दार्शनिक चाणक्यले उहिल्यै भनेका थिए, ‘जहाँ रोजगारी हुँदैन र सुरक्षा पनि छैन, त्यो देश छोडेकै राम्रो हुन्छ।’ नेपालीहरूले धमाधम देश छोडिरहेका छन्, चाहे उनीहरूले चाणक्यले भनेको पढेका होऊन् या नहोऊन्। तर, कारण भने उनैले भनेको हो, रोजगारी छैन र सुरक्षा पनि छैन। सुरक्षा भनेको केवल भौतिक सुरक्षा होइन। सुरक्षाले आर्थिक र सामाजिक सुरक्षा पनि जनाउँछ। भविष्यको सुरक्षा पनि बताउँछ। पक्कै पनि पछिल्लो समय जुन प्रकारको निराशा नेपालीमा व्याप्त छ, त्यसैको असर नेपालीहरू धमाधम आप्रवासनमा गइरहेका छन्। आप्रवासनको तीब्रतर गतिले भोलिको नेपाल, नेपालमै रहने संकेत प्रष्ट गर्छ। भोलिका इन्जिनियर, डाक्टर, नर्स, प्लम्बर, शिक्षक आदि सबै विदेशतिर लागेका छन्। खासमा अहिले जति पनि नागरिक रोजगारी, शिक्षा वा अरू जुनसुकै कारण विदेशिएका छन्, तिनीहरू विदेश गएका होइनन् देश छाडिरहेका हुन्।
देश भन्नु भूगोल वा सरहदी सीमा होइन। सबैभन्दा पहिला देश भनेको नागरिक हो। २०५८ देखि २०७८ सम्मको अवधिमा विदेशमा रहेका नेपालीको संख्या ७.५ लाखबाट २२ लाख नाघेको छ, जुन कुल जनसंख्याको ३.३ प्रतिशतबाट ७.९ प्रतिशतभन्दा बढी भएको छ। धेरै रोजगारीको सिलसिलामा आप्रवासनमा छन्। कतिपय विद्यार्थी भएर गएका छन् त थुप्रै दक्ष जनशक्ति इन्जिनियर, डाक्टरसमेत रोजगारीका लागि पलायन भएका छन्। खाडी र मलेसियालगायत देश जहाँ विदेशीले नागरिकता पाउन मुस्किल छ, त्यहाँबाहेक देश गएका नेपाली फर्किन चाहेको देखिन्न। मिल्थ्यो भने खाडीमा पनि उतै बसिरहन चाहने मनोदशा नेपालीहरूमा देखिन्छ।
जबसम्म देशभित्रै रोजगारी, स्वरोजगारी र उद्यमशीलताको वातावरण बन्दैन, आप्रवासनको गति धिमा गर्न सकिन्न। आजको विश्वमा जुनसुकै देशबाट अवसरको खोजीमा अर्काे भूमि जाने चलन सामान्य रहे पनि नेपालको हकमा भने यहाँ व्याप्त अभाव नै हो, अव्यवस्था नै हो। त्यो अभाव केवल अर्थमा सीमित छैन। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न राज्यले ध्यान पुर्याउन सकेको छैन।
मुलुकमै सानोतिनो इलम गर्न पाउने अवसर भए पनि कुनै नेपाली परिवारसँग बिछोडिन पक्कै चाहन्थेन। तर देशलाई कुशासनले यसरी गाँजेको छ कि आशाका किरण मधुरा छन् र निराशा बाक्लो छ।