७ फागुन, गोरखा । मंगलबार (६ फागुन, २०८१) सय वटा मौरी घारको अर्डर थियो । अघिल्लो दिनमात्रै उनले ३७ घार बेचेका थिए । थप ८० घारको अर्डर आइसकेको छ । यसरी मौरी घारको माग बढ्न थालेपछि शहीद लखन गाउँपालिका-८ बराहफाँटका सुमन खड्काको व्यस्तता अहिले बढेको छ ।
मौरीको घारमात्रै होइन महको माग पनि उत्तिकै आउने गरेको उनी बताउँछन् । भन्छन्, ‘स्वदेशबाट मात्र होइन विदेशबाट पनि माग आउन थालिसक्यो ।’
२०७७ सालमा उनको घरमा परम्परागत एउटा मुढे घार थियो । गहुँ काट्न गएका बेला जंगलबाट छुट्टिएर आएको मौरी ल्याएर उनले त्यस घारमा राखे । अनि सुरु गरे मौरी पालन । त्यसयता उनले घार थप्दै गए । ६ वटा मुढे घारमा मौरी विस्तार गरे । अनि व्यवसायिक मौरी पालनतर्फ आकर्षित बने ।
व्यवसायिक हुटहुटीले उनलाई घार थप्न बाध्य बनायो । २०७८ सालमा तनहुँबाट सात वटा आधुनिक मौरी घार किनेर ल्याए । ‘त्यही वर्ष ज्यादुलखोला कृषि सहकारी संस्थाले अनुदानमा आधुनिक मौरी घार वितरण गरेको थियो’, खड्काले भने, ‘त्यहाँबाट पनि चार वटा घार किनेर ल्याएँ ।’ क्रमश: घार थप्दै मौरी पालनलाई उनले विस्तार गर्दै लगे ।
सुरुमा मौरी पाउन त्यति सहज थिएन । मौरी संकलनमा सुगा खोज्न जानेहरुले उनलाई राम्रै सहयोग गरे । ‘सुगा खोज्न भन्दै केटाहरु जंगल डुल्थे, त्यही बेला कतै मौरी देखे भने खवर गर्थे’, उनले भने ।
अहिले उनले १४० वटा घारमा सेरेना जातको मौरी पालन गरेका छन् । रानी ग्राफ्टिङ, घार र मौरी सामग्री (टोपी, स्मोकर) निर्माणको काम आफै गर्छन् । मौरी पालनसम्बन्धी विभिन्न तालिम लिएका उनी प्रशिक्षकको रुपमा पनि दक्ष भइसकेका छन् ।
अहिले उनी घार मात्र होइन मौरी पालनका लागि आवश्यक सामग्री पनि बेच्ने गर्छन् । महको माग पनि उत्तिकै आउने गरेको उनी बताउँछन् । ‘सुरुमा आफ्नै परिवारलाई खान पुग्ने मह पनि उत्पादन हुदैन थियो’, उनी भन्छन्, ‘अहिले विदेशसम्म मह पुर्याउछु ।’ मौरी पाल्न चाहनेलाई आवश्यक परामर्श र तालिम पनि दिने गरेको उनी बताउँछन् ।
दुर्घटनाले बदलेको सपना
व्यवसायिक रुपमा मौरी पालक बन्छु भन्ने उनले सायदै सोचेका थिए । दुबई पुलिसमा जाने तयारी गरिरहेका बेला २०७५ सालमा उनी चितवनमा मोटरसाइकल दुर्घटनामा परे । लामो समय अस्पतालको बसाइँपश्चात गाउँ फर्किए र भैँसी पालनमा जुटे ।
‘दुर्घटना भएपछि शरीर कमजोर भयो, विदेश जान सक्ने अवस्था भएन, अनि गाउँमा आएर गोठ बनाए अनि भैँसी पाल्न थालें’, खड्काले भने । १८ वटासम्म माउ भैँसी पालेका उनी केही वर्षपछि मौरी पालनतर्फ आकर्षित भए । भैँसी पालनमा दुःख धेरै हुने बताउँदै उनले भने, ‘एक त घाँसको समस्या, फेरि दूध बेच्न पनि गाह्रो । दुःख बढी भएपछि भैँसी संख्या घटाएर मौरी पालनतर्फ लागें ।’ अहिले पनि गोठमा ६ वटा भैसी छ तर, मौरी पालनमा उनी बढी समय खर्चिन्छन् ।
