दूतावासमा स्वास्थ्यकर्मी नहुँदा रायको तुरुन्तै जाँच हुन सकेन : मलेसियास्थित नेपाली दूतावास

28 Mar, 2025

काठमाडौँ — मलेसियास्थित नेपाली दूतावासले सिरहाका ३८ वर्षीय राजन रायको उद्धार गर्दागर्दै निधन हुन गएको भन्दै दु:ख प्रकट गरेको छ । मलेसियामा रहेका नेपाली श्रमिकको संरक्षण र उद्धारका लागि निरन्तर लागिरहने प्रतिबद्धता समेत दूतावासले जाहेर गरेको छ । रायको शव शुक्रवार काठमाडौं आउनेछ ।

उपचार र उद्धारका लागि भन्दै चैत ४ गते सहकर्मीमार्फत नेपाली दूतावास पुर्‍याइएका रायको चैत ६ गते सेल्टरमा मृत्यु भएको थियो । दूतावासले गम्भीर बिरामी भएका रायलाई उपचारका लागि तुरुन्तै अस्पताल नलगेको भन्दै दूतावासको कार्य क्षमतामाथि प्रश्न उठेको छ । यसबारे कान्तिपुरमा समाचार र सम्पादकीय प्रकाशित भएपछि दूतावासले रायको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।

दूतावासले चैत ४ गते साँझ ५ बजे एकजना आफन्तको सहयोगमा नेपाली दूतावासको सम्पर्कमा आउँदा सामान्य स्वास्थ्य अवस्था देखिएको र हिँड्दै आएका रायले घर फर्किन सहयोग मागेको जनाएको छ ।

‘राय आफ्नो राहदानीबिना दूतावास आएका थिए । प्रारम्भिक सोधपुछ गर्दा खुट्टामा समस्या रहेको जानकारी मात्र दिए र आफूसँग भएको अस्पतालका कागजात दूतावासका कर्मचारीलाई उपलब्ध नगराएको र दूतावासमा कुनै स्वास्थ्यकर्मी नरहेको हुँदा तुरुन्तै स्वास्थ्य जाँचको व्यवस्था हुन सकेन,’ बिहीबार दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यद्यपि स्वास्थ्यमा समस्या भए घरफिर्ती प्रक्रिया थप केही दिन लाग्ने भएकाले उनी तथा उनका आफन्तलाई नजिकैको क्लिनिकमा स्वास्थ्य जाँच गर्न सल्लाह दिइएको थियो । अध्यागमन विभागमा चेक आउट मेमो लिन भेट्ने समयका लागि समेत प्रक्रिया अगाडि बढाइएको थियो ।’

रायलाई लिएर आएका आफन्त सम्पर्कमा नआएपछि बेखर्ची रायलाई नजिकैको होस्टेलमा खाने बस्ने प्रबन्ध मिलाएको राजदूतावासले जनाएको छ । ‘घरफिर्तीको प्रक्रिया अगाडि मलेसियामा उनको वैधानिक वा अवैधानिक हैसियत पत्ता लगाउन मलेसियाको अध्यागमन विभागमा चैत ५ गते सोधिएको थियो । अध्यागमन विभागबाट सोही दिन उनको वर्क पर्मिटको म्याद सकिसकेको जानकारी प्राप्त भयो । दूतावासबाट चैत ५ कै दिन निःशुल्क एकतर्फी यात्रा अनुमति (ट्राभल डकुमेन्ट) जारी भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘मलेसियामा अवैधानिक रुपमा बसेका विदेशी नागरिकले घर फर्कन अगाडि अध्यागमन विभागलाई अवैधानिक रुपमा बसेको समयको जरिवाना दस्तुर तिरेर चेकआउट मेमो लिनुपर्छ । दूतावासको अनुरोधमा अध्यागमन विभागले संवेदनशील मुद्दाका हकमा यथाशीघ्र भेट्ने समय दिई अध्यागमन विभागमा हाजिर भएको १४ कार्यदिनमा चेकआउट मेमो जारी गर्छ ।’

दूतावासले घर फर्किने दिनको पर्खाइमा रहेका रायको चैत ६ गते होस्टेलमा सुतिरहेको अवस्थामा निधन भएको जनाएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयबाट चैत ७ मा जारी मृत्यु प्रमाणपत्रका अनुसार रायको मृत्युको कारण ‘सिस्टेमिक इन्फेक्सन’ रहेको छ ।

दूतावासले साउनदेखि हालसम्म कागजातविहीन भई बस्दै आएका बिरामी, महिला, वृद्ध, अशक्त, बालबालिका तथा अलपत्र अवस्थामा बसेका ३९६ नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइसकिएको जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024