म अनेक उपनाम पाउँदै पनि नथाकेर संस्था, पार्टी अनि सरकारपछि सरकार बन्ने र उनीहरूसँग नथाकी पहल गरेर लागू गराइयो। यही संस्थाको देन थियो। तर कार्यान्वयन सुस्त छ। दूतावासहरू स्थापना गर्न लडाइँ नै लडियो, आए। तर कतिपय दूतावासहरू अव्यवस्थित छन्। केही त कर्मचारी शासक जस्ता बने। अझ नियुक्तिमा चलखेल गर्दा व्यवसायीहरूसँग लिएको कर्जा तिर्न लिएका सहयोगको भरपाई गर्न कतिपय (नोट गरियोस्) दूतावास अघोषित ‘मेनपावरका एक्स्टेन्डेड एजेन्ट’ बनेका छन्, पासपोर्ट रिन्यू हुन सकेका छैनन्। अरू आवश्यक कामसमेत सुचारु छैनन्।

घरेलु कामदार घट्नुभन्दा सरकारी निकायकले आफैंले बनाएका नियम कानुन पालना नगरेर अझ मिलेमतोमा दलालहरूको अचाक्ली शक्तिका कारण अझै आइरहेका छन्, दु : ख पाइरहेका छन्। अब त ‘बन्द गर कि व्यवस्थित गरेर खोल’ भन्ने बेला आयो। किनकि लाज मानेर हुँदैन। केही हाम्रा मुद्दा कार्यान्वयनमा आएका छन्। तिनलाई अझ जोडदार रूपमा कार्यान्वयन र समाधान गर्नु आवश्यक छ।

‘डिमान्ड अप्रुभल’ केही सुधार भएका छन्, तर पूरा भएका छैनन्। पुन : श्रम स्वीकृति दूतावास र अनलाइनबाट सुरु त भए तर अझ प्रभावकारी पार्नुपर्छ। तलिमका नाममा बाँडेका पैसा बिना तालिम सकिएका छन्। ओरियेन्टेसन बिना भेटघाट नै सर्टिफिकेट बेच्ने थलो बनेको छ। सामाजिक सुरक्षा हाम्रा लागि हो। व्यवस्थित गर्न सकिएको छैन, बीमाहरू दुरुपयोग भएका छन्। ‘डबल’, ‘ट्रिपल’ तिराइएका छन्। यसलाई रोजगारदातामार्फत व्यहोर्ने व्यवस्था हुनुपर्छ। अप्रवासीलाई देश आऊ, आऊ भन्नु मात्रै होइन, वातावरण तयार गर्न यही संस्थामार्फत पहल गर्नु जरुरी छ। उनीहरूको दु : ख बेचेर भाइरल बनाउने कोही नेता त कोही मिडिया, कोही कवि, कोही अभियन्ता बनेर टिकटकमा छन्।

तर, ती पैसा भनेका पीडितसम्म पुग्दैन। कोही त यही कहानी कराएर नेता, मन्त्री पनि भए त कोहीले सिनेमा बनाएका छन्। आँसु बेचेका छन्। सहानुभूति बटुलेका छन्। जीवनयापन पनि गरेका छन् तर श्रमिकहरूका दु : ख न घटे न हटे। हामी छिन्नभिन्न हुँदा असली उद्धारकर्ता यो संस्था हैन। कि यसलाई पेसा बनाएकाहरू रमाए। हाम्रा छोराछोरीलाई ‘नेपाल खत्तम छ’, ‘राजनीति खराब चिज हो’, ‘बस्न लायक देश हैन’ भन्ने शिक्षा दिएका छन्। कलिला विद्यार्थी आतमहत्या गरिरहेका छन्। आमाबुवा तेल भिसामा विदेश पुगेर बेखुस छन्। गाउँघरमा मुखमा बसेका झिंगा धपाउन नसक्ने स्थितिमा छन्, जुन हामी सबैको कहानी हो।

वैदेशिक रोजगारका कारण समाज विखण्डन (सोसल हार्मोनी) हुँदैछ, ध्वस्त हुँदैछ। यसको समाधान खोज्न जरुरी छ। त्यसका लागि पनि अब सशक्त एनआरएनए चाहिन्छ। जसले नेपालको राजनीति, अर्थतन्त्रलाई सही बाटो देखाउन सक्छ। अब त सामाजिक जागरण अभियान चलाउनु छ। जुन काम एनआरएनले गर्नुछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024