दसैँमा घर फर्किँदै परदेशी

9 Oct, 2024

दसैँ मनाएर फेरि भारत फर्कने योजना

राेजगारीको सिलसिलामा भारतमा रहेका नेपाली दसैँ मनाउन स्वदेश फर्किन थालेका छन् । असोज पहिलो सातादेखि स्वदेश फर्किन सुरु भएकोमा घटस्थापनायता संख्या झन् धेरै बढेको छ । भारतसँग जोडिएका पश्चिमी नाका रूपन्देहीको बेलहिया, बाँकेको नेपालगन्ज, टीकापुरको खक्रौला, धनगढीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाली स्वदेश फर्किरहेका छन् । नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार घटस्थापनायता राति १२–१ बजेसम्मै स्वदेश फर्कनेको भिड हुने गर्छ ।

दसैँको टीकाको अघिल्लो दिनसम्म भारतबाट नेपाली आउने गर्छन् । यसपटक २६ असोजमा टीका छ । यकिन तथ्यांक नभए पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी जिल्लाबाट भारतमा रोजगारीका लागि जानेको संख्या ठुलो छ । नेपालगन्ज नाका भएर मात्र दैनिक कम्तीमा तीन हजारको हाराहारीमा नेपाली स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । ‘नेपालगन्ज नाका भएर एकै दिन ६ हजार ९०३ जना नेपाल प्रवेश गरेका छन् । यसमा आधा संख्या कामका लागि भारत पुगेका नेपाली हुन्,’ उनले भने ।

दसैँ लागेसँगै रूपन्देहीको बेलहियामा भिड बढेको छ । भारत तथा तेस्रो मुलुकबाट स्वदेश आउने नेपालीको संख्या बढेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले बताए । नेपाल–भारत सीमानाका बेलहियामा अहिले वाकथ्रु मेसिन जडान गरिएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रूपन्देहीका एसपी आनन्द थापाले सीमावर्ती बजारमा किनमेल गर्न जाने पनि बढेकाले भारतमा रोजगारी गरेर फर्किएकाको यकिन संख्या नरहेको बताए । सीमानाकामा चेकजाँच कडाइ गरिएको छ । उनका अनुसार सीमानाकामा अहिले एक हप्तामा एक लाखसम्मले ओहोरदोहोर गरेका छन् ।कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल फर्कने संख्या ह्वात्तै बढेको छ । गत असारमा रोपाइँ सकेर भारतको सिम्लामा स्याउ टिप्न पुगेका कञ्चनपुर कृष्णपुर नगरपालिका– ७ कलुवापुरका सहदेव राना दसैँ मनाउन घर फर्किएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले दसैँसँगै घर फर्कने नेपालीको संख्या बढेकाले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।

दसैँ–तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपालगन्ज नाकामा प्रहरीले सचेतना अभियान थालेको छ । ‘रिक्सा, इ–रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट ठगिने र लुटिने सम्भावनालाई मध्यनजर गरी सचेतना अभियानसमेत चलाएका छौँ,’ प्रहरी निरीक्षक बुढाथोकीले भने ।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीले धनगढीको त्रिनगर नाकामा पनि सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले नाकामा आवागमन सहज बनाउन भारतीय अधिकारीसँग निरन्तर समन्वय भइरहेको बताए ।

उनले आवागमन सहज बनाउन सहायता कक्षसँगै गणबाट छुट्टै टोलीसमेत परिचालन गरिएको जानकारी दिए । ‘केही दिनअघिसम्म सीमामा भारतीय भन्सार र वनका कर्मचारीले स्वदेश फर्कने नेपालीसँग पैसा असुल्ने गरेको गुनासो थियो,’ पाण्डेयले भने, ‘उनीहरूसँग कुरा गरेपछि अहिले पैसा असुल्ने कार्य रोकिएको छ ।’ पैसा असुल्ने कार्य रोक्न आफैँ गएर भन्सार कर्मचारीसँग कुरा गर्नुका साथै काउन्टरपार्ट मिटिङमा पनि यो विषय उठाएको उनले बताए ।

गड्डाचौकी नाका भएर फर्कने नेपालीसँग भारतीय सवारीसाधनले बढी भाडा असुल्ने गरेका छन् । बनबासा बजारदेखि सीमावर्ती गड्डाचौकीसम्मको ट्याक्सीको भाडादर नेपाली ८० रुपैयाँ छ । तर, दुई सय रुपैयाँसम्म भाडा असुल भइरहेको छ ।

भारतबाट फर्किएका बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ का नृप खनालले ट्याक्सीवालाले बिचबाटोमा चेकजाँच झन्झटमुक्त गराउने भन्दै थप ५० रुपैयाँ लिएको बताए । ‘राति पुल बन्द हुन्छ, समयमै पारि नेपाल पुग्नुपर्छ त्यही भएर थप पैसा दियौँ,’ उनले भने ।

