नेपालमा मेडिकल ‘पास’ विदेशमा ‘फेल’

25 Jan, 2024

वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेत जाँदा एजेन्टले सिधै हातमा थमाइदिएको मेडिकल पास कागजले अन्ततः एक महिलालाई बेरोजगार बनाएर फर्काएको छ। विदेश पुगेपछि गराइएको साँच्चिकैको मेडिकल परीक्षणमा फेल भएपछि उनलाई स्वदेश फर्काइएको हो।

गत कात्तिकमा स्वदेश फर्काइएकी रुकुमकी खिमा डाँगीलाई एजेन्टले नक्कली मेडिकलका आधारमा विदेश पठाएका थिए। एजेन्ट ओमप्रकाश बाठा मगरले वैदेशिक रोजगारीको क्रममा कुवेतमा राम्रो सेवा, सुविधा र तलबको प्रलोभन देखाएर उनलाई विदेश पठाएका थिए।

कुवेतमा रोजगारीको आश्वासन देखाएर मगरले ९० हजार रूपैयाँ पहिल्यै लिएको डाँगीले बताइन्। एजेन्टमार्फत उनी बसुन्धारास्थित ओमेगा इन्टरनेसनल प्रालि म्यानपावर कम्पनीमा पुगेकी थिइन्। कुवेत पुर्‍याउन ओमेगा म्यानपावर कम्पनीले थप अर्को एक लाख ४० हजार रूपैयाँ आफूबाट लिएको उनले बताइन्।

कुवेतकै लागि एजेन्ट र म्यानपावरलाई दुई लाख ३० हजार डाँगीले बुझाएकी थिइन्। ‘एजेन्ट मगरले सुरुमा ९० हजार चाहिन्छ। त्यसपछि सबै कागजात तयार हुन्छ भन्यो,’ उनले भनिन्, ‘मेडिकल गराउँछ भन्ने थाहा नै थिएन। एजेन्टले नै ओमेगा म्यानपावरसम्म पु¥याएर थप एक लाख ४० हजार रूपैयाँ बुझाएपछि कुवेत आरामले जान पाउँछ भने। उनीहरूले तयार गरेको कागजात र भिसा अनुसार कुवेत पुगेकी थिएँ। तर, हप्तादिनमै नेपाल फर्किनु पर्‍यो।’

‘कुवेत जाने भिसा आयो,’ एजेन्टसँगको कुरा सम्झदैँ उनले भनिन्, ‘तपाई फलानो दिनमा उड्नु हुन्छ। सोही दिनमा सबै कागजात दिउँला भने। बाटैमा भेटेर दिए पनि। तर, कुवेत पुगेपछिमात्रै थाहा भयो मेडिकल चेकजाँच पनि गर्नुपर्ने रहेछ भनेर। त्यहाँ मेडिकल गराउँदा त फेल भए। मलाई नेपाल फर्कायो।’

‘मेरो शारिरीक अवस्था नै ठिक थिएन् भने एजेन्ट र म्यानपावर मिलेर विदेश किन पठायो ?’ डाँगीको प्रश्न छ, ‘शरीरको जाँच नै नगरेर नक्कली मेडिकल पास कागजात बनाएर लाखौं रूपैयाँ लियो। कुवेत जानुपूर्व नै मेडिकल फेल गराएको भए त्यत्रो पैसा फस्ने थिएन।’

मगर एजेन्टले पैसा जसरी पनि जम्मा गर्नु, कुवेतमा राम्रो कमाइ हुन्छ भनेकै भरमा आमाबुबाले जम्मा गरेको वृद्धाभत्ता र छरछिमेकमा सरसापट गरेर एजेन्ट र ओमेगा म्यानपावरलाई पैसा बुझाएको पीडित डाँगीले बताइन्। कुवेत जान पाँचजनाबाट लिएको ऋणको भारी उनमाथि छ। उनी विदेश जान लिएको ऋणबाट खर्चेको रकम उठाउन ठाउँठाउँमा भौंतारिइरहेकी छन्।

‘कमाउने उद्देश्यले ऋण गरेरै कुवेत पुगेकी थिएँ,’ उनले भनिन्, ‘आखिरी कमाउन नलेखेको रहेछ। एजेन्टले मलाई भन्दै नभनी मेडिकल पासको कागजपत्र लिएर आएको रहेछ। त्यही कागजपत्र म्यानपावरलाई बुझाएको हो। त्यसैको आधारमा कुवेत पुगे।’

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले मेडिकल जाँच नगरी नक्कली प्रमाणपत्र बनाएर पठाउने ऐजेन्टसमेत गाउँघरमा सक्रिय रहेका छन्। उक्त म्यानपवारले कुवेत पुगेको हप्तादिनमै हवाई टिकट काटेर स्वदेश फिर्ता गरेको पीडित डाँगीले बताइन्। ओमेगा म्यानपावरले ९० हजार फिर्ता दिएको र बाँकी रहेको ४० हजार हवाई टिकटका लागि परेको जवाफ आफूले पाएको उनले बताइन्। एजेन्ट भने सम्पर्कविहिन रहेको उनले बताइन्।

वैदेशिक रोजगारीमा बेथितिलाई बढाउन सरकारी निकायमै दर्ता रहेका म्यानपावर कम्पनीहरू पनि रहेको पीडितहरू बताउँछन्। म्यानपावर सञ्चालकबाटै धेरै युवाहरू ठगीमा परेका छन्। ‘वैदेशिक रोजगारी विग्रिनुमा सबैभन्दा ठूलो हात सरकारको हो,’ एक पीडितले भने, ‘हामी म्यानपावर कम्पनीबाटै ठगिनु परेको छ। विदेश जान चाहनेलाई म्यानपावर कम्पनीहरूले भनेअनुसारको पैसा बुझाउँदा पनि वैदेशिक रोजगार सुरक्षित छैन।’

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्णप्रसाद पंगेनीका अनुसार वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीहरू उद्धार गर्ने गतिलो संयन्त्र हामीसँग केही छैन। विदेशमा अप्ठेरोमा परेका नेपाली युवा दूतावाससम्म आइपुगेमा अथवा पीडित आफैंले उद्धारको अपिल गरेमा दूतावाससँगै समन्वय गरेर उद्धार हुने उनले बताए।

‘विदेशमा दुख पाएर बसेका महिला पुरुषलाई सोझै काम गर्ने स्थानमै गएर सहजै स्वदेश ल्याउन गाह्रो छ,’ उनले भने, ‘अहिले भिजिट भिसाको दुरूपयोग बढेको छ। मानिसलाई विदेश जानु पनि परेका छ, साथै अप्ठेरोमा पनि पर्ने गरेका छन्।

खाडी मुलुकका केही देश साउदी अरब, कुवेत र ओमान जस्ता देशमा घरेलु कामदारका रूपमा प्रतिबन्ध लगाए पनि त्यहाँ दिनप्रतिदिन नेपाली पुगिरहेका छन्। जसले गर्दा धेरै समस्यामा पर्ने गरेका छन्।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024