न काम पाइन्छ, न कोठा, के जानु डेनमार्क !

17 Feb, 2025

प्रकाश सापकोटा

नेपालमा सँगसँगै घर भएका मेरा एक छिमेकी भाइले डेनमार्क आएर सम्पर्क गरे। डेनमार्कमा उनले चिनेको अरू कोही नभएकोले मैसँग सहयोगको अपेक्षा राखे। बासस्थानको व्यवस्था, प्रारम्भिक काम खोजीको उपायलगायतका सुरुका केही चरणहरू तानतुन गरेर जोरबलले पार गराइयो।

एकदिन उनले खुसीको खबर सुनाउन भन्दै फोन गरे– ‘मैले कामदार भिसा मिलाएँ नि अंकल।’ उनले बाँडेको खुसीमा खुसी हुँदै बधाई दिएँ। तर दुई महिना नबित्दै त्यो खुसी तनावमा बदलियो। उनलाई कामदार भिसा मिलाइदिने रोजगारदाताले कम्पनी बेचिदियो। नयाँ खरिदकर्ताले ती भाइलाई अघिल्लो रोजगारदातासँगका करारबारे आफू जिम्मेवार नहुने र नियमित रोजगारी दिन नसक्ने भनिदियो। रोजगारी नहुनेबित्तिकै भिसा नरहने डर भयो। बल्ल टेकेको खुडकलो भत्किएपछि उनी स्वभावतः आत्तिए– ‘पोर्चुगलको बाटो पनि बन्द भइगयो, अब कहाँ जानू ?’ नआत्तिन सल्लाह त दिएँ– ‘केही नभए आफ्नै मातृभूमि छँदैछ नि !’ तर म आफैं चिन्तित भएँ, २०–२२ को कलिलो उमेरमा परिवारको बोझ हल्का गर्न केही कमाएर पठाउँछु भन्दै लाखौं फसाएर आएको ऊ लगानी नउठाउँदै कस्तो तनावमा पर्‍यो !

अहिले उनलाई ‘वर्क परमिट’ दिने अर्को रोजगारदाता तत्काल चाहिएको छ (नत्र उनको डेनमार्क बसाइ राम्ररी सुरु हुन नपाउँदै टुंगिने अवस्थाको नजिक छ )। … पाइएको छैन। असाध्यै निकटका एकजना दाइको भान्जा डेनमार्क आएर सम्पर्क गरे– ‘मामा, कामको बन्दोबस्त हुन सकेन।’ पहिलेकै तरिकाले चिनजानका सबैलाई फोन र मेसेज पठाएँ। सधैं आउने जवाफ उही हो– ‘बुझौंला !’ दर्जनका हाराहारीमा साथीहरू बुझिरहनुभएको छ। म फलोअप गरिरहेको छु। तर दुर्भाग्य, महिनौंसम्म कतैबाट अवसरको संकेत आएको छैन।

केही वर्ष पहिलादेखि डेनमार्क बसिरहेकैहरूलाई समेत यी असरहरूले पिरोल्न थालेका छन्। १० वर्ष पहिलादेखि सपरिवार डेनमार्कमा बसिरहेको म आफैं यो भयावह संकेत पहिलोपल्ट देखिरहेको छु। आईटीमा ग्र्याजुएट गरेर बसेको आफ्नै छोरोले जागिर खोजेको महिनौं भयो। केही महिना बेरोजगारी भत्ता खाएर अब काममा फर्कन खोजेकी आफ्नै जहानले काम पाएकी छैनन्। अब नयाँलाई कति गाह्रो होला, अनुमान मात्रै गरे पुग्छ।

