नेपालीको पहिलो श्रम गन्तव्य मलेसिया

5 Jul, 2023

काठमाडौँ, असार २० गते । पछिल्लो वर्ष नेपाली श्रमिकका लागि मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १६ सम्म वैदेशिक रोजगारीका लागि सात लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएकामा दुुई लाख ५१ हजार २८५ जना (३४ प्रतिशत) को हिस्सा मलेसियाले लिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा कतार दोस्रो श्रम गन्तव्य देश बनेको छ भने तेस्रो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।

सो अवधिमा कतारले एक लाख २७ हजार ४१९ जना (१७ प्रतिशत), संयुक्त अरब इमिरेट्स (युएई) ले एक लाख १० हजार १८४ जना (१५ प्रतिशत) र साउदी अरबले एक लाख आठ हजार ४४५ जना (१५ प्रतिशत) को हिस्सा ओगटेको छ । सो अवधिमा ४० हजार ५०८ जनाले कुवेतका लागि श्रम स्वीकृति लिएका छन् भने दक्षिण कोरियाका लागि २० हजार ६०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । बाँकी जापान, माल्टा, जोर्डन, साइप्रस, माल्दिभ्सलगायत ५२/५३ देशमा श्रम स्वीकृति लिएर गएका छन् । विभागका निर्देशक गुरुदत्त सुवेदीले नेपालबाट रोजगारीका लागि ११० देशमा श्रम स्वीकृति दिने गरेको भए पनि झन्डै ८५ प्रतिशत हिस्सा मलेसिया र खाडीले ओगटेको जानकारी दिनुभयो । निर्देशक सुवेदीका अनुसार वैदेशिक रोजगारीका लागि नेपाली सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक गइरहेका छन् । अघिल्ला वर्षको तुलनामा पछिल्लो वर्ष युरोपका क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानिया जस्ता देशमा जानेको सङ्ख्या पनि बढ्दो रहेको उहाँले जानकारी दिनुभयो ।

चालु आवमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या आठ लाख पुग्ने अनुमान गरिएको छ । चालु आवको साउन १ देखि असार १६ सम्म सात लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् । जुन सङ्ख्या अहिलेसम्मकै धेरैले श्रम स्वीकृति लिएका हुन् । विभागले आव २०५०/५१ यताको वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएको छ । त्यसयता प्रत्येक वर्ष तीनदेखि चार लाखको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जान थालेका थिए । २०७२ सालको भूकम्पपछि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अझ बढ्यो । आव २०७२/७३ मा छ लाख ४० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएको तथ्याङ्क विभागसँग छ ।

आव २०७३/७४ मा छ लाख ४२ हजारले अन्तिम श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार आव २०७३/७४ मा छ लाख ४२ हजार ८५९ जनाले स्वीकृति लिएका थिए । त्यसपछि २०७४/७५ मा छ लाख १२ हजार ६८५ जना र २०७५/७६ मा पाँच लाख आठ हजार ८२८ जनाले श्रम रोजगारीका लागि स्वीकृति लिएका थिए ।

उक्त वर्ष विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा गिरावट आएको थियो । कोभिडकै कारण आव २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको थियो । त्यो वर्ष एक लाख ६६ हजार ६९८ जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका थिए । कोभिडका कारण अन्तर्राष्ट्रिय उडान बन्द तथा विभिन्न मुलुकले आप्रवासी प्रवेशमा कडाइ गर्दा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको थियो ।

कोभिडको असर कम हुँदै गएपछि आव २०७८/७९ यता वैदेशिक रोजगारीमा जानेको सङ्ख्या फेरि बढ्न थालेको हो । गत वर्ष छ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा चालु आवको पहिलो साढे ११ महिनामा एक लाख १० हजार बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् ।

श्रम स्वीकृति लिएर प्रत्येक महिना ६० हजारभन्दा बढी युवा विभिन्न मुलुकमा पुगेको तथ्याङ्क छ । तथ्याङ्क अनुसार गत फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ८४५ जना गएको देखिन्छ । नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् । आन्तरिक श्रम बजारमा सबैले रोजगारी पाउने अवस्था छैन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024