देश छाड्ने ध्याउन्नमा युवा

15 Mar, 2024

केही समययता वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि दैनिक १३ सय हाराहारी युवाले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिने गरेका छन्। एनओसीका लागि दैनिक आवेदन गर्ने संख्या त योभन्दा बढी छ। आवेदन दिनेको संख्या बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत एनओसी शाखामा अहिले दिनहुँ भिड देखिन्छ।

मन्त्रालयले एनओसी अनलाइनबाट उपलब्ध गराउन वेबसाइट बनाएर कार्यान्वयनमा ल्याए पनि उचित व्यवस्थापन गर्न नसक्दा एनओसी शाखामा भौतिक उपस्थिति भएर आवेदन दिने र प्रमाणपत्र लिनेको भिड बढेको हो।

पछिल्लो समय सबैभन्दा बढी जापानका लागि एनओसी लिनेको भिड बढेको छ। फागुन र चैत जापानमा शैक्षिक भर्नाको समय भएकाले भिड बढेको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव श्रीप्रसाद भट्टराईले बताए।

गत साउनदेखि फागुन मसान्तसम्म १११ देशका लागि ६९ हजार ८२३ वटा एनओसी जारी भइसकेको जानकारी भट्टराईले दिए। उनका अनुसार स्वदेशमा भएकै विषयसमेत विदेशमा पढ्ने जाने भन्दै एनओसी लिन आउनेको संख्या देख्दा चिन्ता लागेको छ।

‘हाम्रा युवा जसरी पनि देश छाड्ने मनस्थितिमा देखिन्छन्,’ भट्टराईले नागरिकसँग भने, ‘पछिल्लो समय जापानको इन्टेक खुलेकाले धेरै जापानकै लागि एनओसी लिन आउने छन्। एनओसीका लागि अनलाइनको व्यवस्था गरिएको भए पनि नागरिकता, शैक्षिक प्रमाणपत्र लगायत कागजात म्याचिङ नहुँदा भौतिक उपस्थितमै एनओसी लिन आउनुपरेको बुझिएको छ।’ उनले थपे, ‘हाल दैनिक हजारभन्दा बढी युवा एनओसी लिन आइरहेका छन्। भिड व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ।’

एनओसी महाशाखामा बढ्दो भिड व्यवस्थापन गर्न नसकेकै कारण शाखा प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएपछि पूर्वप्रमुख वासुदेव ओस्तीले सो शाखा सम्हालेका छन्। बिहीबार पनि एनओसी लिने युवाको भिड बढेको सूचनाका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आकस्मिक रूपमा शाखाको भ्रमण गरेकी थिइन्।

‘एनओसी लिने विद्यार्थीको भिड बढेको खबर सुनेर म बुझ्न शाखामा पुगेकी हुँ। एनओसी वितरणमा प्राविधिक स्तरोन्नति गर्न सकिने रहेछ। अब त्यसतर्फ काम गर्न निर्देशन दिएकी छु,’ मन्त्री श्रेष्ठले नागरिकसँग भनिन्, ‘वास्तवमा अहिले एनओसी विदेशी मुद्रा सटही र इमिग्रेसनका लागि मात्र लिने गरेको देखियो।’

शैक्षिक परामर्श दातृ निकायबाट एनओसी लिन आउने विद्यार्थीको भिड बढिरहेको जनाउँदै उनले थपिन्, ‘अब एनओसी वितरण प्रणालीमा व्यस्थापकीय सुधार गर्दै जानुपर्छ।’ मन्त्री श्रेष्ठले अबका दिनमा एनओसी केका लागि भन्नेबारे पनि छलफल गरी व्यवस्थापन गर्दै जानुपर्नेमा जोड दिइन्।

एनओसी शाखामा नवनियुक्त प्रमुख ओस्तीले बिहीबारदेखि टाइम कार्ड कार्यान्वयन गरी काम थालेका छन्। उनले बिहान ७ बजेदेखि साँझ साढे ५ बजेसम्म सेवा उपलब्ध गराए पनि भिड देखिन्थ्यो। भिड व्यवस्थापन गर्न बिहीबार स्काउट नै परिचालन गर्नुपरेको उनले सुनाए।

‘बिहीबार एक दिनमा २ हजार ३४० विद्यार्थीको कागजात प्रमाणीकरण गरियो भने १ हजार ३२२ विद्यार्थीलाई एनओसी जारी गरियो,’ प्रमुख ओस्तीले नागरिकसँग भने, ‘युवाहरू जसरी पनि देश छाड्न चाहेको देखियो। पढाइभन्दा पनि कमाइ गर्न बिदेसिने बढी छन्।

आजको युवा स्वदेशमा बसेर काम गर्ने वातावरण नभएर पनि बिदेसिने गरेको देखिन्छ,’ उनले थपे, ‘दुःखको कुरा त नेपालमै पढाइ हुने विषयका लागि बिदेसिनु हो। मन्त्रीज्यूले बिहीबार अनुगमन गरी एनओसी वितरणमा देखिएको समस्या र सुधारबारे प्रतिवेदन माग गर्नुभएको छ। हामी शुक्रबारसम्म बुझाउँछौं।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024