दुई हजार ‘केयर गिभर’ लैजान इजरायल सहमत

23 Jul, 2024

इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारी दिन सहमति जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो।

हाल छनोटका चरणमा रहेका पाँच सयजना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कुल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो संख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयर गिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारेसमेत छलफल भएको थियो।

आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको प्रवक्ता रिजालले जानकारी दिए।

सो क्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन अनुरोध गरेका थिए। रासस

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024