पञ्जाबमा अपहरित मोरङमा ‘उम्के’

9 Jul, 2012

अजित तिवारी

भारतको पञ्जाव राज्यबाट अपहरणमा परेका एक युवा मोरङको शनिश्चरेमा अपहरणकारीको नियन्त्रणबाट उम्केका छन्। क्यानडामा रोजगारी दिलाइदिने प्रलोभनमा अपहरणकारीको चंगुलमा फँसेका २३ वर्षीय भारतीय नागरिक मन्दीप सिंह आइतबार पूर्व-पश्चिम राजमार्गको मोरङ-शनिश्चरे सडकखण्डमा उम्कन सफल भएका हुन्।  

शनिश्चरे-१ स्थित जिरी खिम्तीमा राजमार्गमै प्रहरीले गरिरहेको नियमित सवारी चेकजाँच हेर्नेबित्तिकै गाडी फर्काउने क्रममा सिंह अपहरणकारीको कब्जाबाट भागेको मोरङ प्रहरीले जनाएको छ। सुरक्षाकर्मीलाई सडकमै सवारीसधान चेकजाँच गरिरहेको हेरेपछि गाडी फर्काउने क्रममा सिंह ढोका तानेर उम्किएको मोरङका एसपी निरजबहादुर शाहीले बताए।

 

सिंहलाई प्रहरी कार्यालयमा राखिएको छ। ‘आँखामा पट्टी बाँधिएको मानिस गाडीबाट भाग्दै चिच्याउन थालेपछि सवारी साधन चेकजाँच गरिरहेका प्रहरीहरूले उनलाई नियन्त्रणमा लिए,’ एसपी शाहीले भने, ‘क्यानडा पुर्या इदिने भन्दै पञ्जाबबाट मुम्बई, नयाँदिल्ली हुँदै सिंहलाई नेपाल ल्याइँदै थियो।’ 

 

गाडीबाट सिंह फुत्किएको र नजिकै सुरक्षाकर्मीको गस्ती रहेकाले अपहरणकारी चढेको गाडी पूर्वतर्फ तीव्र गतिमा भागेको प्रहरीको भनाइ छ। ‘राजमार्ग गस्तीमा रहेका प्रहरी अपहरणमा परेका युवालाई नियन्त्रण गर्नमै अलमलिएकाले अपहरणकारी भागे,’ एसपी शाहीले नागरिकसँग भने, ‘अपहरणकारीलाई पक्राउ गर्न मोरङदेखि झापाको सीमावर्ती इलाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।’ 

मोरङ प्रहरीका अनुसार अपहरणकारीहरू झापाकै कुनै स्थानमा लुकेको र उनीहरूले प्रयोग गरेको गाडी भारतीय भएको खुलेको छ। युवा सिंहलाई क्यानडामा जागिर लगाइदिने भन्दै १७ दिनअघि उनकै छिमेकी रञ्जित सिंहले मुम्बई पुर्याकएका थिए।

 

सिंहले मोरङ प्रहरीलाई दिएको जानकारी अनुसार मुम्बईबाट जहाजमा नयाँदिल्ली, कोलकाता र सिलिगुडी नजिकैको बाघडुग्रा ल्याएपछि आइतबार नेपाल छिराइएको थियो। ‘रञ्जितले मुम्बईमा दुई अपरिचितसँग भेट गराए,’ सिंहले प्रहरीलाई दिएको जानकारी उद्धृत गर्दै एसपी शाहीले भने, ‘तिनै दुईले नेपाल ल्याएका हुन्।’ 

 

अपहरणकारीले मन्दीपलाई भारतको बाघडुग्राको एक पक्कीघरमा हातखुट्टा र आँखामा पट्टी बाँधेर कन्चटमा पेस्तोल राखेर इन्टरनेट फोनमार्फत क्यानडा पुगेको घरमा भन्न लगाइका थियो। मन्दीपले आफू अपहरणमा परेको त्यहीँबाट थाह पाए। नभए त्यसअघि अपहरणकारीहरूले उनीसँग साथीभाइजस्तै व्यवहार गरिरहेका थिए। 

 

क्यानडा पुगेपछि मात्रै पैसा भुक्तानी गर्ने सर्त गरिएकाले अपहरणकारीहरूले मन्दीपलाई इन्टरनेट फोनमार्फत ‘क्यानडा पुगेको झुठो खबर’ घरमा दिन लगाएर उनका छिमेकी रञ्जितले २५ लाख रुपैयाँ लगेको मन्दीपले बताए। ‘नेपाल छिराएपछि मसँग रहेको ३ हजार अमेरिकी डलर, मोबाइल र अरू सामान अपहरणकारीले नै लुटे,’ मन्दीपले प्रहरीसँगको बयानमा भनेका छन्।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024