नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकसँग श्रम सम्झौता गर्छौंः मन्त्री भण्डारी

3 Jul, 2023

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं स्थापना वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रम मन्त्री भण्डारीले यस्तो बताए।

उनले पछिल्लो समय धेरै देशहरुमा नेपाली कामदार जान नपाउने व्यवस्था रहेको भन्दै अब सरकारले दौंत्य सम्बन्ध भएका देशहरुमा श्रम सम्झौता गरी श्रमिकहरु जान पाउनुपर्ने मान्यता अनुसार काम गर्न लागेको बताएका हुन्।

मन्त्री भण्डारीले सरकारले त्यही अनुसार विभिन्न देशहरूसँग प्रक्रिया अगाडि बढाएको उल्लेख गरे। उनले घरेलु कामदारका विषयमा धेरै कुराहरु उठेको भन्दै वैदेशिक रोजगारीमा जाने घरेलु कामदारलाई कसरी सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको सुनाए।

उनले सरकारले व्यापार व्यवसाय गर्न नहुने भन्दै व्यवसायीहरुलाई व्यापार गर्न नियन्त्रण गर्न नहुने बताए। उनले म्यानपावरहरुले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग लिने १० हजार सेवा शुल्कको औचित्य आफैँले नबुझेको बताए। १० हजार सेवा शुल्क श्रमिकहरुसँग लिने विषयमा सरकारले छानबिन गर्ने उनको भनाइ थियो।

उनले वर्तमान सरकारले यस्ता विभिन्न समस्याहरू राम्रोसँग बुझेको र समस्याहरुको पहिचान गरिरहेको बताए। वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटोमा सरकार लागेको उनले सुनाए।

नेपालबाट अब बिना सीपको श्रम शक्ति नपठाउने अठोट सरकारले लिनुपर्ने अवस्था आएको उनको तर्क थियो। विदेशमा नेपालबाट पठाउने श्रमिकहरुलाई केही न केही सीप सिकाएर मात्रै पठाउन आवश्यक रहेको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024