धनाढ्यहरूका गन्तव्य यूएई र सिंगापुर

21 Feb, 2025

सजना बराल

काठमाडौँ — पछिल्ला वर्षमा विश्वका धनाढ्य सिंगापुर र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत देशमा बसाइँ सर्ने क्रम बढेको छ । हालै सार्वजनिक एक प्रतिवेदनले न्यून करको सुविधा र राजनीतिक स्थिरता, अत्याधुनिक पूर्वाधारजस्ता कारणले यी देश धनाढ्यलाई आकर्षित गर्न सक्षम भएको जनाएको छ ।

बेलायतको हेन्ले एन्ड पार्टनर्सले वार्षिक रूपमा सार्वजनिक गर्ने ‘ग्लोबल मोबिलिटी रिपोर्ट’ को २०२५ संस्करणमा झन्डै १ लाख ४२ हजारजना मिलियनर्स अर्थात् डलर धनाढ्य आफ्ना देशबाट सिंगापुर वा यूएईमा सर्ने तयारीमा रहेको प्रक्षेपण गरिएको छ । हाई–नेट–वर्थ इन्डिभिजुअल भनिने यस्ता व्यक्तिको स्थानान्तरण यस वर्ष कीर्तिमानी स्तरमा हुने अनुमान गरिएको हो ।

सन् २०२४ मा हाई–नेट–वर्थ भएका १ लाख ३४ हजार व्यक्ति विशेषगरी यूएईको दुबईमा बसाइँ सरेको अध्ययनले औँल्याएको छ । यूएई र सिंगापुरले ठूलो संख्यामा आकर्षित गरेका यस्ता धनाढ्यको ओइरोले भूराजनीतिक तनावहरूबीच सम्पन्न वर्गको बदलिँदै गरेको प्राथमिकता र आफ्नो आर्थिक वृद्धि तथा स्थिरताका लागि नयाँ विकल्प खोज्ने प्रवृत्तिको झल्को दिएको हेन्ले एन्ड पार्टनर्सका ग्रुप हेड डोमिनिक भोलेकको निष्कर्ष छ ।

सन् २०१९ मा कोभिड महामारी आसपास धनाढ्यहरूको बिदेसिने क्रम बाक्लिएको थियो । भारतीय पत्रिका ‘बिजनेस स्ट्यान्डर्ड’का अनुसार सन् २०१३ यता आफ्नो देश छोड्ने मिलेनियरहरूको संख्या १७८ प्रतिशतले बढेको छ । यस वर्ष यो क्रम कीर्तिमानी स्तरमा पुगेको र त्यसका लागि सिंगापुर र यूएईजस्ता देशले सुरक्षा, अवसर र आकर्षक जीवनशैली लगायत विकल्प दिने गरेको विश्लेषण गरिएको छ ।

धनाढ्यहरूको बसाइँसराइबाट झन्डै २० अर्ब अमेरिकी डलर पलायन हुने आकलन गरिएको छ । यसबाट सबैभन्दा बढी प्रभावित देशमा चीन, बेलायत र भारतसमेत रहेको पाइन्छ । यी देशमा विद्यमान करको उच्च दर, राजनीतिक अस्थीरता र आर्थिक वृद्धिसम्बन्धी जोखिमका कारण धनाढ्य वर्ग बाहिरिने गरेको ब्लुमबर्गले हेन्ले एन्ड पार्टनर्सलाई नै उद्धृत गरेर लेखेको छ ।

‘विश्वभरका मिलेनियर दुबैमा ओइरिन थालेपछि यहाँका निर्माण व्यवसायीहरूले सिनेमा हल, स्पा, निजी विद्युतीय भर्‍याङसहितका बंगला र पेन्टहाउस बनाउन थालेका छन्,’ ब्लुमबर्गले लेखेको छ, ‘यस्ता भवनलाई ६ करोडदेखि १२ करोड डलरसम्म पर्छ । युरोप, एसिया र अमेरिकाका धनाढ्य यस्ता भवन खोजी गरिरहेका छन् ।’

धनाढ्यहरू विदेश पलायनको सबैभन्दा ठूलो मारमा परेको देश चीन देखिन्छ । सन् २०२४ मा मात्रै त्यहाँका झन्डै १५ हजार २ सय मिलेनियरले देश छोडेको र वर्ष २०२५ मा यो संख्या अझै बढ्न सक्ने अलजजिराको समाचार ‘चाइनाज मिलेनियर्स आई द एक्जिट’ मा उल्लेख छ । चीनको आर्थिक क्रियाकलाप ऐतिहासिक रूपमा सुस्ताएको र युवा बेरोजगारी १६ प्रतिशतभन्दा माथि पुगिरहँदा प्रविधि र निजी क्षेत्रमा उद्योगहरूमाथि सरकारी नियन्त्रणले उच्च आय भएका व्यवसायीलाई बसाइँसराइमा प्रेररित गरेको अलजजिराको विश्लेषण छ ।

