नेटवर्किङ कारोबार गर्ने ग्लोबल ओरियन्सका आठ जना प्रतिनिधि टीकापुरबाट पक्राउ

21 Mar, 2023

एकिन्द्र तिमिल्सेना

टीकापुर, चैत ६ गते । आकर्षक तलब पाइने जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ ।

ठगीको रहस्य सार्वजनिक भएपछि एक महिनाको लागि बिदा भयो भन्दै यहाँको कार्यालय आइतबारदेखि नै बन्द गरिएका छन् तर बाहिरबाट ल्याएर होस्टेलमा राखिएकाहरू भने अब पैसा पाइन्छ कि भनेर आफू ठगिएको बताउन थालेका छन् । अछाम ढकारीका चिरञ्जीवी बुढाका अनुसार नौ वटा जति होस्टेल रहेकोमा धेरैजसोलाई भगाइसकेको र केही मात्रै होस्टेलमा छन् ।

समाचार प्रकाशनमा आएपछि प्रहरीले सक्रियताले पीडितहरू पनि खुल्न थालेका छन् । ‘आफ्नै मामाले दुई जना कर्मचारी चाहिएको र मासिक अठार हजार तलब पाइन्छ नौ महिनामा बाइक चढ्ने लोभ देखायो, यहाँ आएर दुई दिनको तालिम पाएपछि एक लाख बीस हजार तिरे तीन महिनामा चौथो श्रेणीमा पुगे ४५ हजार पाइन्छ भनेपछि सहकारीबाट एक लाख बीस हजार ऋण लिएर बुझाएँ,’ सुर्खेतकी एक युवा भन्नुहुन्छ, ‘चार महिना पुगेपछि दुईचार जना अरू ल्याएपछि मात्रै हुन्छ भनेपछि रोइरोइ बसेकी छु सधैँ काम भएन भनेर यातना दिने गरेको छ पढाइ पनि बिग्रिसक्यो घर जाने माहोलै छैन मलाई मृत्युको बाटोतिर डोर्याउँदै छ ।’

दैलेख भगवतीकी पुष्पा भण्डारीले आफ्नै साथीले तलब पाइन्छ भन्दै बोलाएको र टीकापुर पुगेपछि ४० हजार फसेको र तलब माग्दा आफ्नो एसइईको मार्कसिट कब्जा गरिदिएको गुनासो गर्नुभयो । राजापुरकी रेजिना चौलगाईंले घरमा बसेका बेला मासिक १८ हजारमाथि तलब पाइने भनेपछि बुझ्न भनेर आउँदा फसेको र कमाइ राम्रो हुने भनेपछि मासिक पाँच प्रतिशत ब्याजमा एक लाख बीस हजार बुझाएको चार महिनापछि चार हजार रुपियाँ मात्रै पाएको बताउनुहुन्छ ।

ग्लोबलले ठगीरहेको सार्वजनिक भएपछि जागिरका लागि बोलाइएका व्यक्तिहरू फर्किन थालेका छन् । स्वामीकार्तिक बाजुराका पवन विक बेलाबेला अफर गरेर पैसा कमाए त भैगो किन पढ्नुपर्यो भनेर केटीहरुले पटक पटक फोन गर्ने गरेकाले बुझ्न आएको तर फसाउने रहेछन् भनेर थाहा पाएर फर्केको बताउनुहुन्छ ।

के हो ग्लोबल ओरियन्स नेपाल ?

केही वर्ष अघि ओरियन्स बहुराष्ट्रिय कम्पनी भन्दै भारतबाट नेपालमा नेटवर्किङ व्यवसाय गरिरहेको थियो । यसै बेला भारतबाट नेपाल पसेको थियो । यस्तो व्यवसाय गरिरहेका बर्दियाका चार जना २०७६ कात्तिकमै बर्दियामा पक्राउ परेका थिए । बर्दियामा काम गर्ने चार जना पक्राउ परे पनि कैलालीमा भने टीकापुर साजन चौधरीले आफूमुनि हाँगा बनाएर दुई जना सन्तोष चौधरी र मनोज चौधरीलाई ल्याएपछि निरन्तर दिएको बर्दियाका पत्रकार निर्मल घिमिरे बताउनुहुन्छ । वि.सं. २०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी नुवाकोटका वसन्त पण्डितका नाममा ग्लोबल ओरियन्स नेपाल दर्ता भएपछि नेपाली युवाहरूलाई नेपालमै फसाउन सजिलो भएको छ ।

पहिले भारत र पछि टीकापुरलाई कार्यक्षेत्र बनाएका साजन चौधरी अहिले ग्लोबल ओरियन्स नेपालका नाममा नेटवर्क चलाइरहेका छन् । साजन चौधरीका अनुसार टीकापुरमा ८०० देखि एक हजार युवाहरू यसमा संलग्न छन् । ग्लोबलका पाँचौँ श्रेणीका विक्रेता बताउने जितेन्द्र विक साजन चौधरी यहाँको प्रमुख र नवौँ तहको डायमन्ड लिडर भएको बताउनुहुन्छ । बेरोजगार र सोझा युवाहरूलाई आकर्षक तलब र बोनस पाइने प्रलोभन देखाएर फसाउने र फसेका युवालाई नयाँ मानिस बनाए बोनस बढ्ने प्रलोभनमा फसाउने सिलसिला बढ्दै छ ।

‘नेपालमा पढेर केही हुन्न व्यवसायमा लागे सम्पन्न भइन्छ’ भन्दै बेरोजगार युवाहरूलाई फसाउने र अरूलाई थप्दै जानुपर्ने ४० हजार तिरेर केही नपाएकी गीता मल्लको भनाइ छ । ग्लोबलले दुई दिनको तालिम दिएपछि १५ हजार, ४० हजार र १ लाख २० हजारको श्रेणी बताउने र माथिल्लो श्रेणीको पैसा तिरे छिटै प्रगति हुने लोभ देखाउने गरेको पीडितहरू बताउँछन् ।

टीकापुर भेटिएका अधिकांश युवाले भने ४० हजारबाट सुरु गर्ने गरेका छन् भने सक्नेले तेस्रो श्रेणीको एक लाख २० हजार नसक्नेले १५ हजारको पहिलो श्रेणीको रकम बुझाउने गरेका छन् । सञ्चालक साजन चौधरिले भने झैँ एक हजार जनाले दोस्रो श्रेणीको ४० हजार मात्रै तिरेका भए पनि यो रकम चार करोड हुन आउँछ । यहाँ सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट युवाहरू आएको देखिन्छ । ग्लोबलले कैलालीका भजनी, लम्की, धनगढीलगायतका ठाउँमा पनि शाखा विस्तार गरी यही शैलीको व्यापार गरिरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024