डेनमार्क धेरै नेपाली युवाहरूको रोजाइमा पर्ने देश हो। नेपाली परामर्शदाताले गजबका प्रलोभन देखाएर रोजाउने देश पनि हो। युट्युबतिर हेर्‍यो भने विश्वकै सबैभन्दा धेरै कमाइ हुने देशको दोस्रो–तेस्रो नम्बरमा डेनमार्कलाई देखाएका कैयौँ भिडियोहरू भेटिन्छन्। अवसर खोज्नेहरूले राम्रै अवसर रहेछ भन्ठान्छन्। तर वास्तविकता डरलाग्दो छ। धेरैको रोजाइमा पर्ने देशमा मानव प्रवाह बढी हुने नै भयो। युरोपका अन्य देशबाट (युरोपेली नागरिकता पाएकाहरू) पनि डेनमार्क नै हाम फाल्ने, रूस–युक्रेनका युद्ध प्रभावितहरू पनि डेनमार्क नै ओइरिने र गैरयुरोपियन देशहरूबाट पढाइ, काम वा बसाइँसराइको मेसो मिलाउनेले पनि डेनमार्क नै रोज्ने क्रम तीव्र भएपछि सानो देश डेनमार्कले रोजगारीको माग धान्न नसक्ने स्थिति आएको छ। त्यसै पनि महामारी र युद्धको प्रभावले अर्थतन्त्र खल्बलिएपछि केही ठूला रोजगारदाता कम्पनीहरू धराशायी भएका छन् भने यहाँका रोजगारदाताहरूले कामदारको संख्या निचोरेर मानव संसाधन खर्च घटाउने नीति लिएका छन्। तसर्थ यत्तिकै पनि रोजगारीको क्षेत्र साँघुरिएर अवसर घटेको छ। त्यसमाथि आवश्यक अध्ययन र सुझबुझको अभावमा, अनि भ्रम तथा गलत प्रलोभनमा परी डेनमार्कलाई गन्तव्य बनाउँदा नवआगन्तुकहरू ठूला समस्यामा परिरहेका छन्।

दक्षिणपूर्वी तथा मध्य युरोपमा काम गरिरहेका केही आफन्तहरू पनि डेनमार्क आउन चाहन्छन्। ‘घुम्न आउनू’ भन्छु, ‘उतै बसेर काम गर्न आउने’ भन्छन्। सम्पर्क गरेर कामदार भिसा मिलाइदिन अनुरोधहरू पठाउँछन्। नेपालबाट ती युरोपेली देशमा पठाउने मध्यस्थकर्ताले उनीहरूलाई पनि भ्रम हालिदिएर पठाउँछन्– ‘युरोप छिरेपछि घुमी–घुमी जुन देशमा गएर नि काम गर्न पाइन्छ !’ तर त्यस्तो हुँदैन। पटक्कै हुँदैन। सम्बन्धित देशको रोजगारदाताले प्रायोजन नगरी अर्को देश गएर काम गर्न पाइन्न।

सेन्जेन भिसा भनेको युरोपका तोकिएका २७ देशहरूमा निर्वाध प्रवेश र निश्चित समयसम्म भ्रमण गर्न पाउने भिसा हो। जहाँ पनि गएर खुरूखुरू काम गरेर बस्न पाइने होइन। आफू जान चाहेको देशको रोजगारदाताले रोजगारी ग्यारेन्टी गरेपछि पनि त्यो देशको अध्यागमन नियमले तोकेका सर्तहरू पूरा गरेर मात्र त्यस देशको बसोबासको अनुमति पाइन्छ। अनि बल्ल त्यहाँ बसेर काम गर्न पाइन्छ। जब आइसकेका र काम गर्ने अनुमति भएकाहरूलाई त काम मिलिरहेको छैन भने अरू युरोपेली देशमा आएर अस्थायी कामदारको रूपमा काम गरिरहेकाहरूलाई डेनमार्कको सपना देखे जति सजिलो छँदै छैन।

