सिंगो विश्वले रस लिने फुटबलको महाकुम्भका कारण खाडी मुलुक कतार यतिखेर निकै चर्चामा छ । पश्चिमा मुलुकसँग स्पर्धामा उत्रिएर विश्वकप फुटबल खेलाउन सक्नु र एकदमै छोटो समयमा रंगशालासहितका पूर्वाधार तयार गर्न सक्नुले बाहिरी विश्वमा कतारको शानमान बढाएकै छ ।
तर, कतारमा कार्यरत कामदारको हक–अधिकारका सवालमा अन्तर्राष्ट्रिय श्रम संगठन, एमनेस्टी इन्टरनेसनलसहितले सर्तका रूपमा राखेका सेवासुविधाका न्यूनतम मापदण्डहरू पालनाका पक्षमा भने कतार अझै अनुदारै देखिन्छ । त्यसमा पनि, कतारसहितका खाडी मुलुकमा मृत्यु हुने नेपाली कामदारमध्ये झन्डै आधाजसोको मरणमा ‘प्राकृतिक र हृदयाघात’ कारण देखाएर उनीहरूको जीवन र श्रमको मूल्यमाथि खेलबाड हुँदै आएको छ, जुन अहिलेसम्म नउठेको अथवा उठाउन नचाहेको गम्भीर मानव अधिकारको सवाल हो ।
एउटा कामदार कतारसहितका खाडी भूमि जान श्रम स्वीकृतिकै लागि पनि नेपाल सरकारले तय गरेको सम्पूर्ण मेडिकल नापजाँच र निरोगिताको प्रमाणपत्र जरुरी हुन्छ । रोजिएको श्रम गन्तव्यमा पुगेपछि त्यहाँको भिसा प्रक्रिया (अकामा) पूरा गर्न त्यहाँ पनि मेडिकल परीक्षण भएकै हुन्छ । यसरी द्वितर्फी रूपमा ‘फिट एन्ड फाइन’ ठहर भएपछि मात्रै एउटा कामदारको भिसा प्रक्रिया, बसोबास र कामको टुंगो लागेको हुन्छ । तापनि उमेर हिसाबमा २५ देखि ४० वर्षबीचका कति कामदारको काममा गएको केही साता वा महिनामै कुनै रोगबिमारले नछोईकन ‘सुतेको सुत्यै मृत्यु’ भएको समाचार आउने गरेको छ । यता स्वदेशमा काम, श्रम वा गरिखाने अवसर नपाएरै ऋणधनका भरमा खाडी मुलुक पुगेको कामदारलाई एकाएक ‘एक्युट हार्ट फेलर ड्यु टु नेचुरल कजेज’ अर्थात् हृदयाघात भएको भनेर बाकसमा हाल्दै देशफिर्ती गराइन्छ । न कुनै पोस्टमार्टमसहितका विधिविज्ञानका परीक्षण हुन्छन्, न त परिवारलाई कुनै क्षतिपूर्ति दिइन्छ ।
उदाहरणका लागि, कतारमा मात्रै गत आर्थिक वर्षमा ३०१ जना नेपाली कामदारको मृत्यु भएकामा ‘कार्डियाक एरेस्ट’, ‘हार्ट एट्याक’ र ‘नेचुरल कजेज’ भनी बिनाअनुसन्धानका मेडिकल कागज लिएर बाकसमा घर फर्कनेको संख्या १३८ छ । कतार मात्र होइन, यसरी ‘मुसो–मराइ’ मा परी शव बनी फर्कने कामदारको हृदयविदारक चित्र साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स र मलेसियामा समेत उस्तै देखिन्छ । पछिल्लो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकालेको ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट–२०२०’ ले ‘स्वाभाविक मृत्यु’ (नेचुरल डेथ) लाई गम्भीर रूपमा लिइनुपर्ने भनेर सम्बोधन गरे पनि यो कागजी नीति व्यवहारमा कहीँकतै पुग्न सकेको छैन ।
