देश रित्तिएको गलत भाष्य

5 Feb, 2025

चेतन अधिकारी

हरेक दिन त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानको बिदाइ कक्षमा बिदाइ र स्वागत गर्न जाने परिवारका सदस्य एवं आफन्तजनहरूको अपार भीड देखिन्छ । एकथरी आफन्तलाई रोजगारी वा अध्ययनका लागि सात समुद्रपारि पठाउनुपर्दा बिछोडको पीडामा हुन्छन् । अर्कोथरी खुसी, अर्थ, अनुभव र सीप बोकेर आफन्त घर फर्किएपछि हर्षित देखिन्छन् ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विमानस्थलका यी दुईथरी दृश्य मिसाएर ठूलो भीड देखाइन्छ । अनि विमानस्थलमा भेला भएका सबैलाई विदेश उड्ने तयारी गरेकाका रूपमा चित्रित गरिन्छ । के त्यहाँ भेला भएका सबै जना एकै दिन विदेश उड्न लागेका हुन् त ? के दैनिक त्यत्तिकै ठूलो भीड वैदेशिक यात्रामा निस्कन्छन् त ? के जेट विमान चढेर विदेश जानेहरू सबै नफर्किने गरी गएका हुन् त ? होइन ।

एयरपोर्टको दैनिक भेलाबारेमा त्यहाँका सुरक्षाकर्मीहरूलाई सोधें, ‘एक जनालाई बिदाइ गर्न कति जनासम्म आउँछन् ?’ उनले यकिन संख्या भन्न सकेनन् । तर सरदर एक जनालाई बिदाइ गर्न १ देखि ७ जनासम्म आउने गरेको उनले बताए । उनको भनाइमा सकेसम्म धेरै आफन्तलाई बोलाएर एयरपोर्टबाट बिदाइ हुन यात्रुले चाहना राख्दा एयरपोर्टको भीड झनै सघन बनेको छ । तिनै सुरक्षाकर्मीको भनाइमा विदेशबाट फर्किएका यात्रुलाई स्वागत गर्न कम्तीमा १ जनादेखि ५ जनासम्म आउने गरेका छन् । यस हिसाबले एक सय जना विदेश उड्नेलाई बिदाइ गर्न कम्तीमा एक सयदेखि ७ सय जना आफन्तहरू सहभागी हुने भए ।

एक सय जना विदेशबाट आउने आफन्तलाई लिन कम्तीमा एक सयदेखि ५ सय जना आफन्त एयरपोर्ट पुग्ने भए । यसले एयरपोर्टमा व्यापक भीडभाड बढेको हो । गाउँ नै विदेश गएको होइन, केही युवाहरू विदेशिएका हुन् । देशै विदेश गएको होइन, केही नागरिकहरू फर्किने गरी मात्रै हिँडेका हुन् । सानो संख्या मात्र नफर्किने गरी विदेशिएका हुन् । यो ठूलो चिन्ताको विषय होइन । संसारभरि मानिसहरू अवसरको खोजीमा देश/विदेश गरिरहन्छन्, अन्य देशहरूबाट ठूलो संख्यामा मानिसहरू नेपालमा पनि आउने गरेका छन् ।

सन् १८१६ को सुगौली सन्धिपछि नेपाली युवाहरू तत्कालीन इस्ट इन्डिया कम्पनीमा भर्ती भएसँगै वैदेशिक रोजगारीमा जान सुरु गरेका हुन् । सिमानाका भारतीय सहर नेपालीहरूका लागि श्रम बेच्ने केन्द्रका रूपमा परिचित भए । खासगरी पूर्वी नेपालसँग सिमाना जोडिएका सिक्किम, दार्जिलिङ आदि ठाउँमा रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरू पुगेको पाइन्छ । बर्मासम्म पनि घरबास गर्न नेपालीहरू पुगे । सन् १९७१ को भारतीय जनगणनाअनुसार नेपालमा जन्मिएका १३ लाख नेपालीहरू भारतमा रहेको तथ्यांक छ । अहिले त्यो संख्या बढेर ४०/५० लाखको संख्यामा पुगेको अनुमान छ ।

रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न उन्नत जीवनका चाहनाले मानिसहरू देश, विदेश गर्ने क्रम विश्वभरि नै चलिरहेको छ । विश्वलाई एउटा सानो गाउँका रूपमा परिभाषित गर्ने आधुनिक पुस्ताले एक देशबाट अर्कोमा पुग्नुलाई कुनै अनौठो मानिरहेको छैन । जुन देशको कानुन सहज, रोजगारी र उन्नत तलबको सम्भावना छ त्यहाँ मानिस स्वाभाविक रूपले आकर्षित हुन्छ नै । अमेरिकालगायतका समृद्ध देशहरूमा मानिस धेरै आकर्षित भएको त्यसैले हो ।

बिदेसिने नेपाली नागरिकको संख्या कति हो यकिन तथ्यांक छैन । केही समयपहिले अन्तर्राष्ट्रिय बसाइँसराइसम्बन्धी एउटा कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले करिब ७० लाख नेपाली देश बाहिर रहेको तथ्यांक पेस गरे । विदेशबाट फर्किने नेपालीको संख्याचाहिँ कति हो त ? औपचारिक तथ्यांक हाम्रो प्रणालीले अद्यावधिक गर्न सकेको छैन ।

विदेश जाने नेपालीको तथ्यांक अद्यावधिक गर्ने वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डले फर्किनेको गर्दैनन् । अध्यागमन पार गरेर जाने नेपालीको संख्या मात्रै जोडेको जोड्यै गर्दछन् । फर्किने नेपाली घटाउँदैनन् । जसले गर्दा हामीलाई देशै रित्तिए जस्तो लाग्छ । यी निकायले फर्किनेको संख्या पनि देखाइदिने हो भने देश रित्तिएको भाष्य सहजै तोडिन्थ्यो ।

संसारको विकास देशदेशावरको बसाइँसराइबाट भएको हो । अन्तर्राष्ट्रिय बसाइँसराइका कारण कुनै पनि देश रित्तिएको अहिलेसम्म सुनिएको छैन । त्यसैले नेपालबाट विदेशतिर भइरहेको बसाइँसराइले देश रित्तिँदैन । नेपालबाट विदेशमा हुने बसाइँसराइको ठूलो हिस्सा रोजगारीका लागि हो । जसलाई अस्थायी बसाइँसराइ भनिन्छ ।

पासपोर्ट र भिसा लगाएर विदेश जानेहरूको अभिलेख राखिन्छ । तर त्योभन्दा ठूलो संख्यामा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मानिसहरू भारतका सहरमा मजदुरी गर्न जान्छन् । निश्चित समयपछि फर्किन्छन् पनि । मधेश प्रदेशबाट भारततर्फ भइरहेको अन्तर्राष्ट्रिय बसाइँसराइको खासै चर्चा नभए पनि नेपालगन्जको रुपैडिया नाका र पश्चिमी सिमाना गड्डाचौकीबाट भारत जानेको लर्को हेर्दा लाग्छ अन्तर्राष्ट्रिय बसाइँसराइकै कारण थुप्रै परिवारको गुजारा चलेको छ ।

रोजगारीको प्रबन्ध नहुँदा हाम्रा नौजवानहरू रोजगारीका लागि बसाइँ हिँड्न बाध्य छन् । तर उनीहरू गन्तव्य देशतिरै बस्न गएका होइनन् । केही महिना, वर्षपछि फर्किन्छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार २१ लाख ९० हजार नेपाली घर फर्किने गरी विदेशमा गएका छन् । उनीहरूलाई कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मा जोडिएको छैन । फर्किने गरी विदेश गएका नेपालीको संख्या कुल जनसंख्याको करिब ७.४ प्रतिशत हो । अघिल्लो दशकमा साढे १९ लाख जति नेपालीहरू विदेशमा थिए ।

जनसांख्यिक लाभांशको अवस्थामा रहेको नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइ नभएको भए के हुने थियो ? एकपटक सोचौं । खासगरी मध्यपूर्वका देश र भारतमा अस्थायी बसाइँ सरेर रोजगारी गर्न गएका युवाहरूले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र चलेको छ । देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ भाग यिनै बसाइँ सरुवाहरूले धानिदिएका छन् ।

सन् २०२३ मा करिब १५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको रहेछ । गत असोज महिनामा मात्र १ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ । यो अर्थतन्त्रले व्यक्ति, परिवार, समाज हुँदै देश नै लाभान्वित भएको छ । माओवादी द्वन्द्वको प्रारम्भ हुनु र खाडी देशहरूसँग श्रम सम्झौता करिब सँगै भएको हो । जसका कारण माओवादी र सरकार पक्षको युद्ध चपेटामा परेका वा पर्न सक्ने सम्भावना रहेका ठूलो संख्याका युवाहरू वैदेशिक बसाइँसराइतर्फ आकर्षित भए ।