मौरी चरनका लागि उनले बारीमा तोरी लगाएका छन् । आरु, आरुवखडा, नास्पातीका बोट पनि छन् । सिजनमा मकै वाली पनि लगाउँछन् । रुदिलोको बीउ जमाएर रोप्ने तयारीमा उनी छन् ।
असार, साउन, पुस र माघ महिना वाहेक अन्य महिनालाई उनी मुख्य सिजन मान्छन् । भन्छन्, ‘असार साउनमा वर्षाका कारण समस्या हुन्छ, पुस माघमा फूलहरु खासै फुल्दैनन् त्यसैले मौरीलाई आहारका लागि चरनको समस्या हुन्छ ।’ अन्य महिना भने समस्या नहुने उनी बताउँछन् ।
उनका अनुसार एक सिजनमा करिब तीन/चार सय केजी मह उत्पादन हुन्छ । प्रतिकेजी १५०० रुपैयाँमा उनले मह बिक्री गर्छन् । स्थानीय स्तरमै बढी माग हुने गरेको उनले जानकारी दिए ।
मौरीसहितको घार (पाँच फ्रेमको) उनले दश हजारमा बिक्री गर्ने गरेका छन् । माग र आवश्यकता अनुसार उनले मौरी र घार छुट्टाछुट्टै पनि बिक्री गर्छन् । ‘मौरी चाहिनेलाई मौरी मात्र पनि बेच्छु, घार चाहिनेलाई घार मात्र पनि’, उनी भन्छन्, ‘मौरी पालनका लागि चाहिने सामग्रीहरु पनि आफैं बनाएर बेच्छु, आवश्यक परेकालाई सल्लाह र तालिम पनि दिन्छु ।’
व्यवसायिक रुपमा मौरी पालन गरेपछि उनको आम्दानी पनि बढेको छ । महिनामा सरदर एक लाख नाफा हुने उनी बताउँछन् ।
मौरी पालन गर्दा केही समस्याहरु झेल्नुपर्ने उनको अनुभव छ । मौरी छुट्टिएर भाग्ने, रानी गायव हुने जस्ता समस्या आउने उनले बताए । ‘चरा, अरिंगाल र मलसाप्राले मौरी खाइदिन्छ, फेरि मौरीमा रोगहरु पनि देखा पर्छन्, त्यसैले अलि बढी हेरविचार गर्नुपर्ने हुन्छ,’ उनले भने ।
कैजेल मौरी पालन फर्म दर्ता गरेर व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका उनलाई उनका बुवा कृष्णबहादुरले साथ दिदैं आएका छन् । पालिकाले सहयोग गरेमा स्रोत केन्द्र स्थापना गर्ने उनको योजना छ ।
हाल अधिकांश उत्पादन पालिकाले लिने गरेको भन्दै उनले थपे, ‘उत्पादन प्राय पालिकाले किनिदिएर सहयोग गरेको छ, अव थप सहयोग गर्यो भने स्रोत केन्द्र स्थापना गर्ने लक्ष्य छ ।’
जिल्लाका अन्य पालिका र कार्यालयबाट पनि माग बढ्न थालेको उनले जानकारी गराए । हाल भएको घार विभाजन गरेर मौरी र घारको संख्या बढाउन सकिने र बजारको माग परिपूर्ति गर्न सकिने उनी बताउँछन् ।
मौरी पालन स्थलसम्म सडक सञ्जाल नजोडिएका कारण सामान ओसार-पसारमा समस्या हुने गरेको उनले गुनासो गरे । मौरी पालनमा हालसम्म २० लाखभन्दा बढी लगानी भइसकेको उनले जानकारी गराए ।