चिनेजानेकाहरूलाई डेनमार्कमै भएर पनि केही गरिदिएन भनेजस्तो पर्छ, तर गर्नै केही सकिन्न। मिल्दैन। यो सबैले बुझ्नु जरुरी छ। युरोप आइसकेकालाई त कामदार भिसाको प्रक्रिया भनेजस्तो सजिलो छैन भनी हामीले सम्झाउनुपर्छ भनेपछि नेपालबाटै प्रयास गरिरहेकाहरूमा कति ठूला भ्रम होलान् भन्ने अनुमान गर्न गाह्रो छैन। रोजगारी त अझ अलिक पछिको कुरा भयो, डेनमार्क आउनासाथ बस्ने बासस्थानको अभाव व्यापक छ। कोठा पाउनै मुस्किल पर्नुले पनि चाहिनेभन्दा धेरै मानवीय वहाव भएको सहज अनुमान गर्न सकिन्छ। ठीक यतिखेर पनि केही नेपाली विद्यार्थीहरू कोठा नपाएर एयरपोर्टमै र आसपासका होटलमा दैनिक महँगो भाडामा बसेर धुइँपत्ताल कोठा खोजिरहेका छन्। तै पनि कोठा पाउन कठिन छ।

फेरि, यस्तै अप्ठ्यारोको मौका छोपेर केही अधर्मीहरू कोठा मिलाइदिने नाममा ठगी र नाजायज फाइदा उठाउन तम्सिन्छन्। त्यस्तोबाट जोगिन सतर्क हुनु पनि आवश्यक छ। हेर्नोस् त, समस्याका चाङ ! नेपालमा व्यावसायिक परामर्शदाताले डेनमार्कमा विद्यार्थीले नै मस्त कमाउने आशा देखाइदिँदा त्यो भ्रममा परेर आउनेहरूको रुवावासी हुने स्थिति छ।

विद्यार्थीसँगै डिपेन्डेन्टमा जानेले त झन् भक्कुमार कमाउँछ भन्ने प्रलोभनमा परी भएको सारा धनसम्पत्ति बेचेर वा धितो राखेर आउनेको हालत थप दयनीय हुने निश्चित छ। अझ केही अनधिकृत विज्ञापनहरूमा डेनमार्कको आवधिक कामदार भिसा भन्दै झुक्याएर मोटो रकम असुल्ने गरेका खबर पनि छ्याप्छ्याप्ती छन्। डेनमार्कमा त्यस्तो खालको मार्ग हुँदै नभएको प्रस्ट पार्न चाहन्छु। कसैले त्यस्तो प्रलोभन देखाएमा यहाँस्थित दूतावासलाई, गैरआवासीय नेपाली संघलाई वा यहाँको नेपाली समुदायलाई सोधेर यकिन नगरी बिचौलियाहरूलाई विश्वास नगर्न पनि आग्रह गर्दछु।

पहिले झैं डेनमार्कको बसाइ लम्ब्याउन नसके पोर्चुगलतिर गएर अल्मलिने विकल्प पनि त्यहाँको अध्यागमन नियम कडा पारिए सँगै सकिएको छ। यसले थुप्रैका युरोप सपनालाई टुंग्याइदिएको छ। यति हुँदाहुँदै पनि सजिलो उपाय लगाएर अध्ययन भिसामा उल्लेख्य संख्यामा नेपाललगायत एसियाली देशहरूबाट विद्यार्थीको डेनमार्कमा घुइँचो लागेको लाग्यै छ। अघिल्ला सेमेस्टरमा आएकाहरूको नै बस्ने, खाने, काम पाउने प्रबन्ध नभएकै अवस्थामा नयाँहरूको चाप बढेपछि समस्या सुल्झिनुको साटो थपिने नै भो। थपिँदै गइरहेको छ। अब गर्ने के त ?

