काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको अपराधका आरोपित गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका हुन् ।
चौधरी सुनसरीका रहेको बुझिएको प्रहरी स्रोतले बताएको छ । त्यस्तै केसी काठमाडौंका हुन् । दुवैबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन । यही कसूरमा केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ‚ सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई यसअघि नै पक्राउ परिसकेका छन् ।
यसमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राई भने अहिलेसम्म फरार छन् । मंगलबार मात्रै प्रहरीले सातदोबाटोस्थित पूर्वउपप्रधानमन्त्री रायमाझीको घरमा छापा मारेको थियो ।