भारतमा पनि सन् २०१४ यता लगभग २३ हजार मिलेनियरहरूले देश छाडेको र त्यसका लागि करसँगै नियामकीय झन्झटहरू प्रमुख कारण रहेको भारतीय सञ्चार माध्यम बिजनेस टुडेले उल्लेख गरेको छ । बेलायतको हकमा सन् २०२३ मा झन्डै ४२०० मिलेनियरहरूले देश छाडेकामा सन् २०२४ मा यो संख्या अकासिएर १० हजार ८०० पुगेको थियो । मिलेनियरसँगै गत वर्ष १२ जना अर्बपतिले समेत बेलायत छाडेको इन्डिपेन्डेन्टको समाचारमा उल्लेख छ ।

यूएईमा भने मिलेनियरहरूको संख्या गएको एक दशकमा झन्डै ७७ प्रतिशत र सिंगापुरमा ६४ प्रतिशतले बढेको अनुमान छ । सन् २०१५ सम्म १७ अर्बपतिहरूको घर रहेको सिंगापुर २०२४ सम्म आउँदा ४७ अर्बपतिको केन्द्र बनेको र सन् २०२३ मा यूएई आएका ५ अर्बपतिसँगै कुल १८ अर्बपतिले मध्यएसियाको व्यापारिक देशलाई आफ्नो रोजाइमा पारेको अध्ययनहरूले देखाएका छन् ।

यूएईले लगानीकर्ता र उद्यमीहरूका लागि ‘गोल्डेन भिसा’जस्ता प्रावधानमार्फत लामो समयका लागि बसोबास गर्न र त्यहाँ सहज रूपमा स्थापित हुन सघाउने किसिमका नीति अघि सारेको छ । आर्थिक वृद्धिको प्रचुर अवसरसँगै करका न्यून दर र यूएईको क्रिप्टो–मैत्री नीतिले पनि पश्चिम एसियाको झन्डै १ करोड जनसंख्या भएको सो देशलाई नयाँ पुस्ताका मिलेनियरहरूको प्रमुख आकर्षण बनाएको हेन्ले एन्ड पार्टनर्सका प्रमुख जर्ग स्टेफेनको राय छ ।

‘सिंगापुरको सुरक्षित आर्थिक क्षेत्र र आकर्षक जीवनशैलीको अवसरका कारण धनाढ्यहरूले यसलाई गन्तव्य छानेको हुनुपर्छ,’ उनले भनेका छन्, ‘मिलेनियरहरूले बसाइँ सर्ने तेस्रो, चौथो र पाँचौं गन्तव्यमा भने अमेरिका, स्विट्जरल्यान्ड र क्यानडा छन् ।’ मिलेनियरहरूलाई आकर्षित गर्न सक्ने अर्थतन्त्रले नयाँ आउने धनाढ्यहरूको लगानी र व्यावसायिक उन्नतिसँगै विलासिताका वस्तु, घरजग्गा, जीवनशैलीमा उनीहरूले गर्ने खर्चमार्फत रोजगारीका अवसर र आर्थिक वृद्धिमा प्रत्यक्ष सघाउने गरेको हेन्लेको प्रतिवेदनले देखाएको छ ।

मिलेनियरहरूको संख्याका हिसाबले अमेरिका अझै अपेक्षित रूपमा प्रमुख केन्द्र छ । वर्ल्ड पपुलेसन रिभ्यूका अनुसार अमेरिकामा झन्डै २ करोड ४५ लाख मिलेनियर छन् । चीनमा ६२ लाख, जापानमा ३४ लाख, बेलायतमा २८ लाख, फ्रान्समा २८ लाख, जर्मनीमा २७ लाख, क्यानडामा २३ लाख, अस्ट्रेलियामा २२ लाख, इटालीमा १४ लाख र दक्षिण कोरियामा १३ लाख व्यक्तिसँग १० लाख अमेरिकी डलर वा त्यसभन्दा बढी सम्पत्ति छ । अमेरिकामा ८१३, चीनमा ४०६, भारतमा २००, जर्मनीमा १३२ र रूसमा १२० जना व्यक्तिसँग १ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति रहेको अमेरिकी म्यागाजिन फोर्ब्समा उल्लेख छ ।– (एजेन्सीहरूको सहयोगमा)

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024