कतारमा कार्यरत नेपाली श्रमिकलाई गर्मीबाट जोगिएर काम गर्ने विषयमा सचेतनामूलक प्रशिक्षण दिइएको छ। कतारको राजधानी दोहामा रहेको नेपाली दूतावासले ५० नेपालीलाई गर्मीबाट जोगिएर काम गर्ने विषयमा प्रशिक्षण दिएकाे हो।
जलेश्वरकी यास्मिन नाजले सञ्चालन गरेको क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी तथा बिल्डिङ एन्ड वुडवर्कर्स इन्टरनेसनको आयोजना एवं नेपाली दूतावास कतारको सहकार्यमा प्रशिक्षण दिएको हो।
कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले उच्च गर्मीबाट हुने तनाव, शरीरमा देखिने लक्षण, नकारात्मक असरबाट बच्ने सन्दर्भमा श्रमिकलाई प्रशिक्षण दिएका थिए।
कतारलगायतका खाडी मुकुलकमा अहिले चर्को गर्मीका कारणले श्रमिकहरू जोखिममा पर्ने गरेकोले नेपाली श्रमिकलाई जोगिने गरी सचेतनामूलक प्रशिक्षण दिइएको क्युएसटीका यास्मिनले बताइन्।
चर्को गर्मीका वेला (जुन १५ देखि सेप्टेम्बर १५) सम्म दिउँसो काममा बन्देज लगाउने गरेको भन्दै यास्मिनले घाममा काम गर्ने श्रमिकलाई गर्मीमा बढी जोखिम हुने हुँदा सजगता अपनाउन प्रशिक्षण दिएको बताइन्।
आगामी दिनमा पनि नेपाली श्रमिकलाई क्षमता अभिवृद्धिलगायतका विभिन्न सरोकारका विषयमा निःशुल्क प्रशिक्षण दिँदै जाने र दूतावासले सहजीकरण गर्ने राजदूत ढकालले बताए।