परदेशको जीवन सोचे जस्तो सहज छैन। न त बाहिरबाट गरिएको अनुमान जस्तै नै छ। बिहान आँखा खुल्नासाथ सुरु हुने दौडधुप राति थकित शरीर ओछ्यानमा पल्टिएपछि मात्रै रोकिन्छ। ठूल्ठूला सपनाहरू बुनेर जन्मभूमि छाडे पनि मन भने सधैं उही गाउँघर र बाआमामै अल्झिरहन्छ।
हरेक दिन हजारौं युवा विदेश जान्छन्। त्यही अनुपातमा गाउँमा बाआमा एक्लिंदै गएका छन्। आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि बाआमाले बुढ्यौलीको सुखलाई तिलाञ्जली दिएका छन्। उनीहरूको मनमा एउटै सपना बाँकी रहन्छ– ‘छोराछोरी कुनै दिन फर्केलान् नि !’
छोराछोरीका सपनाभित्र हराउँदै बाआमा
पहाडका बाटाहरू छिचोल्दै, खोल्सामा चिप्लिएर, बाल्यकालमा गाउँकै स्कुलमा पढेका ती छोराछोरी शहर पसे। शहरले केही अवसर देखायो, सम्भावनाहरू देखायो। ती सपनाहरू पूरा गर्न विदेशले तान्यो। उच्च शिक्षाका लागि उनीहरू संसारका ठूला विश्वविद्यालय पुगे। कोही डाक्टर बने, कोही इन्जिनियर, कोही प्राध्यापक, बैंकर, वैज्ञानिक, व्यापारी। कसैले नाम र दाम कमाए, कसैले प्रतिष्ठा।
तर उता, गाउँमा- जहाँ कुनै दिन बाआमाले बिहानै छोराछोरीलाई झक्झक्याएर स्कुल पठाउँथे, त्यही बाआमा आज पनि बिहानै उठ्छन् र बाटोतिर हेर्छन्। उनीहरूको आँखामा आशाको कुनै झिल्का छ भने त्यो केवल छोराछोरी फर्कने प्रतीक्षा मात्र हो।
रातभर खोकिरहने बाबुलाई आमाले तातो पानीले भरिएको गिलास मुस्किलले पुर्याउँछिन्। आमाले बाटो प्रस्ट देख्न छोडेकी छन्। विदेशबाट कहिलेकाहीं फोन आउँछ- ‘बा, अहिले कस्तो छ?’
आमा मुस्कुराउँदै भन्छिन्- ‘सब ठीकै छ, बाबु।’
तर यही ‘ठीकै छ’ भित्र कति पीडा लुकेको छ, कति आशाहरू मरेका छन्, त्यसको मूल्य ती परदेशी छोराछोरीलाई पनि थाहा छ। तर उनीहरू आफ्नै बाध्यतामा फसेका छन्।
ओइलिंदै गएको आशा
गाउँमा आँगनको ढुंगा अहिले पनि उस्तै छ। त्यहीं बसेर बाटोतिर हेर्ने बाआमाको दिनचर्या उस्तै छ। तर आशाको किरण धमिलिंदै गएको छ। कतिले अन्त्यसम्म पनि त्यो बाटो हेरिरहन्छन्, कतिले अन्तिम सासअघि छोराछोरीको हात सुमसुम्याउन पाएका छन्, कतिले अस्पतालको ओछ्यानमै छोराछोरी नदेखी संसार छोडेका छन्।
परदेशमा बस्ने छोराछोरीको मनभित्र पनि निरन्तर द्वन्द्व चलिरहेको हुन्छ। जतिसुकै सफलता पाए पनि, भावनात्मक रिक्तता उनीहरूलाई चसक्क घोचिरहन्छ। आफ्ना बाआमा अस्पतालको ओछ्यानमा छट्पटिंदा हजारौं किलोमिटर टाढा बस्नुको पीडा शब्दमा बयान गर्न कठिन छ।
