निर्माणाधीन बेलिब्रिज भाँचियो, २ कामदारको मृत्यु

21 Apr, 2023

हिक्मतबहादुर नेपाली

दैलेख : जाजरकोट र रुकुमपश्चिम जोड्न भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ। त्यस क्रममा दुई जना कामदारको ज्यान गएको रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले बताए। मृत्यु हुनेमा भारतको बहराइज मधुवापुरका ४० वर्षीय पुर्षोत्तम राजकुमार भनिने पुर्षोत्तमकुमार गौतम र ४० वर्षीय धर्मेन्द्र गौतम छन्।

बर्दियाका ३८ वर्षीय गोपाल हरिजन, भारतको बहराइज मधुवापुरका ६० वर्षीय राजकुमार हरिजन र २५ वर्षीय सञ्जयकुमार गौतम गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँकेतर्फ लगिएको छ।

गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको डीएसपी भट्टराईले बताए। उनका अनुसार अन्य चार जना सामान्य घाइते छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। ‘बेलिब्रिज पुल निर्माणकै क्रममा भाँचिएको हो। मृतक, घाइते सबै कामदार हुन्,’ उनले भने।

पुलमा कामदार र स्थानीयवासी हिँडिरहेका बेला घटना भएको हो। निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणाधीन अवस्थामै भाँचिएको स्थानीयवासीको आरोप छ। पुल निर्माणमा लापरबाही गर्ने ठेकेदार कम्पनीमाथी छानबिन गर्नुपर्ने माग उनीहरूले गरेका छन्। त्यहाँ पुल बन्दा भेरी करिडोर (जाजरकोट–डोल्पा सडक खण्ड)अन्तर्गत जाजरकोटको नलगाड–१२ तल्लुबगर र रुकुम पश्चिमको आठबिसकोट–४ गोतामकोट जोडिन्छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024