नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालक पक्राउ

24 Jun, 2024

काठमाडौं : नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान रहेका छन्।

काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

गुरुङले आर्थिक अवस्था कमजोर भएका विशेषगरी ग्रामीण क्षेत्रका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने प्रलोभन देखाई काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको छ।

नाबालिकालाई काठमाडौं झिकाएपछि उनले काठमाडौंको टोखा नगरपालिका-११ मा सञ्चालन गरेको सनफ्लावर स्पा सेन्टरमा मासिक १० हजार तलब दिने भनि स्पा सेन्टरमा पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले बताए।

उनका अनुसार सनफ्लावर स्पा सेन्टरमा वेश्यावृत्तिमा लगाई सकेपछि नाबालिकाहरुलाई स्याङतानले ठमेलमा ए वान स्पा सेन्टरमा ल्याएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024