‘अब केही समयपछि आउँछु’ भनेर आश्वासन दिनेहरूका लागि समय घर्किसकेको हुन्छ। कतिले अन्तिम पटक भेट्न पाउँदैनन्। कसैले मृत्युको खबर फोनबाट मात्र सुन्छन्, अनि हप्तौं, महिनौंपछि मात्र घर पुग्छन्।
सम्भवतः विदेशिएका छोराछोरीले घर बनाउन, महँगो कार किन्न, सफलताको शिखर चुम्न सक्लान्। तर ती सम्पत्तिले एक्लो बाआमाको ओछ्यानमा बसेर गफ गर्ने कोही छैन। डाक्टर भएका छोराछोरीले हजारौं बिरामीको सेवा गर्लान्, तर आफ्नै बाआमाको कमजोर हुँदै गएको शरीरलाई देख्न पाउँदैनन्।
समाचारमा बारम्बार आउने शीर्षक हो- ‘लासले छोराछोरी कुर्दै…’
आज यो शीर्षक अरूका लागि सामान्य लाग्न सक्छ, तर भोलि हामीमध्ये कुनै एकका लागि तीतो यथार्थ बन्न सक्छ। यो पीडा कुनै एक परिवारको मात्र होइन, पूरै समाजको साझा वेदना बनेको छ। केवल सर्वसाधारण मात्र होइन, नेपाली राजनीतिको उच्च तहमा पुगेका नेताहरूका छोराछोरी पनि विदेशमै छन्। कतिपय नेताहरूको पार्थिव शरीर छोराछोरी आउँदैछन् भनेर लास नै रोकिएको खबर हामीले देखिसकेका छौं।
बाआमाको मनको तडप
बाआमालाई आफूसँगै राख्ने प्रयास छोराछोरीले नगरेका भने होइनन्। तर, विदेशमा महिना दिन बित्न नपाउँदै गाउँघरको सम्झनाले बाआमाको मनलाई उकुसमुकुस बनाइहाल्छ। सँगै बस्दा पनि छोराछोरीलाई मुस्किलले देख्न पाउँछन्। छोराछोरी बिहानै निस्कन्छन्, रात परेपछि फर्कन्छन्। जति प्रयास गरे पनि छोराछोरीको व्यस्त जीवनले उनीहरूलाई टाढै राख्छ।
फराकिला सडक, अग्ला भवन, सुविधासम्पन्न जीवनशैली देख्दा केही समय उनीहरू रमाउँछन् पनि। तर, त्यो रमाइलो क्षणिक मात्र लाग्छ। जब दिनहरू हुँदै महिना पुग्छ, तब त्यो बसाइ गह्रौं लाग्न थाल्छ। भाषा बेग्लै, समाज बेग्लै, संस्कार बेग्लै- सबैथोक भिन्न हुँदा उनीहरूको मनले झनै छिटो नेपाल खोज्छ।
अन्ततः, उनीहरू फर्किन चाहन्छन्। यहाँका व्यस्त सडकभन्दा आफ्नै गाउँको गोरेटो माया लाग्छ। आफ्नै घरआँगनमा रमाउन चाहन्छन्।
बाको सम्झनामा
गाउँमा बिरामी हुँदा बाआमासँग बस्न नपाएको म पनि त्यही अभागी छोरा हुँ। मेरा बा, पोखरा महानगरपालिका–२१, कृस्ति गाउँका एक साधारण, इमानदार र स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो। १३ असोज २००७ सालमा जन्मिनुभएका बा भारतीय सेनामा भर्ती हुनुभयो। ३० वर्ष सैनिक सेवामा बिताएपछि सन् २००२ मा सेवानिवृत्त हुनुभयो।
बाल्यकालमा ‘बा’ ले पठाउने चिठ्ठीहरूले उहाँको माया, सम्झना र ख्याल झल्काउँथ्यो। महिनौंसम्म चिठ्ठी नआउँदा मनमा अनेक चिन्ता खेल्थ्यो- ‘कतै बालाई केही त भएन?’
