पति विदेश, पत्‍नीको अर्कैसँग ….

4 May, 2012

दिलीप पौडेल

गत वर्ष विहे गरेर रोजगारीका लागि भारत पसेका जिल्लाको छिस्ती-८, का सालिक सुवेदी पत्‍नीलाई उतै लैजाने योजनाले छुट्टीमा घर आएका थिए। कक्षा १२ को परीक्षा सकिएपछि पत्‍नीलाई लिएर जाने उनको धोका अब अधुरै रह्‍यो।

पत्‍नी कल्पना गहना र ५० हजार भारु लिएर अर्कैसँग विहे गरेपछि अहिले उनी पीडित बनेका छन्। गत वर्ष छिमेकी जैदी गाविसबाट मागी विहे गरेर ल्याएकी पत्‍नीलाई छिमेकी केशव चालिसेले लगेपछि सालिक न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय, बाग्लुङ आई पुगेका छन्।

भारतमा रोजगारी गर्ने सालिकले विहे गरेर गत वर्ष नै पत्‍नीलाई सँगै लैजाने योजना थिए। ‘ विहे गरेपछि उतै जाउँ भन्दा एक वर्ष पढ्छु भनेकाले यतै छोडेँ’ सुवेदीले भने, ‘छोडेर गएको थिएँ, अर्कैसँग सल्केकी रहिछे।’ ‘ घरबाट रिचार्ज कार्ड किन्न जान्छु भन्दै निक्लेकी उल्टै ५० हजार भारु लिएर पोइल गई,’ उनले आफ्नो दुसेसो पोखे।

लगेको रकम र गहना फिर्ता गर्न माग गर्दै उनले प्रहरीमा उजुरी दिएपछि प्रहरीले दुवैलाई पक्राउ गरेको छ। पुरुषबाट महिला पीडित भैरहेको अवस्थामा पछिल्लो समयमा महिलाबाट पुरुष पीडित हुने क्रम बढेको छ। सालिकमात्र होइन पत्‍नीले छोडेर अर्कोसँग विहे गरेर गहना र रकमसमेत कुम्ल्याएर हिँडेपछि न्याय खोज्दै प्रहरीकोमा आउनेको संख्या ह्‍वात्तै बढेको जिल्ला प्रहरी कार्यालय, बाग्लुङले जनाएको छ।

अहिले प्रहरी कार्यालय, बाग्लुङको महिला तथा बालबालिका सेलकी सई तारा श्रेष्ठलाई अर्कैसँग विहे गर्ने र सम्बन्ध विच्छेदका मुद्दा मिलाउन भ्याई नभ्याई छ। बिहीबारमात्र पाँच वटा यस्तै प्रकृतिका मुद्दा आएको सई श्रेष्ठले बताइन् ‘कोही पत्‍नी लगिदिए भन्दै त कोही सम्बन्ध विच्छेद गर्न भन्दै आउने गरेका छन्, उनले भनिन्। समाजमा विकृति फैलिएपछि समस्या सिर्जना भएको छ। ‘वैशाख महिनामा मात्र करिब १ सय यस्तै प्रकृतिका मुद्दा दर्ता भएका छन्,’ उनले भनिन्।

धन कमाउन विदेश गएका पति-पत्‍नीहरु अर्कैसँग पल्केर विहे गर्ने घटना बढेको प्रहरी नायव उपरीक्षक कृष्ण सिवाकोटीले बताए। ‘पतिले पठाएको रकम अरुसँगै हिँडेर मोज गर्ने,’ सिवाकोटीले भने, ‘अनि रकम कुम्लाएर अर्कै तिर विहे गर्ने घटना बढे।’

विवाहित परस्त्री र पर पुरुषसँग घर बाहिर होटलमा बस्ने क्रम बढेकोले चेकजाँचमा कढाई गरेको डिएसपी सिवाकोटीले बताए। यस्ता घटनामा प्रहरीले दुवै पक्षलाई राखेर आपसी समझधारीमा मुद्दा मिलेमा मिलाउने नभए अदालत जान सुझाव दिने गरेको। एक वर्षको प्रेम सम्बन्धमा बाँधिएर विहे गरेका जिल्लाको अधिकारीचौरका ओमप्रसाद श्रीपाली पनि पत्‍नीले धोकाए दिएपछि न्यायका लागि भौंतारिरहेका छन्। सुन लिएर पत्‍नी अर्कैसँग विहे गरेको भन्दै श्रीपाली जिल्ला अदालत, बाग्लुङ पुगेका छन्। ‘प्रेम गरेर विहे गरेकी पत्‍नीले धोका दियो, ‘श्रीपालीले भने,’ प्रहरीकोमा पनि गहना फर्काउन नमानेपछि अदालत मुद्दा दायर गरेको छु।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024