काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जापानी रोजगारदाताले नेपालबाट संस्थागत हिसाबले दक्ष नेपाली श्रमिक लैजान पाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
‘नेपाल सरकार जापानमा दक्ष कामदार पठाउन तयार छ । यसका लागि आवश्यक कानुनी प्रावधानहरू तयार भइसकेका छन्,’ जापानमा आयोजित ‘जापान–नेपाल रोजगारी मेला’लाई सम्बोधन गर्दै उनले भने, ‘नेपालबाट हजारौं दक्ष श्रमिक ल्याउन चाहने सबै जापानी एजेन्सी र कम्पनीहरूलाई नेपालले बाधा पुर्याउँदैन ।’
२०७५ चैत ११ गते नेपाल र जापानबीच निर्दिष्ट सीप भएका श्रमिक (स्पेसिफाइड स्किल्ड वर्कर्स– एसएसडब्लू)लाई जापानमा अवसर दिने श्रम समझदारी भएको थियो । तर सरकारी संयन्त्र वा संस्थागत (म्यानपावर) मार्फत पठाउने भन्ने विषयमा टुंगो नलागेपछि संस्थागत रूपमा जापानमा श्रमिक जान पाएको छैन ।
श्रममन्त्री भण्डारीले श्रम समझदारीपत्रलाई कार्यान्वयन गर्न श्रम मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताए । ‘जापानका सबै उद्योग, कम्पनी र एजेन्सीका साथै सबै सरोकारवालालाई नेपाल र नेपालको इमान्दार, परिश्रमी र सक्षम जनशक्तिको अपार सम्भावनाबारे जानकारी दिन चाहन्छु,’ उनले भने, ‘अब छिट्टै नेपालको जनशक्ति जापानको श्रम बजारमा पठाउने काम अगाडि बढ्नेछ ।’Nepal is ready to send skilled workers to Japan: Labor Minister Bhandari
संस्थागत हिसाबले रोजगारीमा जान नपाउँदा व्यक्तिगत हिसाबले जापान जाने क्रम बढ्दो छ । गत आर्थिक वर्षमा मात्रै ९ हजार २ सय ९९ जना गएका थिए । शैक्षिक परामर्शदाताहरूले भाषा पढ्न भन्दै विद्यार्थी भिषामा श्रमिक पठाइरहेका छन् ।
मन्त्री भण्डारीले स्वदेशी तथा अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकता पूरा गर्न सक्ने दक्ष र उत्पादनशील नागरिक उत्पादन गर्न गुणस्तरीय शिक्षाको विकास गर्न नेपाल प्रतिबद्ध रहेको बताए । ‘नेपाल सरकार श्रम बजारको आवश्यकताका रूपमा दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा, तालिम र ज्ञान तयार गर्ने अवसर सिर्जना गर्न प्रतिबद्ध छ । हामी अनुसन्धानमा आधारित सूचना प्रविधिलाई बलियो बनाउन र रोजगारीमैत्री लगानीलाई प्रोत्साहन गर्न पनि कटिबद्ध छौं,’ उनले भने, ‘क्षमता विकास र सरोकारवालाहरूबीच रोजगारीबारे चेतना अभिवृद्धि गरी रोजगारीसम्बन्धी नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं ।’