दाइले इसराइलबाट सिकाउने, भाइहरू नेपालमा फलाउने

24 Sep, 2024

इच्छाकामना–३ कमेरेका अठसठ्ठी वर्षीय पुर्णप्रसाद भट्टराई र श्रीमती निर्मलाले तरकारी खेती गरेरै घर व्यवहार चलाउँदै आएको वर्षौं भयो। उनीहरूले दुई छोरी र तीन छोरालाई तरकारी बेचेरै हुर्काए, पढाए।

भट्टराई दम्पत्तीले यसपाली नौलो अनुभूति गरिरहेका छन्। पहाडका खुल्ला गरामा मौसमी खेती गरेर आम्दानी गर्ने गरेका उनीहरू टनेलभित्र बेमौसमी गोलभेडा टिप्दै थिए। दुई छोरा रामशरण र सरोजलाई तरकारी बजार पठाउन भ्याईनभ्याई थियो।

परम्परागत प्रणालीबाट गरिएको खेतीले राम्रो आम्दानी नदिएपछि भट्टराई दाजुभाइले नयाँ प्रविधिको प्रयोग गरेका हुन्। इसराइलमा तरकारी खेतीमै काम गरिरहेका समुद्र भट्टराईले नेपालमा रहेका दुई भाइलाई आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्न सिकाइरहेका छन्।

‘बुबा, आमाले तरकारी खेती गर्ने भएकाले हामीले पनि सानैदेखि खेतीपाती गर्न जानेका थियौं। उहाँहरूले गर्नुभएको परम्परागत प्रणालीमा दुःख बढी, आम्दानी कम थियो,’ २७ वर्षीय रामशरण भट्टराईले भने, ‘उत्पादन र आम्दानी बढाउने उपाय खोज्दै जाँदा टनेलभित्र थोपा सिँचाइमार्फत बेमौसमी तरकारीको खेती सुरू गरेका हौं।’

उनले इसराइलमा रहेका दाइले सिकाएको सीप, सफल किसानहरूबाट प्राप्त ज्ञान र सामाजिक सञ्जालमार्फत जानेका कुरालाई व्यवहारमा रूपान्तरण गरेको बताए।

टनेल हाउस खेती गर्न रामशरणले ३५ हजार रूपैयाँ खर्च गरेर प्लास्टिक किनेका थिए। उनीहरूले आफ्नै बाँसको प्रयोग गरेर टनेल तयार पारेका हुन्। पछि जालीका लागि पनि केही रकम खर्च भयो।

यसरी तयार पारिएको टनेलमार्फत बिगतमा बाबुआमाले धेरै गरामा परिश्रम गरेर उब्जाउने गरेको भन्दा बढी गोलभेडा एउटै गरोमा उत्पादन भएपछि भट्टराई परिवार हौसिएको छ। उनीहरूले गरेको प्रगती देखेर स्थानीयबासी पनि दंग छन्।

परीक्षणकोक्रममा राम्रो उत्पादन भएपछि अरू सबै काम छाडेर तरकारी खेतीमै केन्द्रित हुन लागेको रामशरणले बताए।

छोराहरूले गरेको नयाँ प्रयोग सफल भएको देख्दा पूर्णप्रसाद र निर्मला उत्साहित छन्।

‘पहिले खुल्ला ठाउँमा खेती गर्दा कहिले असिनाले कहिले रोग, किराले बिगार्ने गरेको थियो। वर्षभरी मेहनत गर्दा डेढ–दुई लाख रूपैयाँ आम्दानी गर्न पनि गाह्रो थियो,’ पुर्णप्रसाद भन्छन्, ‘यसपाली टनेलभित्र गर्दा एक खेतीमै ३ लाख बढी आम्दानी होला जस्तो छ।’

उनले टनेलभित्र खेती गर्दा रोग र किराको प्रकोप नदेखिएको बताए। ‘किराले हैरान पारेर औषधि किन्नुपथ्र्यो। त्यो खर्च बच्यो। टनेलभित्र खेती गर्दा सुरूमा केही खर्च लाग्दो रहेछ त्यसपछि अरू धेरै टन्टा नहुने रहेछ,’ उनले भने।

अहिले दैनिक दुई क्विन्टल बढी गोलभेडा टिपेर बेच्ने गरेको रामशरणले बताए। भरतपुरमा अहिले गोलभेडाको मूल्य प्रतिकिलो ८० रूपैयाँ छ। उनले प्रतिकिलो ४५ रूपैयाँमा थोक मूल्यमा बिक्री गरिरहेका छन्। उनीहरूले भदौको सुरूदेखि टनेलभित्र फलेको गोलभेडा बेच्न थालेका हुन्। त्यतिखेर प्रतिकिलो ५५ रूपैयाँसम्ममा बिक्री भएको थियो। गोलभेडा सकिएपछि भक्तपुरे लोकल काँक्रो लगाउने तयारीमा रामशरण छन्।

प्लस टुसम्म पढेका रामशरण कुरिनटारस्थित साना किसान सहकारी संस्थामा पनि काम गर्छन्। विहान, बेलुका र बिदाको बेलामा तरकारी खेतीमा खट्छन्।

सरोज प्लस टु पढेपछि कामको सिलसिलामा भारत पुगेका थिए। केही समयपछि भरतपुरको विशाल चोकमा ग्रिल उद्योगमा लगानी गरेर त्यहीँ काम गर्दै थिए। इसराइल रहेका जेठा दाइ र गाउँमै रहेका माइला दाइले तरकारी खेतीमा प्रोत्साहन गरेपछि उनी पनि गाउँ फर्किए।

‘बाबुआमाले फलाएका तरकारी डोकोमा बोकेर कुरिनघाट पुर्‍याउँथ्यौं। त्यही आम्दानीले हामीले पढ्न पायौं। अब हामी दाजुभाई बुबाआमाले सुरू गरेको खेतीलाई अझै व्यवसायिक बनाउन लागेका छौं,’ सरोज भन्छन्, ‘टनेल हाउसभित्र गरिएको खेतीले हामीलाई प्रोत्साहन गरेको छ। आफ्नै गाउँमा यती गर्न सकिन्छ भने विदेश जान किन पर्‍यो र भन्ने सोच पलाएको छ।’

उनीहरूले फलाएको तरकारी गाडीबाट कुरिनटार र फिस्लिङको तरकारी बजारमा पठाउँछन्। त्यहाँबाट काठमाडौं, पोखरा, नारायणघाटलगायतका ठूला बजारहरूमा तरकारी जान्छ।

भट्टराई परिवारले बाख्रा, कुखुरा, टर्की पालन पनि गरेको छ। व्यवस्थित खोरभित्र २६ वटा बाख्रा छन्। लोकल कुखुराको संख्या बढाउँदैछन्। २५ कट्ठा जमिनमा आधाजसोमा घाँस लगाएको रामशरणले बताए। बाँकीमा तरकारी खेती बिस्तार गर्दै लैजाने योजना उनको छ।

‘बुबाआमाले गर्नुभएको सामान्य बाख्रा पालनलाई पनि व्यवस्थित बनाएका छौं। व्यवस्थित खोर बनाएर बाख्रा, लोकल कुखुरा पालेका छौं। बजारबाट यीनको माग धेरै छ। मल खेतीमा काम लाग्छ,’ रामशरण भन्छन्, ‘परिवारका सबै मिलेर काम गरेका छौं। राम्रो भइरहेको छ।’

यस वर्ष सबै खर्च कटाएर दश लाख रूपैयाँ भन्दा बढी बचत गर्ने लक्ष्य राखेको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024