निर्माण श्रमिकको स्वास्थ्य जाँच: निःशुल्क शिविरले ल्यायो राहत

15 Apr, 2025

पाल्पामा निर्माण क्षेत्रमा काम गर्ने ५५० श्रमिकको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ। भवन तथा बाटो निर्माणकर्मी सङ्घले शिविर आयोजना गरी यो सेवा प्रदान गरेको हो।

शिविरमा स्वास्थ्य जाँच गराउन पाउँदा श्रमिकहरू खुसी देखिए। रामबहादुर गहालेले भने, ‘कामको व्यस्तता र पैसाको अभावले अस्पताल जान नसकेका बेला यो शिविरले हामीलाई ठूलो अवसर दिएको छ।’ उनले आफूले स्वास्थ्यप्रति बेवास्ता गरेको महसुस भएको बताए। उनको बुझाइ छ, यदि राज्यले श्रमिकको निःशुल्क उपचारको व्यवस्था ग¥यो भने अकालमा ज्यान गुमाउने अवस्था कम हुनेछ।

शिविरको उद्देश्यबारे सङ्घका अध्यक्ष सुरेश कर्माचार्यले भने, ‘धेरै श्रमिक दैनिक काममा व्यस्त हुँदा आफ्नो स्वास्थ्य अवस्थाबारे अनविज्ञ हुन्छन्। रोग जटिल भएपछि मात्र अस्पताल पुग्ने बानी छ। त्यसैले हामीले सचेतनासहित स्वास्थ्य जाँचको अभियान चलाएका हौँ।’ उनले धेरैजसो श्रमिकमा कुनै न कुनै स्वास्थ्य समस्या रहेको बताए।

कर्माचार्यका अनुसार, ‘अधिकांश श्रमिकलाई उच्च रक्तचाप र मधुमेह भएको थाहै हुँदैन। जाँच गर्दा यस्ता समस्या देखिएका छन्। यस्तो अवस्थालाई रोक्न हामीले स्वास्थ्य जाँच र सचेतना कार्यक्रम सञ्चालन गरेका हौँ।’ सङ्घले अब प्रत्येक छ–छ महिनामा स्वास्थ्य जाँच गर्ने र औषधि खानेहरूको नियमित फलोअप गर्ने योजना बनाएको छ।

स्वास्थ्यकर्मीको टोलीले विभिन्न ठाउँमा पुगेर जाँच गरेको छ। जाँचपछि आवश्यक औषधि र परामर्श पनि दिइएको छ। युनाइटेड मिसन अस्पतालका डाइबेटिज काउन्सिलर दीपक बिसीले भने, ‘जाँच गरिएकामध्ये ५० प्रतिशतमा उच्च रक्तचाप र ३० प्रतिशतमा मधुमेह देखिएको छ।’ उनका अनुसार अन्य श्रमिकमा ढाड, कम्मर, गोडा दुख्ने र छालासम्बन्धी समस्या पनि भेटिएको छ। उनले थपे, ‘अल्कोहलको बढी सेवन गर्नेमा उच्च रक्तचाप र मधुमेहको समस्या धेरै देखिएको छ। हामीले औषधिसँगै अल्कोहल नखान र यसको जोखिमबारे परामर्श दिएका छौँ।’

सङ्घका उपाध्यक्ष नीलकण्ठ देवकोटाले सबै श्रमिकको घर, टोल र कार्यस्थलमै पुगेर जाँच गरिएको बताए। सङ्घका सचिव हुमराज बस्यालको तर्क छ, ‘धेरैलाई आफूलाई मधुमेह वा रक्तचाप छ भन्ने थाहै थिएन। जाँचपछि मात्र समस्या थाहा भयो। यसले उनीहरूलाई जोखिमबाट बच्न सचेत बनाएको छ।’ यो शिविरले दैनिक गुजारा चलाउन मुस्किल पर्ने श्रमिकलाई ठूलो राहत दिएको उनको विश्वास छ। रासस

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024