दुई नेपालीको शव सात महिनापछि उत्खनन गरी जोर्डनबाट नेपाल फिर्ता

25 Jul, 2023

काठमाडौँ — घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली युवतीको शव गाडिएको अवस्थामा फेला पारी उत्खनन गरी स्थानीय अदालतको आदेशमा दुवै शवको अवशेष सोमबार नेपाल पठाइएको छ ।

राजधानी अम्मानमा कार्यरत तेह्रथुम घर भएकी ३७ वर्षीया लीलामाया लिम्बू र सिन्धुपाल्चोककी २२ वर्षीया सुस्मिता तामाङको गत वर्ष असोज/कात्तिकमा निधन भएपनि तिनको शव घरफिर्ती हुन सकिरहेको थिएन । यसबारे जानकारी पाएर जोर्डनको कूटनीतिक मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले ताकेता गर्दै आएको भएपनि गत वर्ष माघ ४, २०७९ मा दुवै जनाको शव गाडिएको अर्को सूचना आएको थियो ।

‘सम्बद्ध परिवार र कूटनीतिक नियोगलाई समेत जानकारी नदिइ शव गाडिएको सूचना पाएपछि यहाँबाट जोर्डनको परराष्ट्र मन्त्रालयमार्फत आपत्ती जनाउँदै पत्राचार भएको थियो,’ कायरोस्थित नेपाली राजदूत सुशील लम्सालले कान्तिपुरसँग फोनमा भने, ‘आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन गत जेठ १९ मा अम्मान पुगेका बेला जोर्डनका नरेश अब्दुल्लाहलाई पनि यो घटनाबारे अवगत गराउँदै शव फिर्ता र अन्तिम संस्कारमा सहयोग पुर्‍याउन अनुरोध गरेको थिएँ । यही प्रक्रियामा गत शनिबार शव उत्खनन गर्दै प्राप्त अवशेष सोमबार काठमाडौं पठाइएको हो ।’

दुवैको मृत्युबारे स्थानीय प्रहरी कार्यालय र अदालतले दिएको कारणमा आत्महत्या भनेर खुलाइएको छ । यी दुवै जनाको शव गत वर्ष माघ ४ मा अम्मानस्थित इस्मालिक शव दफनगृहमा पुरिएको सूचना कायरो दूतावासले पाएको थियो । आत्महत्या कारण भनेपछि यसमा आवश्यक क्षतिपूर्तिको प्रक्रिया अघि बढाउन मुस्किल हुने खाडी तथा मध्यपूर्वी मुलुकहरुमा नियम रहिआएको छ । तर, अलग—अलग घरमा आत्महत्या गरेको अवस्था र घटनाको ५ महिनापछि शव गाडिएको स्थितिका बारेमा प्रहरी अनुसन्धान तथा अदालती फैसलामा पनि केही उल्लेख गरिएको छैन । दुईमध्ये लीलामायााले गत वर्ष असोज ८ (२४ सेप्टेम्बर २०२२) र कात्तिक २१(७ नवेम्भर, २०२२)मा घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

‘बहिनी सुस्मिता जोर्डन गएको १६ महिना मात्रै भएको थियो, गत वर्ष मंसिरमा बहिनीको मृत्यु भएको थाहा पाएका थियौं,’ सुस्मिताका दाजु बन्जलाल तामाङले भने, ‘आज बहिनीको शवको अवशेष मात्रै बुझेका छौं, उताबाट पाइने क्षतीपूर्तिबारे कुनै जानकारी छैन ।’ उनका अनुसार, बहिनीलाई जोर्डन पठाउने युरोक्रस म्यानपावरले पनि अन्तिम संस्कारको खर्चका लागि १ लाख रुपैयाँ दिएको छ ।

तर, लीलामाया लिम्बूका आफन्तका अनुसार भने उनीहरुले कतैबाट केही सहयोग पाएका छैनन् । उनी भने माउन्टेन ग्रुप म्यानपावरबाट जोर्डन गएकी थिइन् । दुई छोरा र एक नाबालक छोरीलाई छाडेर लीलामाया ५ वर्षअघि जोर्डन रोजगारीमा पुगेकी थिइन् । जोर्डनमा झन्डै ३५ सय नेपाली कामदार रहेकोमा दुई हजार जति घरेलु कामदार रहेको दूतावासले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024