देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्रीको सुझाव

6 Oct, 2023

बदलिँदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिएका छन्।

स्थापनाको नवौँ वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा मन्त्री महतले यस्तो सुझाव दिएका हुन्। ‘नयाँ प्रविधि भित्रिरहेको छ। त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ,’ उनले भने।

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको अर्थमन्त्री महतले उल्लेख गरे। उनले भने, ‘ठूलो संख्यामा युवाहरू बिदेसिएका छन्। बिदेसिएका युवाहरू पनि दक्ष छैनन्। दक्ष हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन।’

बदलिँदो परिस्थितिअनुसार अहिलेको माग, विशेष आवश्यकता, तत्काल रोजगार सिर्जना गर्ने अवसरजस्ता विषयलाई मध्यनजर गरी व्यावसायिक तालिमलाई विस्तार गर्न महतले सुझाव दिए। निश्चित समस्यालाई मध्यनजर गर्दै पाठ्यक्रम बनाएर तालिम दिन सके धेरै राम्रो हुने उनको भनाइ थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024