१. विदेश जाने सोचेकाहरूले :

आफ्नो उद्देश्य यकिन गर्ने।
आफू अघिल्तिरका सम्भावनाको सूची बनाउने।
सर्वोत्तम विकल्पको छनोट गर्ने।
विदेश जान खोजेको बाटोका अवरोधहरू पहिल्याउने।
सुनेका कुराहरू भरपर्दो स्रोतबाट अनुमोदन गराएर मात्र पत्याउन।
विदेशमा गएर गर्नुपर्ने काम, आफ्नो हैसियतको ख्याल गर्ने।
सम्बन्धित देशका आधिकारिक नेपाली संघसंस्था र पदाधिकारीहरूसँग सल्लाह लिने।
विदेशमा आइपर्ने चुनौती र प्राप्त हुन सक्ने उपलब्धिको हिसाककिताब गर्ने।
चुनौतीको पल्ला भारी भयो भने स्वदेशमै सम्भावनाका उपाय खोजी गर्ने।
विदेशबाट फर्केर नेपालमा केही गरिरहेकाहरूबाट प्रेरणा लिने।

२. डेनमार्क जान ठिक्क परेकाहरूले :

लागतको मापदण्ड यकिन गर्ने ।
नेपालबाट हिँड्नु पहिला नै कोठाको खोजी र बन्दोबस्त गर्ने।
६ महिना (उस्तै परे एक वर्ष) काम पाइएन भने डेनमार्कको महँगीमा धान्ने गरी नेपालबाटै खर्च झिकाउनु पर्नेमा सावधान रहन।
जुन पायो त्यही बिचौलियाको भर परेर मक्ख नपर्ने
कोठा मिलाइदिने, काम लगाइदिनेजस्ता आश्वासनका प्रलोभनमा परेर अग्रिम पैसा वा सर्तहरूमा राजी नहुने।
सामाजिक सञ्जालका अनाधिकृत प्रवद्र्धनात्मक सामग्रीका पछाडि नलाग्ने।
घरपरिवारलाई ठूलो आशा नदेखाउने ।
नेपाल छोड्नुअघि आफू जान लागेको देशको नेपाली दूतावास, गैरआवासीय नेपाली संघ वा अन्य कुनै पहिचान प्राप्त संस्था वा व्यक्तिसँग सल्लाह र सुझाव लिने।
गएको देशमा बस्न सक्ने आधार खडा नभएमा कुनै पनि बेला स्वदेश फर्केर आफूले गर्ने काम वा सम्हाल्ने जिम्मेवारी पहिल्यै तय गर्ने– सरल र सही समय पर्खने।

अन्त्यमा, लहैलहैमा होइन, परिस्थिति बुझेर विदेश जाने निर्णय लिन ऊर्जाशील कलिला भाइबहिनीहरूलाई अनुरोध छ। छोराछोरीलाई प्लस टुपछि विदेश जान नउक्साउन अभिभावकहरूलाई अनुरोध गर्दै भ्रम र झुटको व्यापार नगरी यथार्थ कुरा छर्लंग बताइदिन, बुझाइदिन मध्यस्थकर्ताहरूलाई अनुरोध छ। युवा जनशक्तिलाई देशमै रोकिने उपाय सिकाउन शिक्षित वर्गलाई अनुरोध गर्दै मनलाग्दी रकम असुलेर झुटा सपना बाँड्ने बिचौलिया र मानव तस्करलाई खुलेआम लुट्न नदिन, बरू समातेर कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यान जाओस्।

लक्षित वर्गको पहुँचसम्म पुग्ने गरी आफू अवस्थित देशमा आउन खोजेका, आउँदै गरेका र आइसकेका नेपाली युवा जगत्लाई आवश्यक परामर्श र सचेतना प्रदान गर्न सम्बन्धित देशका नेपाली दूतावास, महावाणिज्यदूत, गैरआवासीय नेपाली संघ तथा अन्य नेपाली संघसंस्था र नेपाली समुदायमा विशेष सक्रियताका साथ लाग्नुपर्छ। यो जटिल विषयलाई कसैले पनि हल्का रूपले लिनु निकै घातक छ। आ–आफ्नो ठाउँबाट सबैले सोच्न र गम्भीर बन्न ढिलो भइसकेको छ।

(कोपन्हेगन, डेनमार्क)

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024