पढ्न भनेर रूस पुगेका थिए, युक्रेनी सेनाको फन्दामा परे

13 Dec, 2023

२६ मंसिर, काठमाडौं । ‘स्टुडेन्ट भिसा’मा मस्को पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २२ वर्षीय प्रतीक पुन एजेन्टको फन्दामा परेर रूसी सेनामा भर्ती हुनपुगे ।

केही महिनाको तालिमपछि प्रतीक युद्धग्रस्त क्षेत्रमा खटाइएका थिए । युक्रेनको दक्षिण पूर्वी जापोरिजी क्षेत्रमा खटाइएका बेला उनी युक्रेनी सेनाको कब्जामा परेका हुन् । केही दिनअघि भिडियो सार्वजनिक भएपछि मात्र उनी युक्रेनी सेनाको बन्धक बन्न पुगेको सूचना चुहियो ।

पढ्न भनेर पठाएको छोरो विदेशी भूमिमा सेनाको कब्जामा छ भन्ने सुनेपछि आमा तिलकुमारी पुनको होशहवास उडेको छ । ‘नौ लाख ऋण काढेर छोरालाई पढ्न पठाएँ’ अत्तालिएको स्वरमा उनले भनिन्, ‘अहिले छोरो सेनाको कब्जामा छ भनेर सुनेदेखि मेरो मन स्थिरमा छैन ।’

रूसी सेनामा भर्ती भएका नेपाली मारिएका खबरहरू आइरहेका छन् । तिलकुमारी आफ्नो छोरा पनि तिनैको बीचमा रहेको, युक्रेनको बन्धक बन्न पुगेको खबरले आत्तिएकी छन् ।

‘नराम्रो खबर मात्रै सुन्छु’ उनले भनिन्, ‘नजिक भएको भए फर्काउन पनि सकिन्थ्यो होला, टाढा भयो, के कसो गर्ने होला ?’ छोराको भिडियो हेरेर आत्तिएकी तिलकुमारी छोरालाई छिटोभन्दा छिटो उद्धार गरिदिन आग्रह गरिरहेकी छन् ।

गत भदौमा बर्दिया राजापुर नगरपालिका-१ का २३ वर्षीय विवेक खत्री पनि यसैगरी रूस पुगे । अर्थशास्त्र पढ्न भनेर मस्को पुगेका उनी रूसी सेनामा पो भर्ना हुनपुगे । केही महिना तालिम दिएपछि रूसी सेनाले उनलाई सीधै युद्ध मैदानमा खटाइदियो ।

परिवारसँग बीचैमा सम्पर्क टुटेको केही समयपछि मात्र उनी युक्रेनी सेनाको कब्जामा भएको भिडियो बाहिर आयो । असोज २७ गते रूसी सेनाले नियन्त्रणमा लिएर छोरो युद्धमा फसेको कुराले उनको परिवारमा निद्रा छैन ।

‘पढ्न गएको छोरो युद्धमा फसेको छ’ बुबा जयबहादुर खत्री भन्छन्, ‘के-कसो हुने हो केही थाहा छैन, दिन–रात छोराको पीरले हामीलाई सताइरहेको छ ।’ छोरो युक्रेनी सेनाको कब्जामा भएको भिडियो बाहिरिएसँगै उनको अवस्था हालसम्म अज्ञात छ । ‘सपनामा पनि छोरो आएको देख्छु’ उनले भने, ‘हाम्रो बोलिदिने मान्छे कोही छैन, छोरालाई कसरी फर्काउने होला ?’

छोरो कब्जामा भएको लामो समय हुँदा पनि सरकारी तहबाट कुनै खबर नआउनुले उनी झन् आक्रोशित छन् ।

मण्डनदेउपुर–६, काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाल घरको एक्लो छोरा थिए । उनको परिवार सामान्य खेती–किसानी गथ्र्यो । गत असोजमा पढ्न र कमाउन भन्दै उनी रूस पुगे । त्यहाँ पुगेर एउटा विश्वविद्यालयमा भर्ना पनि भए । तर पढ्नलाई पैसा नभएपछि उनी रूसी सेनामा भर्ती भए । त्यसपछिको केही समयसम्म उनी परिवारको सम्पर्कमै थिए । मंसिर दोस्रो सातादेखि उनको परिवारसँग सम्पर्क टुट्योे । मंसिर १८ गते युक्रेनी सेनाले भिडियो सार्वजनिक गरेसँगै परिवारले उनी युक्रेनी सेनाको नियन्त्रणमा रहेको थाहा पायो ।

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोमा उनले आफू बाध्यताले रूसी सेनामा भर्ना हुनुपर्ने परिस्थितिबारे बताएका छन् । ‘विश्वविद्यालयमा पढ्ने पैसा नभएपछि देश फर्काइदिन्छु भन्यो’ उनले भनेका छन्, ‘म फर्किन चाहन्नथें, पैसा कमाउनु थियो, अनि म रूसी सेनामा भर्ना भएँ ।’ युद्धग्रस्त क्षेत्रको पनि ‘रेडजोन’ अन्तर्गत खटाइएका उनी सेनाले पक्राउ गरी नियन्त्रणमा लियो । त्यसयता उनी रिहा भएका छैनन् ।

भिडियोमा उनले भक्कानिंदै आफूलाई फर्काइदिन आग्रह गरेका छन् । यो कुराले उनको परिवार विक्षिप्त छ । छोरो रिहा भएको खबर सुन्न परिवार आतुर छ । ‘छोरो गएको ५६ दिन भइसक्यो, अहिलेसम्म पत्तो छैन’ बुबा विदुर ढकाल भन्छन्, ‘हामी साह्रै आत्तिएका छौं ।’

युक्रेनी सेनाको कब्जामा रहेका सिद्धार्थलाई उद्धार गरिदिन भन्दै उनका दाजु नवराज ढकालले परराष्ट्र मन्त्री एनपी साउदलाई समेत पत्र बुझाएका छन् । गत मंसिर ९ गते कन्सुलर सेवा विभागमा पनि निवेदन दिएका छन् । ‘हामीले गर्न सक्ने सबै प्रयास गरिरहेका छौं’ उनले भने, ‘सरकारले छिटोभन्दा छिटो पहल गरेर हाम्रो मान्छे उद्धार गरिदेओस् ।’

गत मंसिर १८ गते मात्र रूस–युक्रेन युद्धमा सेनामा गएका ६ जना नेपाली नागरिकको मृत्यु भएको घटनालाई परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । पछिल्लो समय नेपालीहरू अध्ययन र भिजिट भिसा मार्फत रूस पुगेर सेनामा भर्ती भइरहेका छन् ।

गत मंसिर २० गते मात्र नेपाली युवालाई द्वन्द्वग्रस्त मुलुक रूसको सेनामा भर्ती गराउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । ‘राम्रो कमाइ हुने लोभ देखाएर नेपाली युवालाई भारत, यूएई हुँदै रूससम्म पु¥याउने १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो ।

सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताए । ‘रूसी सेनामा पनि नेपाली युवाहरू कोही पढ्न गएका, कोही भिजिट भिसामा गएका २०० भन्दा बढी छन् भन्ने (सूचना) छ’ उनले भने, ‘त्यसको खोजी, अध्ययन भइरहेको छ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024