सिमलामा स्याउ टिपेर दसैँ मनाउन घर फर्किएका कञ्चनपुर कृष्णपुर नगरपालिका– ७ कलुवापुरका सहदेव रानाले बनबासा बजारदेखि गड्डाचौकीसम्म ५० रुपैयाँ भाडा रहे पनि दुई सय तिर्नुपरेको बताए । ‘स्याउसहितको सामान थियो, पैदल ल्याउँदा समस्या हुने भएकाले भारतीय गाडीवालाले बिचबाटोमा भारतीय भन्सार, एसएसबीलाई मिलाउँछु भन्दै अतिरिक्त भाडा लिए,’ उनले भने ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भारतीय भूमिसहित सीमावर्ती क्षेत्र नेपालमै पनि मजदुरबाट बढी भाडा असुल्नेमाथि कारबाहीका लागि सशस्त्र प्रहरी र प्रहरीलाई निर्देशन दिएको बताए । भारतको बेंग्लोरबाट दुई दिनको यात्रापछि सोमबार बिहान त्रिनगर नाका आइपुगेका बाजुराको पाण्डुसैनका रमेश रोकाया घर जाने हतारमा थिए । रोजगारीको सिलसिलामा एक वर्षदेखि बेंग्लोरमा रहेका उनी परिवारसँग दसैँ मनाउन घर फर्किएका हुन् । ‘चाडपर्व घरपरिवारसँगै मनाउन घर फर्किँदै छौँ,’ रोकायाले भने, ‘गुजाराका लागि अर्काको देशमा सधैँभरि काम गर्नु त छँदै छ ।’

रोकायादम्पती बेंग्लोरमा घरमा सरसफाइको काम गर्छन् । श्रीमती र बेंग्लोरका विभिन्न ठाउँमा काम गर्ने गाउँकै अन्य १० जना दसैँ मनाउन भनेर सँगै आएको उनले बताए । तिहार मनाएपछि पुनः काममा फर्कने उनको योजना छ । रोकाया आठ वर्षदेखि भारतको रोजगारीमा छन् । डोटीको बोगटान–फुड्सिल गाउँपालिका– ४, सात्फरीका प्रेम साउद पनि भारतको लुधियानाबाट घर फर्किएका छन् ।

बाध्यताले भारतमा रोजगारी, छैन यकिन तथ्यांक

सुदूरपश्चिम र कर्णालीसँगै लुम्बिनीका केही पहाडी जिल्लाका नागरिकको प्रमुख रोजगारीको गन्तव्य भारत हो । सुदूरपश्चिमका दुर्गम बस्तीमा रोजगारीका लागि परिवारका सदस्य भारत नगएको परिवार प्रायः भेटिँदैन । सुदूरपश्चिमबाट भारतीय रोजगारीमा गएकाको संख्याबारे कुनै तथ्यांक छैन । दसैँ–तिहारजस्ता चाडपर्वका वेला नाकामा देखिने स्वदेश फर्कनेको भिडले पनि लाखौँको संख्यामा भारतीय रोजगारीमा रहेको अनुमान गर्न सकिन्छ । चाडपर्व सकिएपछि फर्कनेको यस्तै भिड हुन्छ ।

भारतीय आप्रवासनका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था निड्स नेपालले चार वर्षअघि सुदूरपश्चिमका विभिन्न पालिकाका करिब चार सय घरधुरीमा गरेको सर्भेअनुसार ७० प्रतिशत घरधुरीबाट कोही न कोही मान्छे भारतीय रोजगारीमा गएको पाइएको थियो । सुदूरपश्चिमको करिब २७ लाख जनसंख्यामध्ये करिब साढे तीन लाख भारतीय रोजगारीमा रहेको अनुमान छ ।

कैलालीको चौमालाका राजु भुल प्रायः हरेक वर्ष दसैँका वेला घर आउने र तिहारपछि फर्कने गरेको बताउँछन् । ‘सामान्य काम पनि आफ्नो देशमा पाएको भए परिवार छोडेर मजदुरी गर्न अर्काको देशमा किन जान्थ्यौँ,’ भारतको पञ्जावबाट फर्कँदै गरेका कैलालीको चौमालाका राजु भुल भन्छन्, ‘कमाएर सम्पत्ति जोड्नु त त्यस्तै हो, परिवारको गुजाराका लागि भारतमा मजदुरी गर्नुपर्छ ।’

५० वर्षीय भुलले गरिबीका कारण आफू १५ वर्षको उमेरमै भारतमा काम गर्न गएको बताए । ‘सुरुका सात वर्ष विभिन्न ठाउँमा काम गरेँ, २८ वर्षदेखि एउटै घरमा काम गरिरहेको छु, घरमा श्रीमती र पाँच छोराछोरीको गुजाराको माध्यम त्यही नोकरी हो,’ भुलले भने, ‘खाना बनाउने, सरसफाइ गर्ने काम हो ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024