भवानी भट्ट
कञ्चनपुर — चार महिनाअघि रोजगारीका लागि भारतको हिमाचल पुगेका बाँके कोहलपुरका पुष्कर शाही दसैंतिहार मनाउन मंगलबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किए । दिउँसो सीमावर्ती बजार वनबासा पुगेका उनले नेपाल–भारत सीमासम्म ५ गुणा बढी सवारी भाडा तिर्नुपर्यो ।
वनबासादेखि नेपाल–भारत सीमासम्मको भाडा ५० रुपैयाँ हो । दसैंतिहारमा घर फर्किने नेपाली कामदारबाट अहिले सीमा क्षेत्रमा मनपरी भाडा उठाउने गरिएको छ । भारततर्फका सवारी चालकले पाँच गुणासम्म बढी भाडा असुल्ने गरेका छन् । ५० रुपैयाँ तिर्नुपर्नेमा अढाई सय बुझाएको शाहीले बताए ।
उनी प्रायः नेपालगन्जको रुपैडिया नाकाबाट आउजाउ गर्थे । पहिलो पटक गड्डाचौकीबाट आएका उनलाई स्थानीय भाडाका विषयमा जानकारी थिएन । ‘वनबासादेखि दुई जना आयौं, साढे ५ सय तिर्यौं,’ शाहीले भने, ‘कति भाडा पर्छ भनेर थाहा नहुँदा दुःख पाइयो ।’ सोमबार राति हरिद्वारबाट सार्वजनिक यातायात चढेर वनबासा पुगेका उनले ४ सय ९० रुपैयाँ भाडा तिरेका थिए । तर वनबासादेखि सीमानाकासम्म ८ किलोमिटर दूरीमा उनले त्यसभन्दा बढी भाडा तिरे ।
शाही जेठ दोस्रो साता रोजगारीका लागि हिमाचल पुगेका थिए । उनी बर्सेनि स्याउ टिप्ने सिजनमा हिमाचल पुग्छन् । दुई/चार महिना मजदुरी गरेर दसैंतिहारमा घर फर्किन्छन् । ‘दसैंतिहार मनाएर फेरि काममा फर्किन्छौं,’ उनले भने, ‘यो बाटोमा धेरै लुटपाट हुँदो रहेछ, अब उतै (रुपैडिया) बाट जान्छौं ।’ अछाम ढकारीका गंगा बुढाले पनि सीमा क्षेत्रमा दोब्बर भाडा तिरेको सुनाए ।
हिमाचलबाटै फर्किन लागेका उनले पनि ५० रुपैयाँ भाडा तोकिएको वनबासादेखि नेपाल–भारत सीमासम्म १ सय भारतीय रुपैयाँ तिरेका हुन् । साउन दोस्रो साता खेतीपातीको काम सकेर हिमाचल पुगेका उनी दुई महिना स्याउ टिप्ने काम गरेर घर फर्किन लागेका हुन् । ‘खेती भित्र्याउने बेला पनि भयो, दसैंतिहार पनि आयो,’ उनले भने, ‘अलिअलि कमाएर घर फर्किन लागे पनि बाटोमै खर्च हुन थाल्यो ।’
गड्डाचौकी नाकामा यतिबेला दसैंतिहारका लागि घर फर्किनेको भीड बढ्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा पुगेका नेपाली चाडबाड मनाउन घर आउन लागेका हुन् । तर फर्किंदा बाटोमै भाडामा ठगिने तथा नशालु पदार्थ खुवाएर लुटिनेलगायतका घटना भइरहन्छन् । लामो दूरीको यात्राका क्रममा भन्दा पनि सीमानाकाको छोटो दूरीका भाडामा यात्रु बढी ठगिन्छन् । छोटो दूरीमा चल्ने मोटरसाइकल, अटोरिक्सा र साना सवारी चालकहरूले मनपरी भाडा असुल्ने गरेका हुन् । तर यसरी ठगिनेहरू प्रहरीलाई खबर गरे सोधपुछ गर्ने तथा अनावश्यक झमेला हुने डरका कारण उजुरी नगरेर घरतिरै जाने गरेका छन् । ‘कहीं पनि केही नभनी हिँड्यौं, प्रहरीकहाँ गए समय पनि बर्बाद हुन्छ,’ बुढाले भने, ‘त्यतिबेलासम्म त हामी घर पुगिहाल्छौं ।’
घर फर्किनेको चाप बढेसँगै नाकामा कडाइ गरिएको छ । प्रहरीले यात्रुको सुरक्षाका लागि हेल्प डेस्कसमेत स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत ल्याएर मंगलबारदेखि जाँच भइरहेको हो ।