विद्या राई
काठमाडौँ — ‘इच्छाविपरीत घाँटी दबाएर
स्वार्थी मूर्ति नतेर्साऊ हामी कोपिलामा’
डायरीमा टिपिएको यो कवितांश १७ वर्षीया रमिला (नाम परिवर्तन) को हो । सानै उमेरदेखि भोग्नुपरेका पीडादायी क्षणलाई उनले कवितामा लिपिबद्ध गरेकी छन् । सिन्धुली घर भएकी उनी आठ महिनायता काठमाडौंस्थित माइती नेपालको सेल्टरमा छिन् । उनी यहाँ आइपुग्नुका पछाडि कहालीलाग्दा थुप्रै कहानी छन् ।
तीन जनाको मध्यम परिवारमा उनी एक्ली छोरी थिइन् । प्रशस्त उब्जनी हुन्थ्यो । घरखर्च दरिलो बनाउन बुवा विदेशिएका थिए । आमाले घर सम्हालेकी थिइन् । बुबा विदेशबाट फर्केपछि भने घरमा समस्या भित्रियो । उनी रक्सी खाएर लट्ठ पर्थे । श्रीमतीलाई पिट्थे । दुई वर्षपछि रमिलाकी बहिनी जन्मिइन् । आमाबुबाको झगडा झन् बढ्यो । रमिला ८ वर्षकी हुँदा बाआमाले सम्बन्ध नै टुंग्याए । खेतबारी र घर बेचे । सम्बन्धविच्छेदपछि उनी, बहिनी र आमा मावली गएर बस्न थाले । बुवासँग भेट भएन ।
मावलीमा १२ जनाको परिवार थियो । रमिलाले घरधन्दा, घाँसपात भ्याएर स्कुल जानुपर्थ्यो । ‘बाबाको रिसले मामा–माइजूहरूले पनि पिट्ने, दुःख दिने गर्नुभयो,’ उनले सुनाइन् । १० कक्षाको परीक्षा फाराम भर्ने खर्चसमेत पाइनन् । पढाइ छुट्यो । पीडा खप्न नसकेपछि उनले मावली घर छोड्ने निधो गरिन् । आमासँग सल्लाह गरेर २०७६ माघमा बस चढेर काठमाडौं आइपुगिन् । उनी त्यतिबेला १५ वर्षकी थिइन् । साथीले बालकुमारीको डेरा नजिकै खाजा पसलमा मासिक ६ हजार तलब पाइने काम खोजिदिइन् । साहुजी र ग्राहकको व्यवहार नराम्रो भएपछि उनले काम छाडिन् । त्यसपछि आलु चिप्स बनाउने कारखाना पुगिन् । त्यहाँ पनि मालिककी पत्नीले नराम्रो व्यवहार गरेपछि काममा उनको मन बसेन । कोरोना महामारीले अरू काम नपाएपछि उनी सिन्धुली फर्किइन् ।उनलाई काठमाडौं फर्कने मन थिएन । परिवारका पढ्ने इच्छा राख्दा मामाले मरणासन्न हुने गरी पिटे । मावल बस्न मन लागेन । आमासँग गाडीभाडा मागेर तीन महिनापछि अर्को साथीसँग उनी फेरि काठमाडौं फर्किन् । चाबहिलको एक रेस्टुरेन्टमा वेटरको काम पाइन् । केही समयपछि फेसबुकबाटै चिनजान भएकी दिदीले खबर गरिन्, ‘मेरो गेस्टहाउसमा महिनाको ८ हजार दिने वेटर चाहिएको छ, आऊ, राम्रो कमाइ हुन्छ ।’ त्यो लोभ देखाउने प्रिया विक थिइन् । भोलिपल्टै रमिला कोटेश्वरस्थित गेस्टहाउस पुगिन् । काम गर्ने भए ‘इन्ट्री’ शुल्क बुझाउनुपर्ने भनियो । एक हजार बुझाएपछि उनी गेस्टहाउसबाट बाहिर निस्कनै पाइनन् ।
दुई सातासम्म वेटरको काम गरिन् । ग्राहकलाई खुसी पार्नुपर्ने, जिस्किएर बस्नुपर्ने । धेरै बिल उठाउनुपर्ने । ‘बिस्तारै कोठाको चाबी दिएर साहुले ग्राहकसँग पठाउने गर्न थाले । आफूलाई मन नभएको काम गर्नुपर्थ्यो,’ उनले भनिन् ।
प्रियाले घरभाडामा लिएर गेस्टहाउस चलाएकी रहिछन् । त्यहाँ रमिलाजस्ता अरू केटी पनि थिए । बाध्य भएर शरीर बेच्नुपर्दा उनलाई दुःख लाग्थ्यो । त्यहाँबाट कैयौं पटक फुत्किन कोसिस गरिन् । आफूलाई खोज्दैखोज्दै प्रहरी आइपुगुन् भन्ने लाग्थ्यो उनलाई । त्यो दिन बल्ल ०७७ माघ १४ मा जुर्यो । माइती नेपालको उद्धारपछि उनी यो ‘नर्क’ बाट बाहिरिइन् ।
हाल कक्षा ९ मा पढाइ दोहोर्याउँदै छिन् रमिला । उनलाई देहव्यापारमा लगाउने प्रिया विकविरुद्ध माइती नेपालले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा चलाएको छ । साहुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । ‘मलाई पीडा दिनेले त सजाय भोगिरहेको छ, तर अरू कति दिदीबहिनीबाट फाइदा उठाउने अपराधीहरू खुल्लमखुला हिँडिरहेका छन्, उनीहरूलाई कारबाही नगर्दासम्म म कसरी खुसी हुन सक्छु ?’ उनी भन्छिन् ।
राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखनसम्बन्धी प्रतिवेदन २०७६’ मा डान्सबार, दोहोरी साँझ, रोधी, मसाज पार्लर, क्याबिन, गेस्टहाउस, डिस्कोलगायत मनोरन्जनात्मक व्यवसायमा महिला तथा बालबालिकाको जबर्जस्ती श्रम, यौन शोषण तथा बेचबिखन भइरहेको उल्लेख छ । देशका प्रमुख पर्यटकीय एवं सहरी क्षेत्रहरू इटहरी, धरान, काठमाडौं, पोखरा, बुटवललगायत क्षेत्रमा मनोरन्जन तथा सत्कार व्यवसाय बढ्दो छ । जसले मानव बेचबिखन तथा ओसारपसारलाई सघाइरहेको छ । ‘बेचबिखनलाई सीमापार आवागमनसँग मात्रै जोड्ने गरिन्छ, तर हाम्रै घर छेउछाउ यस्तो अपराध भइरहेको छ,’ अधिवक्ता उमा तामाङले भनिन्, ‘केटीहरू भेला पार्ने, कोठी ‘स्टाइल’ ले गेस्टहाउस चलाउने क्रम एकदमै बढेको छ ।’
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता अनुरागकुमार द्विवेदीका अनुसार आर्थिक रूपले विपन्न र चेतनामा कमजोर रहेको वर्गका महिला र बालिकालाई जबरजस्ती श्रम, यौनशोषण तथा बेचबिखनमा लगाइन्छ । ‘परिवारमा राम्रो पालनपोषण, माया नपाएर गाउँबाट सहर छिर्छन्, देखासिखीले कम उमेरका बालिका पनि देहव्यापारको सिकार भइरहेका छन्,’ उनले भने । कोरोना महामारीले रोजगारी गुमेपछि काम खोज्दै जाँदा उनीहरू बेचबिखनमा पर्ने गरेका छन् । मानव बेचबिखनको जोखिममा महिला र बालिकाहरू धेरै रहेको तथ्यांकले देखाउँछ । फकाइफुल्याइ देह व्यापारमा प्रयोग गर्न र डर देखाएर अपराध ढाकछोप गर्न सजिलो हुने भएकाले उनीहरूको बेचबिखनको संख्या बढी देखिएको यही क्षेत्रम ा काम गर्दै आएका विश्व खड्काले बताए ।
राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखन शाखाकी फोकल पर्सन यशोदा बन्जाडेले आन्तरिक बेचबिखन बढिरहे पनि उजुरी कम पर्दा यकिन तथ्यांक निकाल्न नसकेको बताइन् । ‘बेचबिखनको धेरैजसो जाहेरी नै परेको देखिँदैन, जसले यति नै संख्यामा बेचबिखन भइरहेको छ भन्न सकिन्न,’ उनले भनिन्, ‘होटल व्यवसाय, मनोरन्जनका नाममा बेचबिखन बढिरहेको छ ।’
मानव बेचबिखन ब्युरोका अनुसार गत वर्ष एक सय ३४ वटा मात्रै मुद्दा दर्ता भएको छ । पछिल्लो दुई आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा कोरोना महामारी, लकडाउन तथा निषेधाज्ञाले मुद्दा, पक्राउ, पीडित र फरार संख्या घटेको देखिन्छ । पछिल्लो तीन वर्षमा एक हजार एक सय ६१ अभियुक्तमध्ये चार सय ६८ अझै फरार छन् । ‘अपराध गरेपछि भाग्छन्, खोजी गरेर पक्राउ गर्न समय लाग्छ, कतिपयको मुद्दाको प्रमाण जुटाउँदा समय लाग्छ,’ ब्युरो प्रमुख दुर्गा सिंह भन्छिन्, ‘समय लाग्ने भएकैले बेचबिखनको मुद्दामा हदम्याद छैन, पीडितको मृत्यु भए पनि पीडकले उन्मुक्ति पाउँदैन ।’
पछिल्लो तीन वर्षमा ७ सय ७ पीडितमध्ये ८७ प्रतिशत अर्थात् ६ सय १८ जना महिला र बालिका पीडित थिए । गतवर्ष उद्धार गरिएका एक सय ८७ मानव बेचबिखनका पीडितमध्ये महिला र बालिका मात्रै एक सय ८३ जना थिए । तीमध्ये ४३ प्रतिशत अर्थात् ७९ जना १८ वर्ष मुनिका बालिकाको उद्धार गरिएको थियो । आन्तरिक बेचबिखनलाई नियमन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विभिन्न संघसंस्थाको सहकार्यमा जिल्लास्तरीय अनुगमन टोली बनाइने बेचबिखन ब्युरोका प्रवक्ता द्विवेदीले बताए ।
आन्तरिक बेचबिखन नियन्त्रणमा प्राथमिकता दिन, नियमित अनुगमन गर्न, अस्पष्ट नीतिगत व्यवस्थालाई समयसापेक्ष सुधार गर्न सरकारलाई सुझाव दिँदै आएको मानवअधिकार आयोगकी फोकल पर्सन यशोदा बञ्जाडेको भनाइ छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाकी प्रमुख मीना पौडेलले सबै जिल्लामा नियमन गर्न ऐनको परिभाषादेखि कार्ययोजना संशोधन गरिरहेको बताइन् । ‘यो वर्षभित्र अन्तिम रूप दिने लक्ष्य छ,’ उनले भनिन्, ‘नीतिगत व्यवस्था कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारले जागरुक भएर काम गर्नुपर्छ ।’