सैनिक जीवनका वर्षहरूमा हाम्रो परिवार उहाँ विनाको खालीपनमा हुर्कियो। जब उहाँ सेवानिवृत्त भएर फर्किनुभयो, छोराहरूको विदेश पलायनले त्यो खालीपन फेरि पनि रहिरह्यो। बाल्यकालमा हामी ‘बा’ विना हुर्कियौं, र उहाँको बुढ्यौली हामी विना बित्यो।
बाको अन्तिम क्षण
२० चैत २०८० मा बा संसारबाट बिदा हुनुभयो। भाग्यवश, म त्यो बेला नेपालमै थिएँ। पारिवारिक पूजाको क्रममा नेपाल आएको थिएँ। पूजाको भोलिपल्ट बाको जीवनको अन्तिम दिन। बाको अन्तिम सासमा मसँगै बस्न पाएँ। त्यो मेरो लागि अहोभाग्य थियो।
समय कति छिटो बित्छ! एक वर्ष बितिसकेको छ। लाग्छ, हिजोको दिन मात्रै थियो। यसै साता, म बाको बरखी कर्मका लागि नेपाल फर्किएको छु। हिन्दू संस्कार अनुसार, मृत्यु भएको एक वर्षपछि श्राद्ध गरिन्छ। यो दिन दिवंगत आत्मालाई सम्झी विधिपूर्वक तर्पण र पिण्ड अर्पण गरिन्छ।
समाजलाई एउटा सन्देश
विदेशिने नेपालीहरूको संख्या बढ्दो छ। आर्थिक समृद्धिको मोहमा हामीले पारिवारिक सम्बन्धलाई उपेक्षा गरिरहेका छैनौं? प्रवासमा बसेर सन्तानलाई हुर्काउने चिन्तामा छौं, तर आफ्ना बाआमाको बुढ्यौलीको चिन्ता गर्न छाडेका त हैनौं ?
झन्डै ७०-८० लाख नेपाली विदेशमा छन्। गाउँघरमा भने बुढ्यौलीको जमात छ। शहर छिरेका हुन् वा विदेशिएका- छोराछोरी बाआमाको रेखदेखबाट टाढिंदै गएका छन्। त्यसका लागि आफ्ना अभिभावकका लागि कर्तव्यनिष्ठ बन्न जरूरी छ।
विदेशिए पनि बाआमालाई समय दिने संस्कारको विकास हुनुपर्छ। नेपालमा रहेका अभिभावकहरूले पनि सन्तानलाई ‘विदेश नै सफलताको बाटो हो’ भन्ने मानसिकता बदल्नुपर्छ।
विद्यालयमा पढ्दा गुरुले सोध्नुहुन्थ्यो- ‘भविष्यमा के बन्ने ?’
कोही डाक्टर, कोही इन्जिनियर, कोही पाइलट बन्छु भनेर सुनाउँथे। फरक–फरक उद्देश्य भए पनि सबैको एउटै स्वर थियो- ‘ठूलो भएपछि बाआमाको स्याहार गर्छु।’
तर ती वचनहरू समयसँगै हराइरहेका छन्। बाआमाको स्याहार गर्ने जिम्मेवारीबाट हामी पछि हट्दै गएका त छैनौं ?
बा,
तपाईंले हाम्रा लागि जीवनभर सबैथोक गर्नुभयो,
तर तपाईंको बुढ्यौलीको सहारा बन्न सकिनँ।
अब त केवल पछुतो छ-
आँखाभरि तपाईंकै यादहरू छन्,
र मनभरि अधुरोपन…
माफ गर्नुहोला, बा…
आज तपाईंको पुण्यतिथिमा
भावपूर्ण श्रद्धाञ्जली !