माओवादी द्वन्द्व चरम अवस्थामा पुगेका बेला देशको अर्थतन्त्र तहसनहस भइसकेको थियो । त्यसबेला अस्थायी बसाइँ सरेका युवाहरूले वार्षिक करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएर नेपालको अर्थतन्त्र धानिएको हो । यिनै अस्थायी बसाइँ सरुवाले गर्दा गाउँगाउँमा नगदमा कारोबार भएको छ । ग्रामीण अर्थतन्त्र धानिएको छ । हाम्रो स्थानीय उत्पादनले अर्थतन्त्रमा टेवा दिन सकेको छैन । यो केवल निर्वाहमुखी छ । त्यसैले बसाइँसराइका नकारात्मक मात्र होइन सकारात्मक पाटा पनि हेर्नुपर्दछ ।

चीनका मानिस किन अमेरिका जान्छन् ? अस्ट्रेलियाका मानिसहरू किन अमेरिका नै ताक्छन् अथवा अमेरिकीहरू किन युरोप जान चाहन्छन् ? चिनियाँ व्यापारीहरू किन नेपालका गाउँगाउँमा सामान बिक्री गर्न हिँडिरहेका हुन्छन् ? नेपालमा जहाँ जहाँ बजार विस्तार सुरु हुन्छ त्यहाँ भारतीयहरू सैलुन खोल्न, पुराना सामान उठाउन किन पुगिहाल्छन् ? त्यसको कारण ती गाउँघर वा साना बजारमा चलायमान हुने अर्थतन्त्रले हो । त्यो अर्थतन्त्रको हिस्सा आफ्नो पोल्टामा पार्ने सम्भावनाको खोजी गर्नेहरू नयाँ ठाउँ खोज्दै भौतारिरहेका हुन्छन् ।

चीन र भारतमा भन्दा नेपाली गाउँमा उनीहरूको सीप, क्षमताले बढी मूल्य पाउने भएपछि ठूला र विकसित देशबाट नेपाल जस्ता देशमा बजार खोज्न अस्थायी बसाइँ सरुवा आउँछन् । त्यसैको उदाहरण हो नेपालका अधिकांश मोटर ग्यारेजमा भारतीय युवाहरूको उपस्थिति । यी दृष्टान्तबाट भन्न सकिन्छ नेपालबाट मात्र होइन, नेपालमा पनि अस्थायी बसाइँ सरुवाहरू आएका छन् । त्यसैले अन्तर्राष्ट्रिय बसाइँसराइले नेपाल रित्तिएको छैन ।

गाउँ छोडेकाहरूले गाउँको चिन्ता, देश छोडेकाहरूले देशको बढी चिन्ता गरेको देखिन्छ । सकारात्मकताका लागि यो सही नै हो । अहिले चिन्ता देश छोड्नेको भन्दा गाउँ छोड्नेहरूको गर्नुपर्ने देखिन्छ । किनकि देश बाहिर गएकाहरूमध्ये सानो संख्यामा मात्र स्थायी रूपले देश छाडेका हुन् तर गाउँ छोडेकाहरूले भने स्थायी रूपले छोडेका छन् ।

देशका ४३ प्रतिशत स्थानीय तहहरूमा जनसंख्याको वृद्धिदर ऋणात्मक छ । यसले के देखाउँछ भने नेपालको जनसंख्या बिस्तारै केन्द्रीकृत हुँदै छ । संघीयताले शक्ति र स्रोतको विकेन्द्रीकरण गर्ने भने पनि नागरिकले त्यस प्रकारको अनुभूति गरेका छैनन् । बरु सुविधा, शक्ति र स्रोत केन्द्रीकरण हुँदै गएको अनुभूति गरेर नै जनसंख्याको पनि केन्द्रीकरण हुँदै गएको हो ।

