नेपाली विद्यार्थीका लागि २ लाख डलरको सहायता कोष

13 Apr, 2020

नारायण खड्का 

अस्ट्रेलिया — विद्यार्थी तथा अध्यागमनको क्षेत्रमा काम गरिरहेको एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा रहेका र कोरोना भाइरसका कारण समस्यामा रहेका नेपाली विद्यार्थीका लागि २ लाख डलर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । 

फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व अन्तगरत कोरोना भाइरसका कारण अत्यन्तै समस्यामा रहेका नेपाली विद्यार्थीलाई प्राथमिकताका आधारमा सहयोग गरिने जनाएको छ।

विज्ञप्तिमा १ लाख ५० हजार एक्सपर्ट मार्फत् उच्चशिक्षाका लागि पछिल्लो ६ महिनामा अस्ट्रेलिया अध्ययन गर्न आएका विद्यार्थीलाई प्रत्यक्ष सहयोग पुर्‍याइने र थप ५० हजार डलर विद्यार्थीको सहायताका लागि काम गरिरहेका अन्य संस्थाहरु मार्फत् समस्यामा परेका विद्यार्थीलाई सहयोग पुर्‍याइने उल्लेख छ । संस्थाका निर्देशक रुपक बर्तौलाले गतवर्ष अक्टोबर १ तारिखपछि अस्ट्रेलिया आएका, रोजगारी नै नपाएका र रोजगारी पाएपनि कोरोना भाइरसका कारण रोजगारी गुमाएकालाई प्राथमिकताका साथ सहयोग पुर्‍याइने फाउन्डेसनले जनाएकाे छ ।

अस्ट्रेलियामा अध्ययनरत करिब ५४ हजार नेपालीमध्ये हजारौं कोरोनाका कारण रोजगारी गुमेपछि समस्यामा छन्। उनीहरुलाई सहयोग पुर्‍याउनका लागि एनआरएनए लगायतका अन्य संस्थाले खाना लगायतका अत्यावश्यक सहयोग पुर्‍याइरहेको भएपनि उक्त सहयोग अपर्याप्त भएको गुनासो विद्यार्थीले गरिरहेका छन्।

फाउन्‍डेसनले सुरु गरेको सहयोगको अन्य नेपाली व्यवसायले समेत गर्ने दूतावास, एनआरएन लगायतले विश्वास जनाएका छन्। ‘विद्यार्थीलाई नै आफ्नो व्यवसाय बनाइरहेका दर्जनौं नेपालीले यसरी प्रत्यक्ष सहयोग गर्ने हो भने यहाँ समस्यामा रहेका नेपाली विद्यार्थीको धेरै समस्या हल हुनसक्छ,’ एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नविन पन्तले भने ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024