नुवाकोटमा नागरिकता त्याग्नेहरू बढे

13 May, 2024

नुवाकोट : विदेशमा स्थायी बसोबास गरिहेकामध्ये नुवाकोटमा नागरिकता त्याग्नेहरू बढेका छन्। विभिन्न देशमा पुगेकाहरूले नेपाली नागरिकता त्यागेका हुन्।

हालसम्म नुवाकोटमा ६८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। ३८ जना पुरुष र ३० जना महिलाले नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार २०८१ साल वैशाखको अन्तिम सातासम्म ६८ जनाले विदेशी नागरिक बन्नका लागि नेपाली नागरिकता त्याग गरेको उल्लेख छ। महिलाका तुलनामा पुरुषको संख्या बढी छ।

नेपालमा बेरोजगार, राजनीतिक अस्थिरता, भ्रष्टाचार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउँदै विदेशी मुलुक पुगेका नेपाली नागरिक उतै बस्न चाहेको पाइएको शिक्षाप्रेमी विष्णुप्रसाद पनेरुको भनाइ छ। १२ स्थानीय तह रहेको नुवाकोटमा अधिकांश युवायुवती रोजगार र अध्ययनका लागि भन्दै विदेशिने गरेका छन्।

सरकारले आफ्नो नागरिकको शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारको ग्यारेन्टी गर्न नसक्नु विदेश पलायनको प्रमुख कारण रहेको विदुर नपा ९ नुवाकोटबाट १५ वर्ष अघि वेलायत पुगेका युवा कपिल रिमालको भनाइ छ। उनले अगाडि भने, ‘भष्ट्राचार नियन्त्रण, शिक्षा, स्वास्थ्य रोजगारका लागि यस्तै अवस्था रहीरहे अझै धेरै युवाहरू विदेशिन वाध्य हुनेछन्। अब युवा शक्ति स्वदेशै रमाउने राज्यको नीति बनाइनुपर्छ।’

हालः अमेरिका, क्यानडा, बेलायत, हङकङ, बेल्जियम, युगाण्डा, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, फिनल्याण्ड, जापान, न्यूजील्याण्ड, पोर्चुगल, स्पेन, इटाली, केन्यामा वस्दै आएका छन्। डीभी, पीआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग विवाह गरी बसेकाले पनि नागरिकता त्याग गर्ने गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको भनाइ छ।

प्रजिअ अधिकारीका अनुसार मुख्यतः गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिकता लिन र नेपालमै नबस्ने लक्ष्य लिएर नागरिकता परित्यागको गर्नेहरु बढेका हुन् । सवैभन्दा वढि नागरिकता त्याग गर्नेहरको संख्या गत वर्षको असोजदेखि धेरै रहेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024