दुबई जाने प्रलोभनमा इराकमा बेचिइन् महिला

16 May, 2025

Tek raj Thami

घरेलु मजदुरका रूपमा दुबई हिँडेकी काठमाडौं हिलेटोलकी सम्झना शर्मा (परिवर्तित नाम) एकाएक इराकस्थित सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थल झर्दा नै झस्केकी थिइन् । छाँगाबाट खसेको अनुभूति त उनीले त्यसपछि गरिन्, जब दलालले पत्तै नदिई बेचेको सुइँको पाइन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार शर्मालाई झापा बिर्तामोड नगरपालिका– ९ टंगाबारीका ४५ वर्षीय भीमप्रसाद बजगार्ईं, इलाम रोङ गाउँपालिका– ४ का ४० वर्षीय सन्तोष सुनुवार र हेमरानी घलेको समूहले दुबई लैजाने भन्दै इराक लगेर ६ लाख ७० हजार रुपैयाँमा बेचेका हुन् । घटनामा संलग्नमध्ये बजगाईं पक्राउ परेका छन् । अरू दुई फरार छन् । ब्युरोका प्रवक्ता एसपी भावेश रिमालले बजगाईं दुई दिनअघि मात्रै पुर्पक्षका लागि जेल चलान भएको र फरार अभियुक्तविरुद्ध खोजी कार्य जारी रहेको बताए ।

उनले भने, ‘महिलालाई दुबई लैजाने भनेर इराक पुर्‍याएछन् । ६ लाख ७० हजारमा बेचिदिएछन् । घटनामा संलग्नमध्ये एकजना पक्राउ परे । उनी पुर्पक्षका लागि जेल चलान भएका छन् । बाँकीको खोजी कार्य जारी छ ।’

ब्युरोका अनुसार शर्मासँग दुबई बस्ने हेमरानीको टेलिफोनमार्फत भेट भएको थियो । शर्मालाई प्रतिमहिना ४० हजार रुपैयाँ पाउने गरी दुबईमा घरेलु मजदुरका रूपमा काम लगाइदिने प्रलोभन उनै हेमरानीले दिएकी थिइन् । उनकै प्रयासपछि शर्माले भीमप्रसादसँग भेट गरेकी थिइन् । दुबई जानका लागि आवश्यक कागजातसहित ३५ हजार रुपैयाँ पनि भीमप्रसादलाई नै दिन उनले भनेकी थिइन् । सोहीअनुसार गरेकी शर्मा ३० असार ०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई पुगेकी थिइन् ।

तर, फ्लाई दुबईको विमानबाट गएकी उनलाई दुबईमा भने झर्न दिइएन । जहाज उडेर अर्कै दिशातर्फ लाग्यो । केही घण्टाको यात्रापछि जहाज अवतरण भयो । जब उनी जहाजबाट झरिन्, त्यसपछि इराकको सुलेमानी आइपुगेको सुइँको पाइन् । उनलाई लिन मचाक कम्पनीका मान्छे पहिले नै विमानस्थल पुगिसकेका थिए । तनावमा रहेकी उनी विमानस्थलबाट बाहिरिनेबित्तिकै मचाकका मान्छेले भेटेर सँगै लिएर गए ।

प्रहरीका अनुसार उनलाई अज्ञात स्थलतर्फ लगियो । कोठामा बन्धक बनाइयो । त्यसरी कोठामा बन्धक पारिएका उनीजस्तै अन्य महिला पनि थिए । खानासमेत नदिएपछि उनले समस्या नेपाल रहेका श्रीमान्लाई भनिन् । श्रीमान्ले भीमप्रसादलाई भेटे । त्यसको केही दिनपछि उनको कोठामा इराकमै बस्ने इलाम रोङ गाउँपालिका– ४ का ४० वर्षीय सन्तोष सुनुवार पुगे । आश्वासन दिँदै भएभरका सबै कागजात उनीसँग मागे र आफूसँगै लिएर गए । त्यसपछि उनी कहिल्यै फर्किएनन् ।

पीडितका अनुसार करिब डेढ महिनाको बन्धक जीवनपछि उनलाई एक इराकीको घरमा लगियो । घरेलु मजदुरका रूपमा नियुक्त गरियो । घरमालिकले उनलाई दैनिक १५ घण्टा काम लगाए । शारीरिक र मानसिक यातना दिए । तलबसमेत नदिएपछि उनले नेपाल फर्किने निधो गरिन् । प्रस्ताव लिएर घरमालिककहाँ पुगिन् । त्यसपछि पो थाहा पाइन्, उनलाई त दलालले ६ लाख ७० हजार रुपैयाँमा बेचेका रहेछन् ।

ब्युरोका एसपी रिमालले भने, ‘यिनीलाई दलालले ६ लाख ७० हजार रुपैयाँमा बेचेका रहेछन् । तलब पनि नदिने रहेछ । शारीरिक र मानसिक यातना दिने रहेछ । सबैगरी यिनले उक्त घरमा १० महिना काम गरेको देखिन्छ । तर, तलब भने ६ महिनाको मात्रै लिएको देखिन्छ ।’

नेपाल फर्कन खोज्दा घरमालिकले ६ लाख ७० हजार रुपैयाँ फिर्ता मागे । उनले उक्त पीडा श्रीमान्सँग पोखिन् । अन्ततः श्रीमान्ले मालिकले मागेबमोजिमको रकम चार किस्तामा भुक्तानी गरे । त्यसपछि गत ५ भदौमा उनी नेपाल फर्किन सफल भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बतायो ।

ब्युरोका एसपी रिमालले भने, ‘नेपाल फर्कन खोज्दा घरमालिकले ६ लाख ७० हजार फिर्ता मागेछ । यिनको श्रीमान्ले चार किस्ता गरेर नेपालबाट मागबमोजिमको रकम भुक्तानी गरेको देखिन्छ । त्यसपछि मात्रै उनी नेपाल फर्कन सफल भएकी हुन् । हामीकहाँ जाहेरी परेपछि घटनाको अनुसन्धान भयो । भीमप्रसाद पक्राउ परे । तर, अन्यलाई भने पक्राउ गर्न सकिएको छैन ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024