न्युजिल्याण्डमा नेपाली दूतावास खोल्न परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

30 Jul, 2024

गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग गर्दै सोमबार परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

पटक–पटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै परराष्ट्रमन्त्री डा.राणलाई मन्त्रालयमै पुगेर गैरआवासीय संघले ज्ञापन पत्र बुझाएको हो। न्युजिल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै समस्या भएकाले दुतावास स्थापना अपरीहार्य रहेको गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल केसीले बताए । ‘न्युजिल्याण्डमा नेपालीको संख्या थपिदै छ, दुतावास नहुदाँ धेरै मर्का परेको छ’ अध्यक्ष केसीले भने ।

न्युजिल्याण्डमा २० हजारभन्दा बढी र प्रशान्त द्वीप क्षेत्रका करिब १० हजार नेपालीको बासोबास छ । न्युजिल्याण्डमा दुतावास स्थापना हुदाँ ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्धारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

अष्ट्रेलियामा रहेको दूतावासले नै अहिलेसम्म न्युजिल्याण्डमा पनि काम गर्दै आएको छ। दूतावासलाई अष्ट्रेलियामा रहेका झण्डै १ लाख ५० हजार नेपालीको समस्या समाधान गर्न धौ–धौ रहेको अवस्थामा न्युजिल्याण्ड र प्रशान्तद्वीप क्षेत्रमा बासेबास गर्ने नेपालीको समस्या समाधान गर्न झनै कठिन हुने गरेको अध्यक्ष केसीको भनाइ छ ।

नेपालीले पासपोर्टमा प्रयोग हुने बायोमेट्रिक नमुना संकलन दुतावासबाट मात्रै हुने, हराएको पासपोर्ट बनाउन वा नवीकरण गर्न जाँदा अष्ट्रेलियाले सजिलै भिषा नदिँदा धेरै नेपालीको बिचल्ली, खर्चिलो र अन्य समस्याहरूको तथ्य विवरण समेत सरकारी निकायमा जानकारी गराइएको छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराईसकेका छौं । त्यसैले न्युजिल्याण्डमा नेपाली दुतावास स्थापनाका लागि परराष्ट्रमन्त्रीमार्फत् प्रधानमन्त्री ज्यूलाई सादर अनुुरोध गर्दछौं।’

यसअगाडी समेत निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत उच्चपदस्थ राजनीतिक दलका नेताका साथै पराष्ट्र मन्त्रालयमा समेत पुगेर नेपाली दुतावासका लागि पहल गरिदिन अनुरोध गरिएको थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024