गर्न र भन्नका लागि नेपालले कतारसहितका मुलुकमा श्रम सम्झौता पनि गरेको छ । श्रमिकको बसोबास, खानपिन, तालिम र सेवासुविधाका मापदण्डमा अनेक सर्त–बुँदा राखिएका छन् । सुरक्षित आप्रवासनका नाराहरू सधैं सुनिरहेझैं लाग्ने भए पनि यथार्थ भिन्न छ । कतारले विश्वकप फुटबलको आयोजना गर्नका लागि रंगशाला बनाउने क्रममा ज्यान गुमाएका समाचारलाई मात्रै मानव अधिकारको मुद्दा बनाइरहँदा गरिखाने उमेरका कैयौं कामदार ‘सुतेको सुत्यै’ भएका तथ्यहरू ओझेलमा पर्नु हुँदैन । कतार र अरू खाडी मुलुकमा किन यसरी आफ्ना नागरिक ‘सुतेको सुत्यै’ बनिरहेका छन् ? मृत्युवरण गर्नेमध्ये ४५ प्रतिशतले किन अत्यावश्यक मेडिकल परीक्षण र क्षतिपूर्ति पाउन सकिरहेका छैनन् ? अन्तर्राष्ट्रिय श्रम संगठनका बहस–पैरवी र हाम्रै श्रम सम्झौताका चरणहरूमा यो मानवीय सरोकार उठाउन किन सकिएको छैन ? यी प्रश्नहरूमा सम्बन्धित सबै घोत्लिनैपर्छ र मानव अधिकारका महत्त्वपूर्ण सवालमा यिनलाई पनि समेट्नुपर्छ । श्रम र श्रमिक अधिकार तथा आवाजका कुरा गर्दा ‘रिसिभिङ’ भन्दा ‘सेन्डिङ’ (कामदार लिनेभन्दा दिने) मुलुकको सर्त मान्य रहने (हुने) प्रबन्ध अन्यत्र रहिआएको छ । तर नेपाल, बंगलादेशसहितका कामदार निर्यातकर्ता दक्षिण एसियाली मुलुकको हाल भने उल्टो छ । श्रमिक वर्गले आफ्नै बलबुतामा पठाउने रेमिट्यान्समा आश्रित भैरहनुबाहेक उनीहरूको जीवन र श्रमबारे सोच्ने फुर्सद हाम्रो सरकारलाई भएको देखिन्न ।
नेपालको वैदेशिक रोजगारीको चित्र–चरित्र विगतभन्दा धेरै बदलिएको छ । पद्धति बसाल्ने र सकेसम्म पारदर्शिता देखाउने उपायमा वैदेशिक रोजगारीका व्यवसायीहरू पनि उद्यत छन् । तर, रोजगारी दिएको छ भन्दैमा मानव अधिकारका सामान्य पक्ष र पोस्टमार्टम नगरीकनै ‘स्वाभाविक मृत्यु’ (नेचुरल डेथ) देखाउने रोजगारदाताको कार्यशैलीमा भने अब प्रश्न गरिनैपर्छ । कतारमा जारी विश्वकप फुटबलको रोमाञ्चक क्षणमा सिंगो विश्व झुमिरहेका बेला हरेक दिन ‘चिसो मान्छे’ को प्रतीक बनेर घर फर्किरहेका कति नेपाली कामदारको यो नियतिमाथि बहस गर्दै कतार र खाडी मुलुकहरूमाथि प्रश्न उठाउने बेला भैसकेको छ । रंगशाला बनाउँदा कार्यस्थलमै ज्यान नगुमाए पनि श्रम–पसिनाको त्यही तनावका माझ बासस्थानमा सुतिरहेकै बेला मध्यरातमा कुनै कामदारले ज्यान गुमाएको छ भने त्यसको मेडिकल रिपोर्टले के भन्छ ? हृदयाघात मात्रै वा रंगशालाको कार्यस्थल तनावका कारण हृदयाघात ? यी प्रश्नहरू अब उठ्नैपर्छ ।