धनगढी उपमहानगरपालिका– १, शान्तिनगरका ललित कठायत धनगढीको खुला मञ्चमा ८ फागुनदेखि मोबाइल मर्मतसम्बन्धी नि:शुल्क तालिम लिइरहेका छन् । सीप मेला तालिममा सहभागी भएको २७ दिनसम्म उनले मोबाइल मर्मत गर्ने सामान्य सीप हासिल गरिसकेका छन् ।
२३ वर्षीय कठायत सीप सिक्न पाएपछि दंग छन् । र, भविष्यमा रोजगार पाउने विश्वासमा छन् । ‘भारतबाट फर्केपछि नेपालमा धेरैतिर काम खोजेँ, तर पाइनँ । तालिम लिइसकेपछि अब कतै न कतै रोजगारी पाइएला भन्ने आशामा छु,’ उनले भने ।
परिवारको आर्थिक परिस्थितिका कारण उनले नौ कक्षामा पढाइ छाडेका थिए । तीन वर्ष भारतमा मजदुरी गरे । गत वर्ष उनी घर आएका थिए । आमा र दुई भाइबहिनीसहित परिवारको आर्थिक दायित्व उनको काँधमा छ ।
सीप सिकेर केही समय अर्काकामा काम गर्ने र लगानी रकम जुटाएपछि आफै मोबाइल मर्मत पसल सञ्चालन गर्ने उनको योजना छ । ‘तालिमपछि रोजगारीका लागि धनगढी उपमहानगरले समन्वय गरिदिने भनेको छ,’ कठायतले भने ।
अछामको मंगलसेन नगरपालिकाका ३४ वर्षीय गोकर्ण बोगटी वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष मलेसियामा बसे । तीन वर्षअघि घर फर्केका उनले त्यसयता आफ्नो ठाउँमा काम खोज्ने धेरै प्रयास गरे । आफैं केही गर्ने प्रयास गरे पनि हातमा सीप थिएन । मलेसियामा एसी बनाउने कम्पनीमा काम गरेर कमाएको पैसा पनि बिहेबारी र घरखर्चमा सकिएको उनले बताए ।
अहिले धनगढीमा प्लम्बिङको तालिम लिइरहेका उनी सीप सिकेर स्वरोजगार बन्ने आसमा छन् । ‘हातमा सीप भएपछि रोजगारी नपाए पनि आफैँ केही गर्न सक्छु भन्ने आँट आएको छ,’ बोगटी भन्छन्, ‘तालिम सकेर आफ्नै ठाउँमा प्लम्बिङको काम गर्छु ।’ घरमा पाइप, धारा जोड्ने, सेफ्टी ट्यांकीमा पाइप फिटिङ गर्नेलगायत काम सिकेको उनले बताए ।
बेतबाँसका सामग्री निर्माणको तालिम लिइरहेकी अछामको साँफेबगरकी लक्ष्मी चन्द शाह आफूले सिकेको सीप आयआर्जनको स्रोत बन्नेमा आशावादी छिन् । उनले तालिमबाट आफू बेतबाँसबाट जुत्ताचप्पल राख्ने ¥याक, ह्यांगर, मुढा, टोकरी, फुलदानीलगायत सामग्री निर्माण गर्न सक्ने भएको बताइन् । ‘तालिम सकिएपछि काम खोज्छु, काम नपाए आफैँ घरमा सामान बनाएर बेच्छु,’ उनले भनिन्, ‘अब पहिलेजस्तो बेरोजगार भएर खाली बस्नुपर्दैन ।’
पाँच वर्ष भारतमा काम गरेका धनगढी– १२, जुगेडाका सुरत बोगटी वाइरिङको तालिम लिएपछि स्वदेशमै काम गर्ने योजनामा छन् । उनले दैनिक ६ घण्टा वाइरिङको तालिम लिइरहेका छन् । ‘भारतबाट फर्केपछि यहीँ कामको खोजीमा थिएँ, फेसबुकबाट तालिम हुन लागेको थाहा पाएँ,’ उनले भने, ‘घरको वाइरिङ गर्न सक्ने भएको छु, अब काम खोज्न भारत जान्नँ । यहीँ वाइरिङको काम गर्छु ।’
सुदूरपश्चिमका ३९ पालिकाका ५३९ महिला र ५०१ पुरुष गरी एक हजार ४० जना युवाले धनगढीको खुला मञ्चमा सीपमूलक तालिम लिइरहेका छन् । धनगढी उपमहानगरपालिकाले सुरु गरेको सीप मेलामा २९ वटा विधामा तालिम सञ्चालन भइरहेको छ । बजारमा जनशक्ति आवश्यकताका आधारमा तालिमका विधा छनोट गरिएको छ । दुई सिफ्टमा सञ्चालन भइरहेकोे तालिम चैत दोस्रो सातासम्म सञ्चालन हुनेछ ।
बेरोजगार युवालाई सीपमूलक तालिम दिएर रोजगार तथा स्वरोजगार बनाउन रोजगार मेलाको सुरुवात गरिएको धनगढी उपमहानगरका मेयर गोपाल हमालले बताए । सीपमूलक तालिमले विभिन्न क्षेत्रमा आवश्यक जनशक्ति तयार हुने र भारतबाट जनशक्ति आयात गर्नुपर्ने अवस्थामा कमी आउने उनले बताए । ‘अहिले युवाहरू सबैको गन्तव्य विदेश छ । कुनै तहको सरकारले केही गरेन भन्ने छ,’ उनले भने, ‘तीनै तहका सरकार मिलेर सीपमूलक तालिममार्फत युवाहरूलाई स्वरोजगार र रोजगारसँग जोड्न आवश्यक छ ।’
तालिम लिएकालाई उपमहानगरले रोजगारदातासँग जोडिदिने
सीप तालिम लिएर रोजगारी गर्न चाहनेलाई धनगढी उपमहानगरपालिकाले रोजगारदतासँग जोड्ने भएको छ । उपमहानगरका रोजगार संयोजक चन्द्र महराका अनुसार होटेल, उद्योग र व्यावसायिक प्रतिष्ठानबाट ६५६ जनाको माग आइसकेको बताए । ‘तालिम सकिएपछि रोजगारदातासँग ‘कनेक्ट’ गराइदिन्छौँ,’ उनले भने ।