पचहत्तर प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्

27 Jun, 2024

काठमाडौँ, असार १३ गते । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक सबैभन्दा बढी आफ्नै देशमा ठगिने गरेका छन् । वैदेशिक रोजगारीका पीडितलाई निःशुल्क कानुनी सेवा दिँदै आएको संस्था (पिपुल फोरम) को अध्ययनमा गन्तव्य मुलुक प्रस्थान गर्नुअगावै श्रमिक स्वदेशमै ठगिने गरेका छन् ।

सो संस्थाको अध्ययनमा चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगार विभागमा दर्ता भएका ठगी दुई हजार ३०४ मुद्दाको अनुसन्धान गर्दा ७५ प्रतिशत युवा स्वदेशमै रहेका एजेन्टबाट ठगिएको उल्लेख छ ।

सो मुद्दाको अध्ययनकर्ता अधिवक्ता सुदीप देवकोटाले नेपालमा युवा वैदेशिक रोजगारी जान्छु भनेर सोचेदेखि नै ठगिन सुरु हुने गरेको बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवा फोटोकपी गर्ने पसले, ऋण दिने साहु हुँदै स्थानीयदेखि केन्द्रका दलाल, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी, अनलाइन श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, हवाई टिकटलगायतमा ठगिने गरेको उहाँको अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार श्रमिक बढी ठगिने गन्तव्य देशमा साउदी अरब रहेको छ । सो अवधिमा ७.२० प्रतिशत युवा साउदीमा ठगिएका छन् भने संयुक्त अरब इमिरेटस् (युएई) मा ५.३८ प्रतिशत युवा ठगिने गरेका छन् । मलेसियामा ५.२८ प्रतिशत, कुवेत चार प्रतिशत, कतारमा दुई प्रतिशत, ओमान ०.६९ प्रतिशत अन्य मुलुकको हिस्सा ०.७३ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

बढी ठगी बागमती प्रदेशमा

वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएका युवाको अवस्था प्रदेशगत रूपमा अध्ययन गर्दा सबैभन्दा बढी २८.५१ प्रतिशत बागमती प्रदेशका युवा ठगिएका छन् ।

यस्तै मधेश प्रदेशका १८.७० प्रतिशत र कोशी प्रदेशका १८.२७ प्रतिशत ठगीमा परेका छन् । सो अवधिमा लुम्बिनी प्रदेशका १३.७१ प्रतिशत, गण्डकी प्रदेशका ११.४७ प्रतिशत, कर्णाली प्रदेशमा ४.४७ प्रतिशत र सुदूरपश्चिम ५.२९ प्रतिशत रहेको सो अध्ययनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा संस्थागतभन्दा व्यक्तिगत रूपमा नेपाली श्रमिक बढी ठगिएको पाइएको छ । सो संस्थाको अध्ययनले करिब ७१ प्रतिशत नेपाली श्रमिक व्यक्तिबाट नै ठगिन्छन् भने संस्थागत रूपमा २९ प्रतिशत ठगिएको पाइएको छ । नेपालबाट व्यक्तिगत वा संस्थागत गरी नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । संस्थागत अर्थात् नेपाल सरकारबाट लाइसेन्स लिएर वैधानिक रूपमा सञ्चालन भएका म्यानपावर कम्पनी हुन् । जसले निश्चित शुल्क लिएर श्रमिक वैदेशिक रोजगारीमा पठाउँछन् । दोस्रो भनेको व्यक्तिगत रूपमा जाने श्रमिक ।

सो संस्थाको अध्ययन अनुसार चालु आवको हालसम्म दुई हजार ३०४ जनालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दा चार करोड ३३ लाख ५२ हजार ७१० रुपियाँ ठगी भएको छ । लामो समय अगाडिदेखि नै वैदेशिक रोजगारीमा समस्या परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024