पत्नी आन्दोलनमा भएकै बेला रुस–युक्रेन युद्धमा मारिए विराजन

13 May, 2024

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी चाँदनी विष्ट करिब एक महिनायता रुसी सेनामा भर्ती भएका श्रीमान् विराजनसहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा होमिएकी थिइन् । पाँच महिनादेखि रुसी सेनामा कार्यरत विराजनलाई स्वदेश झिकाउन उनी काठमाडौंमै बसेर आन्दोलन गरिरहेकी थिइन् ।

काम विशेषले घर आएकी उनी वैशाख २१ मा फेरि आन्दोलनकै लागि काठमाडौं फर्किंदै थिइन् । यही बेला उनको परिवारमा विराजनको मृत्युको अपुष्ट खबर पुग्यो ।

दुई सातादेखि सम्पर्कविहीन रहेका विराजनको मृत्युको अपुष्ट खबर परिवारले चाँदनीलाई बताएका थिएनन् । भोलिपल्ट फेरि उस्तै खबर आयो । तेस्रो दिन त विश्वासै हुने गरी फेरि अर्को मान्छेले खबर गर्‍यो । विराजनकी भाइ–बुहारी सीताले सुनाइन्, ‘विराजनको हातको घडी देखें, अनुहार राम्रै गरी चिनें भनेर सँगै रहेको भारतीयले ह्वाट्सएपमार्फत बतायो । त्यसपछि हामीले अन्तिम संस्कार गर्ने निधो गर्‍यौं ।’

विराजनको मृत्युको खबर उनीसँगै रुसी सेनामा रहेका बर्दियाका परशुराम चौधरी, सुर्खेतका महेश चन्द र अंकित नामका भारतीय नागरिकले बताएपछि परिवारजन मृत्यु संस्कारको निधोमा पुगेका थिए । बिहीबार कुशको पुतला बनाएर महाकालीमा अन्तिम संस्कार गरेपछि श्रीमती चाँदनी र छोरा विश्वासजंग किरियामा बसे ।

४३ वर्षीय विराजन मंसिर १८ मा दिल्ली हुँदै रुस पुगेका थिए । उनीसँगै उनका उनका भाइ निराजन र नाति नाता पर्ने छिमेकी लोकेन्द्र पनि रुसी सेनामा भर्ती हुन गएका थिए । परिवारका अनुसार उनीहरू सबैजना दलाललाई जनही ७ लाख बुझाएर अघि बढेका थिए ।

मंसिर २१ मा सेनामा भर्ती भएका उनीहरू चैत मध्यसम्म युद्धमा खटिइसकेका थिएनन् । युद्धमा नजाउन्जेलसम्म सम्पर्कमा रहेका उनीहरू युद्धमा खटिएपछि सम्पर्कविहीन जस्तै हुन पुगेका थिए । ‘सुरुमा १४ दिनपछि सम्पर्क भयो, फेरि दुई दिनमै युद्धमा फर्किए,’ चाँदनीले भनिन्, ‘युद्धमा जाने र एक/दुई दिन आराम गर्ने चलिरहेको थियो ।’ उनका अनुसार पछिल्लो पटक युद्धमै रहेको अवस्थामा साथीको फोनबाट सम्पर्क गरेर सबै ठीकठाक भएको जानकारी दिएका थिए ।

विराजनका भाइ निराजनले नै दाइको मृत्युको खबर घरमा भन्न नसक्ने भन्दै साथीहरूलाई भन्न पठाएको सीताले बताइन् । उनका अनुसार पछिल्लो पटक निराजनसँग पनि करिब दुई सातादेखि सम्पर्क हुन सकेको थिएन । ‘कुन क्षेत्रमा युद्ध भइरहेको छ, उनीहरू कहाँ छन् भन्ने पनि हामीलाई थाहा थिएन,’ उनले भनिन्, ‘फोनमा कुरा हुँदा पनि हालखबर मात्रै सोध्थ्यौं, घर फर्किन भन्थ्यौं तर मान्नु भएन ।’

दाहसंस्कार प्रक्रिया सकिए पनि ६६ वर्षीया आमा जानकी विष्टलाई छोरा आइहाल्छ कि भन्ने लागिरहन्छ । अरूले भनेकै भरमा अहिले घरमा अन्तिम संस्कारदेखि किरियाको काम चलिरहेको छ । समवेदना दिन आउनेलाई पनि उनी छोराहरू गएदेखिको बेलिविस्तार लगाउँदै कतै आई पो हाल्छ कि भन्ने आशा सुनाउँछिन् ।

‘गएदेखि नियमित सम्पर्क भइरहेको थियो, युद्धमा गएपछि केही दिन बिराएर कुरा हुन्थ्यो,’ जानकीले भनिन्, ‘सम्पर्क होला भन्ने आसमै थियौं, मृत्युको खबर आयो ।’ उनका अनुसार कान्छो छोरा निराजन सँग पनि सम्पर्क भएको छैन । छिमेकी नाति पर्ने लोकेन्द्र पनि सम्पर्कमा छैन ।

३० वर्षीय छोरा लोकेन्द्रसँग पनि सम्पर्क नहुँदा आमा कमलाको हरेक दिन छटपटी र पीर बढिरहेकै छ ।

घरपरिवारले कुशको पुतला बनाएर महाकालीमा अन्तिम संस्कार गरिएका विराजन १० वर्ष नेपाली सेनामा काम गरेर रोजगारीका लागि विभिन्न देश पुगेका थिए । उनले सिंगापुर, यूएईलगायतका देशमा पुगेर कतै सेक्युरिटी गार्ड त कतै पानी जहाजमा काम गरेका थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024