नेपाली युवती बन्धक राखेर दिल्लीमा यौनधन्दा, आरोपित दम्पती पक्राउ

3 Jan, 2024

नेपाली युवतीलाई भारतको नयाँ दिल्ली पुर्‍याएर ‘अनलाइन यौनधन्दा’ मा लगाउने गिरोहका नाइके एक दम्पती प्रहरीको फन्दामा परेको छ।

नेपाली युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर दिल्ली पुर्‍याइ यौन धन्दामा लगाउने गिरोह चलाउने दम्पत्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दिल्लीबाटै पक्राउ गरी नेपाल ल्याएको बुझिएको छ।

यद्यपि ब्युरोले यही पुस ११ गते कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा स्याङजाको गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती टिकाकुमारी वली रहेको प्रहरीले जनाएको छ। वलीले अस्मिता भण्डारी र रिया वली भनेर परिचय दिने गरेको पनि खुलेको छ।

ब्युरोको टोलीले दुबैजनालाई गत चैतदेखि पछ्याइरहेको थियो। ०७९ चैत ७ गते भारत पुर्‍याइएका नौ जना युवतीलाई ब्युरोको समन्वयमा उद्धार गरिएको थियो। उतिबेला ती युवतीलाई भारत पु¥याउन भूमिका खेलेका तीनजना पक्राउ परेका थिए। ‘ती तीनजना ओसारपसार गर्न भूमिका खेल्ने व्यक्तिहरू हुन,’ ब्युरोका प्रवक्ता रहेका प्रहरी उपरीक्षक (एसपी) कुष्णप्रसाद पंगेनीले भने, ‘उनीहरू पक्राउ पर्दा भण्डारी दम्पती मुख्य कारोबारी हुन भन्ने खुलेको थियो, तर पक्राउ परेका थिएनन्।’ पक्राउ परेका तीनजना उति बेलै चलेको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

पछिल्लो समय भण्डारी दम्पतीले फेरी नेपालबाट युवतीहरू झिकाएको सूचना ब्युरोले प्राप्त गरेको थियो। ‘पहिलाको घटनामा अनुसन्धान जारी नै रहेको अवस्थामा स्थान परिवर्तन गरी पुनः युवती झिकाएको सूचना प्राप्त ग¥यौं,’ ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक९एसएसपी० जीवनकुमार श्रेष्ठले भने, ‘त्यो सूचनापछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र त्यहाँ कार्यरत सामाजिक संस्था किन इन्डियासँगको समन्वय गरेर पाँच जना पीडित युवती उद्धार गरेका छौँ।’

ती युवती उद्धार गर्ने क्रममा पर्याप्त सूचना फेला पारेको ब्युरोको टोली भण्डारी दम्पत्तिसम्म पुगेको जनाएको छ। उनीहरूलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उद्धार गरिएका पीडितलाई नेपाल ल्याएर सुरक्षित आवास गृहमा राखिएको ब्युरोले जनाएको छ।

यसरी हुन्थ्यो धन्दा !

प्रहरीका अनुसार विपन्न र नेपालभित्रै मजदुरी गर्ने महिलालाई लक्षित गरेर गिरोहले आफ्नो योजना अगाडि बढाउने गरेको पाइएको छ। गिरोहले पहिला नेपालभित्रै होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा निम्न तलबमा काम गरिरहेका युवतीलाई भारतमा राम्रो काम पाइने र आम्दानी पनि राम्रो हुने भन्दै फकाएर भारत जान तयार पार्ने गरेको छ।

भारत पुगेपछि नयाँ दिल्लीको किशनगढमा भण्डारी दम्पतीले ती युवतीलाई एउटा भाडाको अपार्टमेन्टमा बन्धक बनाएर खानेबस्ने व्यवस्था मिलाएको प्रहरी अनुसन्धानले देखाएको छ। त्यहाँ सिसी क्यामरा जडान गरेर उनीहरूमाथि निरन्तर निगरानी गर्ने गरेको पाइएको छ। ‘यसरी त्यहाँ पुर्‍याइएपछि ती युवतीलाई त्यसपछि जबरजस्ती यौन धन्दामा संलग्न गराइने रहेछ,’ एसएसपी श्रेष्ठले भने।

यौन व्यवसाय सञ्चालन गर्दा ग्राहक खोज्न भण्डारी दम्पतीले अनलाइन प्लेटफर्महरू प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। जसका लागि वेबसाइट पोर्टलहरूमा ‘अनलाइन प्रोस्टिच्युसन’का ¥याकेट चलाउने गरेको पाइएको छ। यस्तै वाट्सएपमार्फत ग्राहकलाई सम्पर्कमा ल्याएर अनलाइनमार्फत नै भुक्तानी लिइ ग्राहकले भनेकै ठाउँमा बन्धकमा रहेका युवती पठाएर धन्दा चल्दै आएको थियो। ‘ती युवतीमाथि मोबाइलमा आफैले सिम दिएर हवाट्सएप, फेसबुक आइडी आफूसँग राखेर अनलाइन निगरानी समेत गर्ने गरिएको रहेछ,’ एसएसपी श्रेष्ठले भने।

ती युवतीलाई यौन क्रियाकलापमा लगाएपछि ग्राहकबाट आएको रकमको ८० प्रतिशत आफैसँग राखेर २० प्रतिशतमात्रै दिने गरेको पाइएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024