दक्ष जनशक्ति भए रोजगार सिर्जना हुन्छ : ढकाल

24 Jun, 2022

विष्णुप्रसाद पोखरेल

दमक, असार ९ गते । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताउनुभएको छ । दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमा रोजगार सिर्जना गर्न सकिने भन्दै उहाँले यसतर्फ तीनवटै तहको सरकार र नीजि क्षेत्रले साझेदार गर्नसक्ने बताउनुभयो ।

विहीवार दमक उद्योग बाणिज्य संघको आयोजना र दमक नगरपालिकाको सहयोगमा भएको पहिलो रोजगार मेलाको उदघाटन कार्यक्रममा ढकालले अहिले पनि नेपालमा उत्पादनको क्षेत्रमा काम गर्नसक्ने दक्ष जनशक्ति विदेश जानुपर्ने बाध्यता रहेको भन्दै रोजगारका क्षेत्रहरु पहिचान गरेर अघि बढनु पर्ने बताउनुभयो ।

रोजगारका सम्भावानाहरु प्रशस्त रहेकाछन्, तर यहाँ काम गर्नसक्ने वातावरण सिर्जना भइरहेको छैन, उहाँले भन्नुभयो । पछिल्लो समय भुकम्प, कोरोनालगायतका कारणले अर्थतन्त्रमा ठूलो असर परेको जनाउँदै ढकालले कृषि उत्पादनका कारण श्रीलंकाजस्तो नेपालको अवस्था आउने खतरा नरहेको बताउनुभयो ।

धेरै अप्ठेरामा समेत नेपालको अर्थतन्त्र टिकेकाले अब पनि टिक्छ भन्ने विश्वास छ, उहाँले भन्नुभयो । सबै क्षेत्रले उत्पादन र रोजगारीमुखि कार्यक्रमहरु बनाएर अघि बढ्नु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो । यस किसिमको रोजगार मेला सबैतिर आवश्यक रहेको उहाँको भनाई छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले पहिलो पटक दमकमा यस प्रकारको रोजगार मेला भएको बताउँदै आफुहरुले रोजगार सिर्जना गर्ने र दक्ष जनशक्ति उत्पादनका बिषयमा गम्भिर रुपमा सोचबिचार गर्दैआएको बताउनुभयो । रोजगार मेलालाई सहयोग गर्नु र यसरी आयोजना गर्नु हाम्रो पहिलो खुड्किलो हो, उहाँले भन्नुभयो ।

नगरपालिका उपप्रमुख रेगिना भट्टराईले दमक उद्योग बाणिज्य संघले रमाईलो गर्ने किसिममा मेला आयोजना नगरेर फरक किसिमको मेला लगाउने कार्य गरेको बताउदै यस कार्यक्रमलाई निरन्तर सहयोग रहने बताउनुभयो । यसले यहाँका स्थानीयलाई रोजगार सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा लिएको समेत उहाँको भनाई छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठकाअनुसार रोजगारदाता, रोजगारमूलक सीप सिकाउने प्राविधिक शिक्षालय तथा क्याम्पस, स्वरोजगार बनेका समुहको स्टल रोजगार मेलामा रहेको बताउनुभयो । एकदिने रोजगार मेलामा आफ्नो दक्षता र सीपसहित बेरोजगारले फारम भरेको उहाँको भनाई छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024