सन् १९७० को दशकतिर कोरिया समृद्धितर्फ लम्कने क्रममा थियो । त्यसबेला नेपालमा अहिले देखिए जस्ता बसाइँसराइका दृश्य देखिएका थिए । मानिसहरू ठूलो संख्यामा गाउँ छोडेर सहरमा आउन थालेका थिए । सहरको सुविधा गाउँले दिन सक्दैनथे । त्यसैले मानिसहरू उत्कृष्ट जीवनशैलीको चाहनामा राजधानीलगायतका सहरहरूमा बसाइँ सरे । कोरियाका सहरहरूले गाउँबाट आएका सबै मानिसहरूलाई भव्य स्वागत गरे । आन्तरिक बसाइँ सरुवालाई ती सहरहरूले मजदुरको आपूर्तिका रूपमा उपयोग गरे । तिनीहरूलाई लक्षित गरेर ठूल्ठूला उद्योगहरू खोले ।

गाउँबाट गएका बसाइँ सरुवा मजदुरका रूपमा उपयोग भए । सहरतिर बसाइँ सरेका कारण खाली भएका गाउँका खेतबारीलाई कोरियाले व्यापक मात्रामा कृषि फार्मका रूपमा सदुपयोग गर्‍यो । छोटो समयमा कोरियाले ठूलो मात्रामा अन्न उत्पादन गरेर निर्यात गर्न थाल्यो । बरु खेतीलाई नै उद्योगको रूप दिएर विदेशबाट काम गर्ने मजदुर आयात गर्न थाल्यो । त्यसैको निरन्तरता स्वरूप अहिले पनि कृषि मजदुरका रूपमा नेपालीहरू कोरिया गइरहेका छन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१९ मा २४ लाख ५७ हजार ४ सय ८५ जना विभिन्न देशबाट (नेपालीसहित) नेपाल प्रवेश गरेको देखिन्छ भने २५ लाख २५ हजार ९ सय विभिन्न प्रयोजनमा विदेश गएको देखिन्छ । यसले के बताउँछ भने नेपालबाट बाहिरिने मात्र होइन भित्रिनेको संख्या पनि उल्लेख्य नै छ । त्यसैले पनि भन्न सकिन्छ देश रित्तिएको छैन । सन् २०२४ को वर्षमा १६ लाख ७४ हजार २ सय २५ जना नेपालीहरू विदेश उडेका छन् । त्यसमध्ये ६६ हजार ८ सय ३५ अर्थात् कुल विदेश जानेको करिब ३ प्रतिशत मानिसहरू स्थायी बसोबासका लागि जाने गरेको देखियो । विदेशबाट फर्किनेको संख्या अध्यागमन विभागले उपलब्ध गराएन । विदेश जानेमध्ये सबैभन्दा बढी रोजगारीका लागि गएका छन् । विभागको तथ्यांकअनुसार ८ लाख ६ हजार ४ सय २२ जना रोजगारीका लागि गएका छन् । उनीहरू केही वर्ष रकम र सीपसहित स्वदेश फर्किन्छन् नै ।

नेपालीहरू विभिन्न १५ वटा उद्देश्यले विदेशमा अस्थायी बसाइँ सरेको देखिन्छ । भारतमा सन् २०११ को तथ्यांकअनुसार ५३ लाख भारतीयहरू अन्तर्राष्ट्रिय बसाइँसराइमा संलग्न भएका छन् । उनीहरू रोजगारीका लागि विभिन्न देशमा गएको देखिन्छ । अन्तर्राष्ट्रिय बसाइँसराइको प्रचलन अमेरिकामा पनि देखिन्छ । त्यहाँका २.७ प्रतिशत नागरिक अमेरिका छोडेर युरोप, क्यानडा जस्ता देशमा बसाइँ सर्दा रहेछन् । त्यहाँको जनसंख्याको करिब १३.७ प्रतिशत मानिसहरू संसारका अरू देशबाट बसाइँ सरेर अमेरिका पुग्छन् ।

त्यसैले अन्तर्राष्ट्रिय बसाइँसराइ संस्कृति र प्रगतिको द्योतक हो । यसबाट देश रित्तिहाल्ला भन्ने चिन्ता गर्नुभन्दा पनि स्वदेशमा आकर्षक वेतनसहितको रोजगारी सिर्जना गरेर हाम्रा युवालाई यहीं रमाउने वातावरण दिऊँ । कामलाई हेलाहोचो होइन सम्मान गरौं । तथापि मानवीय स्वभावअनुसार मानिस नयाँनयाँ ठाउँमा अवसरको खोजीमा जान्छ नै । यसलाई देखाएर देशै रित्तियो भन्न मिल्दैन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024